चरिकोट, १३ बैशाख
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दोलखाका पत्रकारहरु पनि प्रतिष्पर्धामा उत्रेका छन् । देशैभरीका सात सय ५३ स्थानीय तहहरुमध्ये दोलखामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका लागि पत्रकारहरु प्रतिष्पर्धामा उत्रेका छन् ।
हाम्रो रेडियोका स्टेशन म्यानेजर तथा जिरी एफएमका अध्यक्ष लक्ष्मण खड्काले वैतेश्वर गाउँपालिकाको अध्यक्ष पदका लागि चूनावी मैदानमा उत्रनु भएको छ । नेकपा माओवादी केन्द्रमा आवद्ध खड्काले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको हो । खड्का जिल्लामा लामो समयदेखि क्रियासिल सक्रिय पत्रकारको रुपमा चिनिनु हुन्छ ।
यसै गरी नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका साधारण सदस्य प्रोण प्रताप केसी तामाकोशी गाउँपालिकाको गठबन्धनबाट अध्यक्ष पदका लागि उम्मेदवार बन्नु भएको छ । केसी नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्षको उम्मेदवार बन्नु भएको हो ।
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका साधारण सदस्य तथा कालिञ्चोक एफएमका पूर्वकार्यक्रम प्रमुख गायत्री आचार्य पनि मेलुङ गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको । आचार्य विगत सात बर्ष देखी कालिञ्चोक सामुदायिक एफएममा कार्यरत रहदै आउनु भएको थियो । आचार्य नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नु भएको हो ।
त्यस्तै रेडियो शैलुङमा कार्यरत पत्रकार तारादेवी बस्नेतले शैलुङ गाउँपालिका वडा नं. ८ का वडासदस्य पदमा उम्मेदवारी दिनु भएको । बस्नेत रेडियो शैलुङलगायत विभिन्न अनलाईन पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहदै आउनु भएको छ । बस्नेतलाई पनि नेकपा एमालेले उम्मेदवार बनाएको हो । यसै गरी नेपाल पत्रकार महासंघ दोलखाका साधारण सदस्य शान्त जिरेल बैत्यश्वर गाउँपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदका लागि उम्मेदवार बन्नु भएको छ । जिरेललाई पनि नेकपा एमाले दोलखाले वडा अध्यक्षका लागि उम्मेदवार बनाएको हो । पत्रकारहरुले आफूले जितेमा सञ्चार क्षेत्रको विकासका लागि काम गर्ने बताएका छन् ।
यता आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकारहरुलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न महासंघका महासचिव रोशन पुरीले प्रेस विज्ञप्तीद्धारा आह्वान गर्नु भएको छ ।
महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न र सबै सदस्यहरूलाई निर्वाचन आचारसंहिता २०७८ को प्रतिकूल काम नगर्नसमेत महासंघले आह्वान गरिसकेको छ । महासंघले निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्वद्ध कर्मचारी तथा पत्रकार कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने पनि जनाएको छ ।