आज भोली दोलखा सदरमुकाम चरिकोटका होटल, पसल मात्र होइन, सातदोबाटो चोक नै सुुनसान देखिन्छ । सधैं मान्छेको चहलपहल हुने ठाउँ हो सातदोबाटो चोक तर, एक दुुई जनाको अनुुहार देखिन पनि गाह्रो होला होला जस्तो छ । केही थान बोलेरो गाडीले धानेको छ सातदोबाटो चोकको इज्जत । नत्र काम परेर कोही सातदोबाटो चोकहुँदै बजार पुगेका हुन्छन् भने यो सातदोबाटो चोक हो र भनेर झुक्किने छन् ।
अधिकांशको मुखमा चरिकोट बजार सुक्नुमा संघीय संरचनालाई दोष दिईरहेका छन् । गाउँ गाउँमा स्थानीय तहले मान्छेहरु चरिकोट पठाएनन् भन्ने नै छ । होटल व्यवसायीहरुले बाहिरबाट पर्यटक आएनन् भनेर कुरिरहेका छन् । तर, चरिकोटमा चहलपहल किन भएन र कसको कमजोरी भनेर कोही कसैले पनि बहसको विषय बनाउन सकेका छैनन् । एकले अर्कालाई दोष लगाउने र थुकथुकी मान्ने बाहेक सिन्को भाँच्ने सम्मको काम हुन सकेको छैन ।
दोलखा पर्यटकीय गन्तव्य हो । यहाँको वातावरणले धेरै भन्दा धेरै पर्यटक भित्राउन सकिन्छ भन्ने विश्वास सबैमा छ । तर तिनै हिमाल, मठमन्दिर, खोलानाला, वनजंगल, डाँडाकाँडा, ताल तलाउ, झरना हेरेर मात्र पर्यटक रमाउदैनन् भन्ने बुझाई कमैमा होला । त्यसो त के दोलखामा मात्र छन् यी यस्ता प्राकृतिक वरदान ? यी प्राकृतिक सम्पदासँग कति समय रमाउने, कति समय बिताउने ? के सबै पर्यटकहरु प्राकृतिक सम्पदासँग रमाउने खालका मात्र हुन्छन् त ? त्यसो त के होला त दोलखामा पर्यटक नआउनुको कारण ? केही विषयहरु समेट्ने कोशिस गरेको छु । सानातिना कुरामा ध्यान नदिनु र बेलैमा सुधार ल्याउन नसक्नु हाम्रो मुख्य कमजोरी हो । पर्यटन हल्ला हो । त्यसको साथसाथै सरसफाईमा मुख्य सुधार ल्याउदै सानातिना कुरामा ध्यान दिन सकेमा आत्तिनुपर्ने र रोइकराई गर्नुपर्ने अवस्था देखिदैन ।
(क) सुविधायुक्त सवारीसाधन र व्यवस्थित बसपार्क काठमाडौ–चरिकोट चल्ने अधिकांश सवारीसाधन पुरानै छन् । कतिपय त लामा बस छोट्याएर चलाई रहेका छन् । जसले गर्दा ठाउँ ठाउँमा बिग्रने अनि दुर्घटना समेत हुने गरेका छन् भने समयमा गन्तव्यमा पुर्याउन सकेका छैनन् । काठमाडौ–चरिकोटसम्मको सडक सुधार आएपनि गाडी छुट्ने समय तालिका भने अझैं पनि पुरानै कायम गरिएको छ । अहिले काठमाडौ–चरिकोट चार घण्टामै आउन सकिन्छ । तर काठमाडौबाट चरिकोट अन्तिम गाडी दिउँसो दुई बजे अगाडिनै छुट्ने गर्छ । जसले गर्दा काठमाडौमा केही काम भ्याएर चरिकोट आउने पर्यटकमा समस्या उत्पन्न भईरहेको छ । चरिकोटबाट