चरिकोट, २३ साउन
थामी समुदायको बाहुल्यता रहेको दोलखाको कालिञ्चोक गाउँपालिका यतिवेला स्थानीय विद्यालयमा पठन पाठनका लागि स्थानीय भाषाको पाठ्यक्रम निर्माणमा जुटेको छ । सोही अनसार गाउँपालिकाले थामी भाषाको पाठ्यक्रम निर्माणको लागि विज्ञ समूहको खोजी गर्न थालेको छ । स्थानीय सरकारले आफ्नो क्षेत्र भित्र बहुसंख्यक जातजातिहरुको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गर्न सक्ने प्रावधान अनुसार कालिञ्चोक गाउँपालिका थामी भाषाको पाठ्यक्रम निर्माणमा अग्रसर बनेको हो । स्थानीय भाषामै पाठ्यक्रम निर्माण गर्न सकिने भएकाले कालिञ्चोक गाउँपालिकाले थामी भाषाको पाठ्यक्रम निर्माणका लागि थामी भाषा विज्ञको खोजी गरेको हो ।
गाउँपालिकाले साउन २० गते सूुचना प्रकाशन गर्दै प्रत्येक वडाबाट ३/३ जना थामी भाषा विज्ञ आव्हान गरिएको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिनु भयो । यस पालिकामा थामी समुदाय ४० प्रतिशतभन्दा बढी रहेकोले थामी भाषामा पाठ्यक्रम निर्माण गरी पठनपाठन कार्यान्वयनमा ल्याउने प्रमुख प्रशासकीय अधिकृत ओलीले बताउनुुभयो ।
केही हप्ताअघि यस गाउँपालिकामा कक्षा एकदेखि तीनसम्म संस्कृत भाषाको पाठ्यक्रम पठनपाठन हुन थालेपछि व्यापक विरोध भएको थियो । थामी समुदायको बाहुुल्यता रहेको यस पालिकामा संस्कृत भाषाको पाठ्यक्रम अनिवार्य लागूू गर्न थालेकाले थामी समुदायका अगुवाहरुले विरोध जनाएका थिए ।
दोलखामा तामाङ, थामी, शेर्पा, नेवार, जिरेल, मगर, माझी, सुुनुुवार, सुरेल, गुुरुङ, भुजेल र कुमाल आदिवासी जनजाति रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार दोलखामा थामी भाषा ८.० प्रतिशतले बोल्ने गर्छन् । तथ्याङ्क अनुुसार दोलखामा तामाङ भाषा १५.८ प्रतिशतले बोल्छन् भने यसपछि बोलिने भाषा थामीनै हो ।
त्यस्तै स्थानीय भाषा पाठ्यक्रम अन्तरगत थामी भाषामा पाठ्यक्रम निर्माण र थामी जातिको बाहुुल्यता रहेको ठाउँमा आधारभूत तहसम्मका विद्यालयहरुमा पाठ्यक्रम लागू गर्नको लागि २०७७ मै ध्यानाकर्षणपत्र बुुझाएको थियो । नेपाल थामी समाज जिल्ला कार्य समिति दोलखाले गाउँपालिकालाई पटक पटक ध्यानाकर्षण पत्र बुुझाउदा पनि वास्त नगरिएको नेपाल थामी समाजका केन्द्रीय महासचिव लक्ष्मण थामीले बताउनु भयो । स्थानीय तहहरुले बेलैमा स्थानीय भाषालाई प्राथमिकता नदिने हो भने आदिवासी जनजातिहरुको भाषा लोप हुने जान सक्ने अवस्था रहेको पनि महासचिव थामीले बताउनुु भयो ।