चरिकोट, २७ बैशाख
आफु निर्वाचित भएको खण्डमा मेलुङ गाउँपालिकालाई नागरिक समाज र आम सञ्चारमैत्री पालिक बनाउने उपाध्यक्ष पदका उम्मेदवार बन्नु भएकी गायत्री आचार्यले प्रतिवद्धता जनाउनु भएको छ ।
नागरिक समाज संस्था र आम सञ्चार माध्यममा कार्यरत रहदै गर्दा राजनीतिक यात्रा तय गर्दै दोलखाका मेलुङ गाउँपलिकाको उपाध्यक्ष पदका लागि उम्मेदवार बन्नु भएकी आचार्यले आफुले बिगतमा काम गरेको अनुभवनको आधारमा गाउँपालिकालई नागरिक मसाज र मिडिया मैत्री बनाउने प्रतिवद्धता जनाउनु भएको हो । मंगलबार बिहान ई दैनिक खबरसँग कुराकानी गर्दै आचार्यले नागरिक समाज र सञ्चार माध्यमलाई विकासको सारथि बनाउने योजना रहेको बताउनु भएको छ । पत्रकारिता क्षेत्रमा लामो अनुभव रहेकी आचार्यले जिल्लाका आम सञ्चार माध्यमको संस्थागत विकासका लागि काम प्रतिवद्धता जनाउनु भयो ।
स्थानीय सरकारले गरेका कार्य आम नागरिक सम्म पुर्याउन र सुशासनको प्रत्याभूत दिलाउन प्रत्येक कामलाई सञ्चारसंग जोड्ने योजना छ । नागरिक समाज संस्थाहरुलाई साथमा लिएर समग्र मेलुङको विकासका लागि काम गर्ने योजना रहेको आचार्यले बताउनु भयो । आफुले झुटा आश्वासन भन्दा पनि आवश्यकता र सुझावका आधारमा विकास कार्यको थालनी गर्न सरोकारवालासंग बसेर विकासलाई प्राथमिकीकरण गरी अबको पाँच वर्षमा खुसी नागरिक बनाउने प्रतिवद्धता आचार्यले गर्नु भएको छ । आगामी दिनमा प्रत्येक टोलमा पुगेर जनताको मर्म र भावना बुभने र न्याय निरुपणमा प्राथमिकता दिने वहाँले दावी गर्नुभयो । शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा गाउँपालिकाले गुणस्तर विकास गर्ने पनि उल्लेख गर्नु भयो । आचार्य नेकपा एमालेको तर्फबाट मेलुङ गाउँपालिका उपाध्यक्षका लागि प्रत्यासी हुनु हुन्छ ।
रामेछापको वेताली गाविस ( हालको गोकुलगंगा ४) मा जन्मनु भएकी गायत्री आचार्यले सानै उमेरदेखि नेकपा एमाले अन्तरर्गतको अनेरास्ववियू प्रारम्भिक कमिटिमा रहेर राजनीतिक यात्रको शुरुवात गर्नु भएको हो । रामेछाप वेतालीमा रहेको जनजागृति माध्यमिक विद्यालय बेतालीमा कक्षा ७ मा अध्ययन गर्दै गर्दा प्रारम्भिक कमिटिको सचिव पदको जिम्मेवारी पाउनु भएको थियो ।
वि.स. २०५१ सालमा दोलखाको पवटी निवासी कृष्णप्रसाद आचार्यसँग विवाह वन्धनमा वाँधिनु भएकी आचार्यले विवाह पछि पनि राजनीतिक यात्रालाई निरन्तरता दिँदै वि.सं २०५२ सालमा अखिल नेपाल महिला संघ जिल्ला कमिटिको सदस्य भएर काम गर्नुभयो । यसपछि निरन्तर अनेमसंघमा रहेर भूमिका निर्वाह गर्नु भएकी आचार्यले वि.स. २०६७ सालदेखि नेकपा एमालेको जनवर्गीय संगठन जनसाँस्कृतिक मञ्चको सदस्य हुदै कोषाध्यक्षको भूमिका निर्वाह गर्नु भयो । यसै गरी प्रेस चौतारी नेपाल दोलखा शाखाको उपाध्यक्षको भूमिकामा रहेर समेत निक्कै नमुना काम गर्न सफल हुनुभयो ।
राजनीतिमा एकपछि अर्को खुड्किलो उक्लदै वि.सं २०७० बाट निरन्तर जिल्ला कमिटि सदस्यमा रहेर पार्टी र संगठन विस्तारमा उल्लेखनीय योगदान दिनुभएकै कारण वि.सं २०७८ मा भएको नेकपा एमालेको १० औ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा अत्यधिक बहुमतका साथ जिल्ला कमिटिमा निर्वाचित हुनु भएको छ ।
वि.सं २०७६ सालबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएकी आचार्यले पत्रकारिताको क्षेत्रमा पनि अनुभव बटुल्नु भएको छ । वि.स. २०७० सालबाट दोलखाको पहिलो सामुदायिक कालिञ्चोक सामुदायिक एफ.एम प्रवेश गर्नु भएको थियो । आचार्यले तत्कालीन समयमा कालिञ्चोक सामुदायिक एफएमले वीवीसी मिडिया एक्सनसँगको सहकार्यमा उत्पादन गर्ने चर्चाीत कार्यक्रम नागरिक बहसको उत्पादन टिममा रहेर काम गर्नु भएको थियो । पछि
कार्यक्रम प्रमुखको भूमिकामा रहेर काम गर्दै गर्दा राजनीतिक ब्यस्तताका कारण जिम्मेवारीबाट पछि हट्नु भएको थियो । वि.स. २०५२ सालमा सामुदायिक वन उपभोक्ता महासंघमा कर्मचारीको रुपमा प्रवेश वहाँले करिब १२ वर्ष कर्मचारीको अनुभव पछि वि.स. २०६५ सालदेखि महासंघमा जिल्ला कार्यसमितिको सदस्य भएर काम गर्नु भयो । विगत २ वर्षदेखि सामुदायिक वन उपभोक्ता महासंघ दोलखाको महासचिवको भुमिका समेत निर्वाह गरिरहनु भएको छ । हाल वहाँ दोलखामा विपद् जोखिम व्यवस्थापनका क्षेत्रका काम गर्ने नागरिक समाज संस्थाको जिल्ला स्तरिय जलवायु तथा विपद् जोखिम व्यवस्थापन सञ्जालको संयोजकको रुपमा कार्यरत रहदै आउनु भएको छ ।