चरिकोट, २३ बैशाख
स्वच्छ, हरियाली, लेकाली मौसम । अनि सिधै आइपुग्छ गौरीशंकरबाट चिसो हावाको झोक्का, चराचुरुङ्गीको धुनले वातावरण बनाउछ संगीतमय । सिजन अनुसारका लालीगुराँसहरु प्रशस्त फुलेका त्यसमाथि एकै स्थानमा ४४ थरिका सुनखरी (अर्किड) भेटिन्छ । अनुभव चाही तराईबाट हिमाल चढेझैं लाग्ने । यो कुनै काल्पनिक कथा होइन । दोलखाको भीमेश्वर नगरपालिका वडा नं. १ स्थित राङराङथलीदेखि भ्यूटावरसम्मको यात्रा गर्नु भयो भने तपाईले माथि भने जस्तै अनुभवको मज्जा लिन सक्नु हुने छ ।
आन्तरिक पर्यटनलाई रोजाईको थलो बनाउने उद्धेश्यका साथ भीमेश्वर नगरपालिकाले फुटट्रेल (पदमार्ग) निर्माण गरेपछि अहिले राङराङथलीदेखि भ्यूटावरसम्म पैदलयात्रा सहज मात्र बनेको छैन, धेरैको रोजाईको केन्द्र पनि बनेको छ । अमेरिकी सहयोग निकाय यूएसएआईडीको तयार नेपाल–विपद जोखिम व्यवस्थापन परियोजनाको सहयोगमा भीमेश्वर नगरपालिकाले पदमार्ग निर्माण गरिदिए पछि अहिले बिहान बिहानै मर्निङवाक गर्ने र छोटो हाईकिङमा रमाउनेहरुको लागि आकर्षक गन्तव्य बनेको छ ।
यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने उद्धेश्यले पैदलमार्ग सहित विभिन्न ठाउँमा विश्रामस्थल र शौचालय समेत निर्माण भएपछि अहिले राङराङथलीदेखि भ्यूटावरसम्म घुम्न जाने, फोटो खिच्ने तथा टिकटक बनाउनेहरुको भीड समेत बढेको छ । तयार नेपाल परियोजना र भीमेश्वर नगरपालिका समेतको गरी ८६ लाख ६९ हजार नौं सय २५ रुपैयाँको लागतमा निर्माण गरिएको पदमार्गले सुस्पाक्षमतीबाट पैदल हिडेर सदरमुकाम चरिकोटसम्म आउनेहरुको पनि बाटो सजिलो र छोट्याएको छ ।
यो पदमार्ग अन्य क्षेत्रको भन्दा फरक भएको र हावापानीले नै मर्निङ वाकमा आउनेहरुको मन तान्ने गरेको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउत बताउनु हुन्छ । चराचुरुङ्गीहरुको धुन, विभिन्न जातका वनस्पति, मौसमअनुसार फुल्ने फूलहरुलेनै मर्निङवाक र इभिनिङ वाकको लागि उपयुक्त स्थान भएको राउतको अनुभव छ । स्रोतको अभावले गर्दा सुरुमा भीमेश्वर नगरपालिकाले एक किलोमिटर पदमार्ग निर्माण गरेको थियो । “आर्थिक लगायतको समस्याले पूर्णता पाउन नसकीरहेको क्रममा तयार नेपालले हामीसँग सहकार्य गर्न तयार भयो ।” राउतले भन्नु भयो । दुई किलोमिटर पैदलमार्ग, पिकनिक पार्क र विश्रामस्थल तयार नेपालले नगरपालिकाकै इस्टामेटमा तयार गरिदिएपछि अहिले तीन किलोमिटर पैदलमार्ग निर्माण कार्र्य सम्पन्न भएको छ ।
