चरिकोट, १५ बैशाख
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दोलखामा एक हजार ४२३ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लास्थित ९ वटा स्थानीय तहमा नेकपा एमाले, गठबन्धन र स्वतन्त्र उम्मेदवारहरुले बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले उपलव्ध गराएको विवरण अनुसार नगर प्रमुख र गाउँपालिका अध्यक्ष पदका लागि ७७ जनाले उम्मेदवारी दिएका छन् भने उपप्रमुख पदमा ४० जनाले मनोनयन दर्ता गराएका हुन् । ७४ वटा वडाअध्यक्षका लागि ३७७ जनाको उम्मेदवारी परेको छ । सदस्यका लागि ४९०, महिला सदस्यमा २३० र दलित महिला सदस्यमा २०९ जनाको उम्मेदवारी परेको छ ।
गौरीशंकर गाउँपालिकामा सबैभन्दा बढी उम्मेदवारी दिएका छन् । उक्त पालिकामा १८३ जनाको मनोनयन दर्ता भएको छ । यसैगरी भीमेश्वर नगरपालिकामा १७०, विगु गाउँपालिकामा १६७, मेलुङ गाउँपालिकामा १६५, तामाकोसी गाउँपालिकामा १४९, कालिञ्चोक गाउँपालिकामा १४८, जिरी नगरपालिकामा १४४, बैतेश्वर गाउँपालिकामा १५० जना र शैलुङ गाउँपालिकामा जम्मा २०९ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा १० र उपाध्यक्षमा ३ जना, गौरीशंकर गाउँपालिकामा अध्यक्षमा ८ र उपाध्यक्षमा ३, जिरी नगरपालिकामा प्रमुखमा ४ र उपप्रमुखमा ५, तामाकोसी गाउँपालिकामा अध्यक्षमा ६ र उपाध्यक्षमा ४, भीमेश्वर नगरपालिकामा प्रमुखमा ९ र उपप्रमुखमा ६, मेलुङ गाउँपालिकामा अध्यक्षमा ११ र उपाध्यक्षमा ६, विगु गाउँपालिकामा अध्यक्षमा १२ र उपाध्यक्षमा ३, वैतेश्वर गाउँपालिकामा अध्यक्षमा ९ जना र उपाध्यक्षमा ५ र शैलुङ गाउँपालिकामा अध्यक्षमा ८ र उपाध्यक्षमाा ५ जनाले मनोनयन दर्ता गराएका छन् ।