चरिकोट, २३ असार
दोलखा सदरमुकाम चरिकोट बजारमा सञ्चालित होलसेल पसलहरुमै म्याद गुज्रेका खाद्य वस्तुहरु बिक्रि भईरहेकोे पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय दोलखाले गरेको नियमित बजार अनुगमनका क्रममा चरिकोट बजारमा सञ्चालित होलसेल पसलहरुबाटै म्याद गुज्रेका खाद्य वस्तुहरु बिक्रि भईरहेकोे पाइएको हो ।
अनुगमन गरिएका ९ वटा मध्ये ३ वटा पसलहरुबाट म्याद नाघेका खाद्य तथा पेय पदार्थ विक्रि भईरहेको घरेलु तथा साना उद्योग कार्यालय दोलखाका प्रमुख मीन बहादुर लामा थिङले जानकारी दिनु भयो । उक्त म्याद नाघेका खाद्य बस्तु तथा पेय पदार्थ जफत गरी नष्ट गरिने उहाँले बताउनु भयो ।
चरिकोट बजारमा सञ्चालित ठुला होसलेस तथा सप्लायर्समानै म्याद गुज्रेको खाद्यवस्तु मैदा, कुरमुरे, चिजवल, दालमोठ, चकलेट, पेय पदार्थ लगायतका म्याद गुज्रेका खाद्यसामग्री पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख थिङले जानकारी दिनु भयो ।
चरिकोटमा सञ्चालित होलसेल पसलहरुबाटै गाउँ गाउँसम्म खाद्यवस्तु पुगिरहेको र चरिकोट बजारमै म्याद गुज्रेका खाद्य वस्तु भेटिनुले गाउँसम्म पनि म्याद गुज्रेका र अखाद्य बस्तु बिक्रि भएको हुन सक्ने प्रमुख थिङले बताउनु भयो ।
म्याद गुज्रेका खाद्यवस्तुले मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पुर्याउने हुँदा यसको बारेमा जनचेतना फैलाउनका लागि उपभोक्त शिक्षाको आवश्यकता देखिएको प्रमुख थिङले बताउनु भयो । जिल्लाको विभिन्न खाद्य पसलहरुबाट म्याद गुज्रेका र अखाद्य वस्तुहरू बेच्ने क्रमलाई सम्बन्धित निकायले रोक्नेतर्फ कुनै पहल कदमी नचाल्दा जिल्लाका उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको छ ।
म्याद नाघेका वा प्रयोग गर्न नमिल्ने खाद्य वस्तुहरु खुलेआम बिक्री गर्दा समेत जिम्मेवार निकायले खाद्य ऐन २०२३ अनुसार कारबाही गर्न नसक्दा नेपालको संविधान २०७२, खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्ता सम्बन्धी ऐन, २०७५ ले व्यवस्था गरेको अधिकारबाट समेत उपभोक्ता बञ्चित हुनु परेको छ ।