चरिकोट, २५ जेठ
दोलखाको गौरीशंकर गाउँपालिकाको अध्यक्षमा पराजित भएपनि अहिले मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुग्नमा ब्यस्ता छन् नेपाल कम्यूनिष्ट पार्टी एमालेका उम्मेदवार जंग गुरुङ । आफु निर्वाचनमा पराजित भएर पनि पुनः जनता माझ पुगेर अहिले धन्यवाद दिदै छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा अध्यक्ष पदमा गठबन्धनबाट पराजित भएका गुरुङ मत माग्न गएजस्तै मतदाताहरुलाई धन्यवाद दिन जनताको घर घरमा पुगेका हुन् । निर्वाचनमा आफू विजय, पराजय जे भएपनि जनतामाझ पुनः आउने वाचालाई पूरा गर्न जनताको घर–आँगनमै पुगेको गुरुङले बताए ।
उनले गाउँपालिका अध्यक्षमा पराजित भएपनि आफू गौरीशंकर गाउँपालिकाको जनताको सेवामा सदैव रहिरहने प्रतिवद्धता जाहेर गरे । बुधबारदेखि गाउँपालिकाको वडा नम्बर–९ रिकुबाट सुरु गरेको जनता भेटघाट तथा धन्यवाद अभियान वडा नम्बर १ जुँगुमा पुगेर सम्पन्न भएको गुरुङले ई दैनिक खबरलाई बताए ।
गुरुङसँग गाउँपालिकाका पूर्वअध्यक्ष सोयम बहादुर खड्का, वडाअध्यक्षका उम्मेदवारहरु र नेकपा एमाले गौरीशंकर गाउँपालिकाका शुभचिन्तकहरुका टोली रहेका थिए । गौरीशंकरमा एमालेको पार्टी संगठन राम्रो भएपनि माओवादी, कांग्रेस लगायतका दलहरूको गठबन्धनका कारणले पराजित भएको स्वीकार्दै गुरुङले भने “पार्टी भित्रका केहि साथीहरुले अन्तर्घात समेत गरेकोले पार्टीको उम्मेदवारले पराजय भोग्नुपरेको छ” । यस्ता अन्तर्घातीहरुलाई पार्टीबाट निस्कासन गर्नुको विकल्प छैन् । उनले बताए ।
स्थानीय तह निर्वाचनमा ९ वटा वडा रहेको गौरीशंकर गाउँपालिकामा वडा नं. ५ मा मात्रै एमालेले जितेको छ । यसअघिको निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नम्बर –१, ५, ६, ७, ८ र ९ वडामा एमालेका उम्मेद्वार विजयी भएका थिए ।