पदमार्ग आन्तरिक पर्यटन प्रवद्र्धनको लागि निर्माण गरिएको भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत बताउनु हुन्छ । “यस पदमार्गलाई भीमेश्वर नगरपालिकाको मात्र नभई सिंगो दोलखाकै उत्कृष्ट र नमूना पदमार्गको रुपमा लिन सकिन्छ ।” बस्नेतले भन्नु भयो । यो पदमार्ग, पदमार्ग मात्र नभई वातावरणमैत्री र सुन्दर शान्त समेत रहेको बताउनु हुँदै उपप्रमुख बस्नेत दोलखा आएका जोकोही पनि एक पटक पुग्नका लागि समेत उहाँ आग्रह गर्नु हुन्छ । उपप्रमुख बस्नेतले भने जस्तै यस क्षेत्रमा एक पटक पुगेपछि पटक पटक पुगौ पुगौ झैं लाग्छ । यस पदमार्गले गर्दा आन्तरिक पर्यटकको बसाई एक दिन लम्बिन सक्छ किन कि दोलखा भीमेश्वर नजिकैको चम्पूजापार्क, मञ्जुश्रीपार्कहुँदै पर्यटकहरु हाईकिङको रुपमा यो पदमार्ग प्रयोग गर्न थालेका छन् । हाइकिङकै रुपमा प्रयोगमा ल्याउनको लागि पनि पदमार्ग निर्माणलाई प्राथमिकता दिएको नगरपालिकाकी उपप्रमुख बस्नेतको भनाई छ ।
अहिले दोलखाका स्थानीय मात्र होइन, बाहिरबाट दोलखा घुम्न आउनेहरुको रोजाईमा पदमार्ग पर्न थाले पछि त्यस वरपरका थामीहरु होटस्टे सञ्चालनमा जुटको छन् । घुम्न आउनेहरुका लागि थामी जातिको परिकारको स्वाद चखाउने र जसबाट आम्दानीबाट जिविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा स्थानीयले राखेका छन् । होमस्टे र पदमार्ग आसपासका चिया पसल र रेष्टुरेन्ट सञ्चालनका लागि आवश्यक सहयोग गर्ने भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत बताउँनु हुन्छ । भूकम्पपछि आफ्नो आम्दानी गुमाएका थामी समुदायलाई केही हदसम्म भएपनि राहत होस् र आम्दानी पनि बढोस् भन्ने हिसाबले पदमार्ग निर्माण गरिएको उपप्रमुख बस्नेतले बताउँनु भयो ।
तीन किलोमिटर लामो पदमार्ग सुष्पा सामुदायिक वन र गुम्फामहभीर लिटे सामुदायिक वन क्षेत्र अन्तरगत पर्दछ । जडिबुटी, वन्यजन्तु, पंक्षीहरुको थलो भएकाले यस सामुदायिक वन आफै महत्वपूर्ण क्षेत्र भएको र त्यसमा पनि नगरपालिकाले फुटट्रेल निर्माण गरिदिए पछि त पर्यटन विकासमा समेत सहयोग पुगेको गुम्फामहभिर लिटे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केशरबहादुर थामी बताउनु हुन्छ । थामीका अनुसार पहिला पहिला यही बाटो भएर सदरमुकाम चरिकोट आवतजावत गर्नु पथ्र्यो । अहिले यातायातको सुविधा भएकाले मात्र यस मार्गको प्रयोग बन्द भएको सामुदायिक वन समुहका अध्यक्ष थामीले जानकारी दिनु भयो । “सुष्पाक्षमावतीका अधिकांश बासिन्दाहरु यही बाटो भएर चरिकोटमा किनमेल गर्न जानुपथ्र्यो । अहिले यातायात सुविधा भएपछि पदमार्ग प्रयोगमा कमी आयो । ” थामीले भन्नु भयो ।