काठमाडौ छु्ट्ने अन्तिम गाडि पनि दुुई बजेसम्म मात्र हो । अधिकांश गाडी पर्यटनमैत्री छैन । गाडी स्टाफहरु कोचेरै भएपनि कसरी यात्रु बढाउने भन्ने ध्यानमा हुन्छन् । अधिकांश गाडीका सिटका कपडाहरु महिनौसम्म नधोएका, फोहोर, गन्हाउने, च्यातिएका हुन्छन् । साँधुरो सिटका कारण घुडा ठोकिने लगायतका समस्याहरु अहिले पनि यथावतै छ । काठमाडौ–चरिकोटको चल्ने गाडीको काउण्टर हटेको वर्षौ भईसक्यो । दोलखा आउने टिकट कहाँ पाईन्छ भनेर फनफनी खोज्नुपर्ने समस्या छ । सहज तरिकाले यात्राको सुविधा नहुँदा पर्यटक किन र कसरी आउने ? दोलखा घुम्न आउने तीव्र इच्छा हुँदाहुँदै पनि अधिकांश यिनै समस्या देखिएकाले आउन सकेका छै्रनन् । कस्ता गाडी पाईन्छ ? कति समय लाग्छ यस बारेमा राजधानीमा केही पनि जानकारी पाईदैन । खाए खा, नखाए घीच भने जस्तै यातायातको विकल्पमा लामो बस मात्र हो । टाटा सुुमोको भरै हुँदैन । मान्छे भर्यो भने गुुड्ने नत्र रिजर्भमा मात्र चल्ने गर्छ । अरु गाडिको विकल्प किन हुन नसकेको ?
(ख) सूचना केन्द्रः लाखौं रुपैयाँ खर्चेर भीमेश्वर नगरपालिकाले बनाएको दोलखा र सिन्धुपाल्चोकको सिमास्थित मुडे नजिकैको सूचना केन्द्र अलपत्र अवस्थामा छ । जुन उद्देश्यले निर्माण भएको हो अहिले ठीक विपरित भईरहेको छ । न गेट पूरा भयो, न सूचना केन्द्र नै । जसले गर्दा दोलखा भित्रिएका पर्यटकले सही सूचना पाउन सकेका छैनन् । बल्लतल्ल दोलखा छिरेका पर्यटकहरु पनि एक रात सुतेर फर्किनु पर्ने अवस्था छ ।
(ग) अधूरा संरचनाहरुः पर्यटकलाई लक्षित गरि निर्माण गरिएका भौतिक संरचना तथा पूर्वाधारहरु अधूरा छन् । संघीयता आउनु अघि निर्माण सुरु भएका भ्यूटावर, चम्पूजापार्क अहिले पनि निर्माणधीन अवस्थामै छन् । चरिकोट–कालिञ्चोक कुरीको सडक वर्षौदेखि निर्माणधीन अवस्थामै छ । बेलामा पर्यटनमैत्री संरचनाहरु सम्पन्न नहुुँदा पर्यटक आकर्षित गर्ने केले त ? कतिपय पर्यटकहरु सामाजिक सञ्जालमा फोटो, भिडियो, टिकटकको आधारमा पनि घुम्ने खालका हुन्छन् । यी अधूरा संरचनाहरुले फोटो, भिडियो सुन्दर नदेखेपछि कसको मन लोभ्याउछ र ? समय, परिस्थिति अनुसार नयाँ नयाँ संरचनाहरु प्रशस्तै बनाउनुपर्छ । भूगोल, ठाउँ अनुसार एड्भेन्चर संरचनाहरु मनग्य निर्माण गर्नुुपर्छ । बालबालिकादेखि युवा, ज्येष्ठ नागरिक सबैलाई काम लाग्ने खालका संरचनाहरु निर्माण गर्न आवश्यक छ । पर्यटकलाई आकर्षित गर्नको लागि साहसी खेलको आवश्यकता छ । त्यसको लागि