बैशाखको पहिलो हप्ता इदैनिक खबरका सम्पादक शेर बहादुरजी र म ट्याक्सीमा थियौ काठमाडौ । संयोगले ट्याक्सी चालक मेलुङबासी परेछन् । यात्राको क्रममा चुनावको चर्चा चल्यो । कुरा चल्दै गर्दा ती चालकले यदि मेलुङमा हिरा थोकरले टिकट पायो भने भोट हाल्न जाने हो नत्र खर्च गरेर किन जानु अरुको लागि भने । अरु नेताको त विश्वासनै लाग्दैन । दोलखामा मात्र होइन । काठमाडौमा रहेका दोलखालीहरु समेत हिरा थोकरका प्रशंसक छन् ।
बैशाख ३० गतेको निर्वाचनले हिरा थोकरलाई साच्चै हिरामा परिणत गरि दियो । नेता कार्यकतामाझ मात्र नभई सबैका प्रिय बन्न हिरा मेलुङबासीका लागि तन, मनमा बस्न सफल भए । उनलाई प्रतिपक्षले समेत उत्तिकै सम्मान र विश्वास गर्छन ।
हिरा थोकर २०७४ सालको स्थानीय तहको पहिलो निर्वाचनमा पनि पालिका अध्यक्षको दाबीदार थिए । त्यत्तिखेर पार्टीले उनलाई नपत्याएकै कारण वडा अध्यक्षमा खुम्चिनु पर्यो । त्यत्तिबेला उनी जिल्ला कमिटीका सचिवालय सदस्य मात्र थिए । स्थानीय नेता, कार्यकर्ताले हिरा, हिरा भनेर माग गरिरहेका थिए । पछि उनकै पनि असन्तुष्टिको बाबजुत वडामा भोट माग्नै नगई वडाअध्यक्षमा जितेका थिए । त्यो बेला पनि उनेल प्रतिपक्षको भन्दा दोब्बर मतान्तरले जितेका थिए ।
गत वर्ष नेकपा एमाले दोलखाका अधिवेशनमा कुनै प्यानलले नसमेट्दा पनि जिल्ला कमिटी दोलखाको सचिवमा निर्वाचित भएका थिए । त्यत्तिबेला पनि उनले न गुटको राजनीति गरे, न उपगुटकै । त्यसअघि भने उनले महाधिवेशन प्रतिनिधिमा थोरै मतले हार बेहोर्नु पर्यो । त्यतिबेला पनि उनले गुटबिनाको उम्मेदवार बनेका थिए । उनी गुटमा विश्वास गर्दैनन् । कुनै पनि अवसर, पद र माथिल्लो तहमा पुग्नको लागि गुट, चाकरी, धन चाहिन्छ ।
उनीसँग यी कुनै चीज छैन तर पनि कार्यकर्तामाझ लोकप्रिय छन् । अहिलेसम्म उनलाई कार्यकर्तालेनै पालेका छन् । कुनै व्यापार, व्यवसाय र आयआर्जनको पाटो छैन । दिनरात जनताकै काम गरेबापत उनको हातमुख जोर्ने काम भईरहेको छ । उनी वडाअध्यक्ष हुँदा सदरमुकाम चरिकोटमा कार्यालय राखेर बस्दासमेत कसैले विरोध गर्ने आँट गरेनन् । वडा र पालिकामा महत्वपूर्ण काम हुँदा मात्र जाने गर्थे उनी । चरिकोटमै रहेर जनताको काम गर्थे उनी ।
जिल्ला प्रशासन, मालपोत, कृषि, वन कार्यालयमा उनकै विश्वासमा कर्मचारी काम गरिदिन्छन् । जनताले पनि छिटो छरितो र बिना झन्झटिलो तरिकाले काम चाहिरहेको हुन्छ । जनताको काममा उनले कहिल्यै बहाना बनाउदैनन । कर्मचारीहरुसँगको राम्रो व्यवहारकै कारण उनले भनेका हरेक काम समयमै गरिदिन्छन् । पाँच वर्षे वडाअध्यक्षको कार्यकालमा उनले कुनै किसिमका बाधा, व्यवधान सहनु परेन । सहज तरिकालेनै कार्यकाल बिताएका थिए । पालिकासँग सम्बन्धित हरेक बाधालाई उनले नै फेस गर्नुपर्ने बाध्यता थियो ।
हरेक चुनौतीलाई उनले सामना गर्नुपर्ने अवस्था पनि थियो । उनले बोलेपछि सेवाग्राहीलगायत प्रतिपक्ष पनि मौननै हुन्थे । उनको बोली मीठो छैन । तरपनि कार्यकर्ता, आफन्तजन, सेवाग्राहीले त्यही बोलीलाई मिठास मान्छन् । उनको बोलीमा शक्ति ठान्छन् जोकोही पनि ।
दोलखाका ९ वटा स्थानीय तहहरुमध्ये सहज तरिकाले जितेका उनी मात्र हुन् । अरु उम्मेदवारहरु पालिकामा चुनावी मैदानमा हुँदा उनी चरिकोटको क्याफेमा कफिको चुस्कीमा मस्त देखिन्थे । उनलाईभन्दा अरुलाई चिन्ता हुन्थ्यो । अब गाउँपालिकाको अध्यक्ष बनेपछि उनको काँधमा धेरै जिम्मेवारी थपिएको छ । उनले अहिलेसम्म कमाएको हिरा दाई, मान, सम्मान, प्रतिष्ठालाई जोगाउनुनै ठूलो कुरा हो । उनले चुनावताका प्रतिवद्धताहरु पूरा गर्नु नगर्नु आफ्नो ठाउँमा हो तर जनताको मायालाई कत्तिको जोगाई राख्न सक्छन् त्यो नै उनको पहिलो चुनौती हो ।
पार्टीको आगामी अधिवेशनमा पार्टी अध्यक्षको चर्चा चलिसकेको छ । पाँच वर्षे कार्यकाललाई सहज तरिकाले बिताउन सकेमा मात्र उनको सफलता मान्न सकिन्छ । हिजोको नेतृत्वले गाउँपालिकाको केन्द्र तोक्न सकेको छैन । उनको नेतृत्वले पालिकाको भवन निर्माण समेत गर्नु पर्नेछ । छिमेकी पालिका प्रदेश, संघमा समेत उत्कृष्ट बनेको छ ।
उनकै कार्यकालमा उत्कृष्ट बनाउनु पर्नेछ । यही पालिका कृषिको उर्वरभूमि मानिन्छ, आलु, काउली, धान बढी उत्पादन हुने पालिकामध्येमा पर्दछ । तसर्थ कृषिलाई प्राथमिकीकरण गरेर सयौ युवाहरुलाई रोजगारीको साथै कृषिजन्य वस्तु निर्यात गर्न सकेमा पनि उनको सफलता मान्न सकिन्छ ।
उनकै पालिकामा एमाले, काँग्रेस, माओवादी, समाजवादीका जिम्मेवार नेताहरु छन् । उनको जितमा पक्ष, प्रतिपक्ष सबै खुशी छन् । प्रतिपक्षले समेत खुशी हुँदै उनलाई अंकमाल गर्दै बधाई दिएका छन् ।
उको गलामा माला, खादाले जत्ति उचाई थपिएको छ त्यत्तिकै चुनौती पनि थपिएको छ । उनीहरुसँग समन्वकारी भूमिका निर्वाह गर्न त्यत्तिकै चुनौती छ । यी सबै खालका चुनौतीलाई सामाना गर्न सकेमा हिरा हिरानै हुनेछन् ।
सफलताको शुभकामना ।