संघीय संरचनाअनुसार स्थानीय तहको पहिलो निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल समाप्त भएको छ । २०७४ बैशाखमा भएको निर्वाचनपश्चात पाँच वर्षको लागि जनप्रतिनिधि चुनिएका थिए । यही बैशाख ३० गते भएको दोस्रोे निर्वाचन सम्पन्न भएपछि सबै जनप्रतितिनिधिहरुले धन्यवाद दिदैं विदा मागेका छन् । यसै सन्दर्भमा भीमेश्वर नगरपालिका दोलखाका मेयर भरत केसीले पनि आफ्ना फेसबुक वालमा नगरबासीलाई धन्यवाद दिनु भएको छ । भरत केसीका फेसबुक वालबाट जस्ताको तस्तै ।
आदरणीय भीमेश्वर नगरबासी आमाबुवा, दाजुभाई, दिदीबहिनी तथा सम्पूर्ण नगरबासी महानुभावज्यूहरू ।
देश सघीयतामा गएसँगै स्थानीय तहको पहिलो निर्वाचनबाट देशकै चर्चित यस भीमेश्वर नगरपालिकाको नगरप्रमुख पदमा तपाईं नगरबासी बुबाआमा, दाजुभाइ, दिदीबहिनी, साथीहरू, आफन्तजन, सम्पूर्णको माया र आशिर्वादको कारण जनताको घर आँगनको सरकारको नेतृत्वमारही काम गर्ने ठूलो अवसर मिल्यो । मलाई यो अवसर दिने मेरो पार्टी नेकपा एमाले दोलखा जिल्ला कमिटी, भीमेश्वर नगर कमिटीका नेतागण निर्वाचनमा सघाउने सबै नेता, कार्यकर्ता, साथीहरू हाम्रो टिमलाई मतदान गर्नुहुने नगरबासीप्रति आभारी छु । ऋणी छु ।
यो जिम्मेवारी धेरै चुनौतीका बावजुद पनि मेरा लागि ठूलो अवसर थियो । नयाँ अभ्यास, नयाँ अनुभवका साथ थुप्रै नगर गौरवका नयाँ सपना, जोस जाँगर, उत्साह, नयाँ कार्य योजनाहरु लिएर पहिलो कार्यकाल भएकाले सबै कुरा सुरुबाट सुरु गर्नुपर्ने थियो । स्थानीय ऐन कानुन र कार्यविधि, नियमावालीहरु नबनेको अवस्था थियो । केही समय प्रदेश र संघको कारण हामी अलमलिएकै हो । तरपनि हामी जनताको काम गर्न आतुर थियौ, र त स्थानीय आवश्यकता अनुसार हामीले आफै ऐन, कानुन र नियमावली, कार्यविधिहरु बनाएर काम गर्न सफल भयौ । यो कार्यकाल मेरो लागि स्वर्णिमकाल सावित भएको छ ।
नगर प्रमुखको ५ वर्षे कार्यकालको सिकाई गतिविधिहरु मेरो महत्वपूर्ण सम्पति सावित भएका छन् । नगर प्रमुखको पदमा रहेर कार्य सम्पादन गर्ने अधिकार प्राप्त भएअनुसार शुरुवाती चरणदेखि आज अन्तिम दिनसम्म भए गरेका सबै सबै काम कार्यहरु लिपिवद्ध गरि पुस्तक (जनप्रतिनिधिका पाँच वर्ष) प्रकाशन गरि राखिएको पनि जानकारी गराउदछु । जो भोलिका लागि एउटा महत्वपूर्ण दस्तावेज हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
नगरका हरेक वडालाई छुट्टाछुट्टै पहिचान दिनगरि ९ वटै वडाहरूमा नगर गौरवका आयोजनाहरू निर्माण भएका छन । शहरी पूर्वाधारहरू धेरै बनेका छन् । चिडियाखाना, पार्कहरू, भ्यूटावर, पदमार्ग, मन्दिर, पुल, खानेपानी ढल, सपिङ्ग कम्प्लेक्स जस्ता थुप्रै संरचनाहरू निर्माण भए, केही सम्पन्न केही सुरूवाती चरणमा छन् । जुन आगामी आउने नेतृत्वले पूरा गरि नगरको गौरवलाई निरन्तरता दिने छ ।
अन्तमा, नगरलाई यस अवस्थासम्म ल्याउनका लागि मेरा नेतृत्वमा रहेर मलाई साथ सहयोग गर्नुहुने आदरणीय उप–मेयर कमला बस्नेतज्यू, ९ वटै वडाअध्यक्ष वीर बहादुर थामी, विरजमान श्रेष्ठ, हरिशरण शिवाकोटी, हरिबंश चौलागाइ, रामचन्द्र बस्नेत, नवीन लामा, कैलाश कुमार श्रेष्ठ, नकुल के.सी, चित्र बहादुर भुजेलज्युहरु, कार्यपालिका सदस्य गौरी थामी, लालकृष्ण थामी, दिपक धनुके, जमुना श्रेष्ठ, रूपा शाही भुजेल, सुमन सुनाम मन्जु विक, किरण ओलीज्यूहरु सबै नगरसभा सदस्यज्यूहरू अनि चार जना प्रमुख प्रशासकीय अधिकृतज्यूहरु बढी समय रहनु हुने मानबहादुर खड्काज्यू, सम्पूर्ण शाखाका प्रमुखज्यूहरू अनि सबै राष्ट्र सेवक कर्मचारी मित्रहरु ।
यस अवधिमा मलाई सघाउने सबै विज्ञ सल्लाहकार कानुनविद, नेपाल महासंघ दोलखालगायत सम्पूर्ण पत्रकारज्यूहरू रेडियोहरू, अनलाईन, पत्रपत्रिकाहरु र लगातार ५ वर्षसम्म मेयरसँग जनताको कुरा कार्यक्रम प्रसारण गर्ने (जीवन लामा) कालिञ्चोक एफएम उद्योग वाणिज्य संघ दोलखा, चेम्बर अफ कमर्श, सम्पूर्ण सघंसंस्थाका साथीहरु सामाजिक व्यक्तित्वज्यूहरु, मेरो संयोजकत्वमा बनेका सबै समितिका सदस्यज्यूहरु, सम्पूर्ण नगर सदस्य, नगर सल्लाहकार मित्रहरु सरसफाईकर्मी, कर्मचारी मित्रहरु, नगर प्रहरी सम्पूर्ण नगरका नागरिकहरू सबैलाई सहकार्य र सहयोगको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यस अवधिमा सघाउने दातृ निकायहरू विकस साझेदार संस्थाहरू UNDP, USAID, TAYAR Nepal, TAF, NAYA HEALTH Nepal, TDF लगायत नाम लेखे नलेखेका सबै संघसंस्थाहरू, शिक्षक, विद्यार्थीहरु यहाँहरूका साथ सहयोगबाटै मेरो टिमको कार्यकाल सफल हुन सकेको हो । यहाँ मैले नाम लेखेका नलेखेका लेख्न छुटेका सबैले मलाई सघाउने सम्पूर्णप्रति आभार साथै हार्दिक धन्यवाद !!!
फेरिपनि यहाँहरूको यस्तै साथ सहयोगको अपेक्षा सहित विदा हुन्छ । धन्यावाद ।