चरिकोट, १४ बैशाख
नेकपा एमाले भीमेश्वर नगर कमिटीले आगामी स्थानीय निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले पार्टी कार्यालय चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य आनन्द प्रसाद पोखरेल, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसीले पार्टीको घोषणापत्र सार्वजनिक गर्नु भएको हो ।
एमाले भीमेश्वर नगर कमिटीले सार्वजनिक गरेको घोषणापत्रमा विगतमा गरेका काम र अब चुनाव जितेपछि नगरभित्रमा गर्ने विकासका विषयवस्तु समेटिएका छन् ।
सुखमा एमाले, दुखमा एमाले, नागरिकको घर दैलोमा एमाले मुख्य नारा दिएर बनाएको ९० बुँदे प्रतिवद्धता पत्रमा नागरिकमैत्री प्रक्रियागत कानून तर्जुमा र कार्यान्वयन, गुणस्तरीय र जीवनउपयोगी शिक्षा हाम्रो प्रतिवद्धता, आधारभूत स्वास्थ्य निशुल्क सेवा, खानेपानी तथा ढल निकास, सधैँका लागि सबैका लागि स्वच्छ पानी, फोहोर मैला व्यवस्थापन र सरसफाई, विद्युतीकरण र आधुनिक उर्जा, जलस्रोत तथा सिंचाई पूर्वधार, सडक तथा यातायात, आवास व्यवस्थापन विपदमा परेकालाई निशुल्क आवास, कृषि तथा पशुपन्छी व्यवसायिक कृषि र यन्त्रीकरण, सहकारी क्षेत्रको विकास, भूमि व्यवस्थापन, सहरी विकास तथा बस्ती विकास, पर्यटन पूर्वाधार विकास तथा प्रवद्र्धन, कला संस्कृति तथा पुरातात्विक सम्पदा, युवा तथा खेलकुद क्षेत्रलाई अघि बढाउने उल्लेख छ ।
महिला समानता र सशक्तिकरण, जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका, अशक्त र पछाडि परेका वर्ग तथा समुदायको उत्थान तथा सामाजिक सुरक्षा, गरिबी निवारण तथा रोजगारी सिर्जना, वन तथा वातावरण एवम् विपद् जोखिम व्यवस्थापन, लघु उद्योग एवम् स्थानीय बजार व्यवस्थापन, स्थानीय स्रोत साधन तथा राजस्व परिचालन, नगरसभा सञ्चालन, न्यायिक समिति एवम् मेलमिलाप र मध्यस्थताको व्यवस्थापन, स्थानीय अभिलेख व्यवस्थापन र सूचना प्रणाली, नगरपालिका तथा वडा कार्यालय व्यवस्थापन र सेवा प्रवाह, संस्थागत संरचना, सुशासन र जनशक्ति व्यवस्थापन सम्मानसहितको सेवा, सूचना तथा सञ्चार प्रणाली, भूकम्पपछिको पुननिर्माण तथा पुर्नस्थापना जस्ता नाराहरू अघि सारेको छ ।
सार्वजनिक प्रतिवद्धता पत्रको बुँदा नम्बर ७५ मा रोकौँ विदेश जान, खोलौँ आफ्नै कारखाना अवधारण अनुसार भुलभुलेमा निर्माणधिन औद्योगिक ग्रामलाई सम्पन्न गरी किवी लगायतका उपज प्रशोधन केन्द्र र अन्य उद्योगहरु सञ्चालन गरिने भनिएको छ ।