दीपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक’ विमोचन गरिएको छ । मण्डला थिएटरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।
कार्यक्रममा कविता संग्रहको समीक्षा गर्दै कवि विप्लव प्रतीकले यादको सन्दुकभित्रका कविताहरू प्रेमिल भएको बताए । कवि मेवाहाङले प्रेमका विविध पक्षलाई भावमा समेट्न सफल भएको उनले बताए ।
साहित्यकार बिना थिङ तामाङले कवितामा कुनै वाद नमिसाइ र कसैलाई प्रहार पनि नगरि वादहरुभन्दा माथि उठेर कविता लेखिएको बताइन् ।
अर्का वक्ता पशुपति राईले कविता सरल र हृदय छुने भएको बताइन् । ‘यादको सन्दुकमा सम्बन्धका कुरालाई जोड दिइएको छ । मायाको कुरा उठाइएको छ । आमाको प्रेम, बहिनीको प्रेम, प्रेमीको प्रेम, आफन्तको प्रेम, सम्बन्धका प्रेम समेटिएको छ,’ उनले भनिन, ‘हरेक कवितामा आसा छ । सरल र हृदय छुने छ’ उनले भनिन् ।
अर्का वक्ता अर्पण उत्कर्ष नेपाली साहित्यक आन्दोलनलाई योगदान दिने गरिको कविता कृति तयार भएको बताए । हाल दक्षिण कोरियामा रहेका कारण लेखक राई भने कार्यक्रममा सहभागि हुन सकिनन् ।
कार्यक्रममा स्वप्निल स्मृति र सङ्गीता थापाले सङ्ग्रहबाट केही कविता वाचन गरेका थिए । पुस्तकको प्रकाशन फिनिक्स बुक्सले गरेको हो । यादका सन्दुकमा ४८ वटा कविता छन् । यो उनको पहिलो साहित्यिक कृति हो ।