दोलखा बजारका स्थायी बासिन्दा टिका जोशी यस पदमार्गमा नियमित जसो मर्निङवाक र इभिनिङवार्क गर्न भ्याउनु हुन्छ । भीमेश्वर नगरपालिकाको धेरै ठाउँ घुमेर भ्याईसक्नु भएका जोशी आफूलाई यहाँ मर्निङवाक गर्दा दैनिकजसो नयाँ ठाउँमा पुगेको भान हुने गरेको बताउनु हुन्छ । “सबैतिर प्रष्ट देखिन्छ । रोल्वालिङ हिमश्रृङ्खलादेखि तामाकोशी बगेको आँखै अगाडि लाग्छ । बेलाबेलामा चराचुरुङ्गीको धुनले मन शान्त बनाउछ ।” जोशीको अनुभव छ । ठाउँ ठाउँमा सेल्फी खिच्न पाइनुको साथै मौसमअनुसार फरक फरक अनुभूतिहरु लिन सकिने जोशीले बताउनु भयो । “मर्निङ वाकको बानी परेकालाई यस ठाउँले नियमित तान्छ जस्तो लाग्छ ।” जोशीको विश्वास छ ।
राङराङथलीदेखि नजिकै देउराली बजार रहेकाले भोक लागेमा खाजा, खाना पनि यतै पाइने भएकोले पर्यटकका लागि सहज छ भने सदरमुकाम चरिकोट पनि नजिकै पर्छ । जोशी जस्तै स्थानीय शिव खड्का पनि नियमित रुपमा यस पदमार्गमा यात्रा गर्नु हुन्छ । “म त नियमित जाने गर्छु । अन्य ठाउँको भन्दा सय गुणा राम्रो छ । बिहान बेलुकी जहिले गएपनि आनन्द आउछ । यही ठाउँमा बसौ बसौ लाग्छ ।” खड्काले भन्नु भयो । फराकिलो भएकाले हिड्न पनि सजिलो । थकाई मार्न सहज भएकोले आफुलाई यस ठाउँ भर्जिन लाग्ने गरेको खड्काले बताउनु भयो ।
पहिला पहिला सानो बाटो भएकोले हिड्न धेरै गाह्रो भएको र अहिले दुई मिटरको ढुंगा ओछयाएको बाटो भएकाले हिड्न साह्रै राम्रो भएको भीमेश्वर नगरपालिका वडा नम्बर १ वडाअध्यक्ष वीरबहादर थामी बताउनु हुन्छ । साबिकको सुष्पाक्षमावतीका ३ वटा वडाका मान्छेहरुको आवतजावत गर्ने मुख्य बाटोनै यही हो । चरिकोटमा किनमेल गर्न यही बाटो भएर जानुपथ्र्यो । यातायात नचल्दा यही बाटो छोटो र सजिलो थियो । अहिले पनि पदमार्ग निर्माण भएपछि स्थानीयलाई वनमा घाँस दाउरा गर्नका लागि सहज भएको छ । अर्को तर्फ वनमा आगोलागी भईहाल्यो भने यो पदमार्गले नियन्त्रण गर्न सहज बनाउछ । पदमार्गले पुरै जंगलभरी आगो लाग्नबाट जोगाउने भएकोले पदमार्ग निर्माणले विपद् जोखिम घटाउन पनि मद्धत गरेको वडाअध्यक्ष थामीको भनाई छ ।
अहिले यहाँका मान्छेहरु भ्यूटावर हेर्न र घुम्न यही बाटोको प्रयोग हुन्छ । घाँस, दाउरा काट्न जाँदा पनि यही बाटो प्रयोग गर्छन यहाँका स्थानीयबासीहरु । मर्निङ, इभिनिङ वाकमा आउनेहरुका लागि यहाँ मृग, कालिज, घोरल आदि देख्न पाईन्छ । साथै चिराईतो, सतुवा, पाँचऔले, जडिबुटीहरु पनि प्रशस्तै पाईने भएकाले यसबारे अध्ययन अनुसन्धान गर्न आउनेहरु पनि छन् । उनीहरुका लागि पनि पदमार्गले सहयोग पुगेको छ । “कहिलेकाही भालु हिड्ने गर्नाले अलि असहज हुन्छ कि भन्ने मात्र हो । नत्र यो पदमार्ग अन्य वनयजन्तुबाट सुरक्षित छ ।” वडाअध्यक्ष थामीले भन्नु भयो । पदमार्ग निर्माण कार्य २०२१ मे ३१ देखि सुरु भई भर्खर मात्र सम्पन्न भएको हो । गुम्फाआपोक र डोङडोङआपोक गुफाहरु यसै फुटट्रेलभित्र पर्दछ । जसले गर्दा पर्यटकहरुलाई थप आकर्षणको थलो बन्न सक्छ ।