पाइला पाइलामा विभिन्न संरचनाहरु निर्माण गर्न सकिने सम्भावना छ । २ घण्टामा कालिञ्चोक घुमेर चरिकोट फर्केका पर्यटक कहाँ जाने ? एक घण्टामा भीमेश्वर मन्दिर घुमेर आएका पर्यटक कहाँ जाने ? समय कसरी कटाउने ? पर्यटकको बसाई लम्ब्याउनको लागि केही त चाहियो नि ? पर्यटकको २ रात बसाई चरिकोटमा हुनको लागि केही न केही त चाहियो नि ।
(घ) चरिकोटको मुहार सातदोबाटोः चरिकोट बजार कस्तो छ ? चरिकोटबासी कस्ता छन् भनेर पहिचान दिने र पर्यटक ठोकिने मुख्य द्धारनै सातदोबाटो हो । गाडीबाट ओर्लिने बित्तिकै सातदोबाटो चोकमा आँखा पर्छ । पहिलो गाँसमै ढुंगा भनेझैं पहिलो हेराईमा नकारात्मक प्रभाव पर्यो भने के होला ? सातदोबाटोको लथालिङ्ग बजार, अवस्थित रुपमा पार्किङ गरिएका सवारी साधान, गन्हाउने नाली, फोहोरको थुप्रा, अव्यवस्थित तार, खाल्डाखुल्डी सडकले पर्यटकमा पक्कै पनि राम्रो प्रभाव पार्छ जस्तो लाग्दैन । तसर्थ चरिकोट कस्तो भनेर चिनाउनको लागि सातदोबाटो चोक र यसको वरिपरी सुधार ल्याउन आवश्यक छ ।
(ङ) स्तरीय होटलः चरिकोटमा पर्याप्त मात्रमा होटल लजको आवश्यकता छ । हाल सञ्चालनमा रहेका होटलहरुले हस्पिटालिटीमा पहिलो ध्यान दिन आवश्यक छ । सबै ग्राहक दालभात खान र रक्सी पिउन मात्र आउने त होला नि भनेर सम्झिनु महाभूल हो । कतिपय ग्राहकहरु यहाँको वातावरण बुझ्न, हेर्न र अध्ययन, अनुसन्धान गर्न आउन सक्छन् । विभिन्न माध्यमहरु प्रयोग गरेर बजेट व्यवस्था गरेका हुन सक्छन् । त्यस्ता ग्राहकलाई त्यस्तै व्यवस्था गर्न आवश्यक छ । अहिले पर्यटक तान्नको लागि पोखरा, लमजुुङहरुमा सस्तोमा बस्ने, खानेको व्यवस्था गर्न थालेका छन् । होटलहरुले प्याकेजको व्यवस्था गर्न सकेमा बसाई लम्ब्याउन सक्छन् । सुत्न र दालभात जहाँ पनि उपलब्ध छ अहिलेको जमानामा । तर, दोलखामा पाईने समयअनुकुल कस्ता खानेकुराहरु पर्यटकलाई चखाउन सकिन्छ भनेर ध्यान दिन आवश्यक छ । सकेसम्म स्थानीय उत्पादनलाई प्राथमिकता दिन सक्यो भने पर्यटकमा सकारात्मक प्रभाव पर्न सक्छ । दोलखाको अर्गानिक खानाको रुपमा साग, आलु, लोकल चामल, किवी, छुर्पी, घीउ भन्न सकेमा पर्यटक फुरुक्क हुन्छन् जस्तो लाग्छ । प्रदेश र संघीयस्तरीय कार्यक्रमहरु गर्नको लागि पर्याप्त मात्रमा स्तरीय होटल चाहिन्छ । अहिलेसम्म चार पाँच सय अट्ने हलको व्यवस्था गर्न सकेका छैनन् कुनै होटलले । ४,५ हजार अट्ने लजको व्यवस्था गर्न सकेका छैनन् ।
च) सूचना केन्द्रः पर्यटकीय जिल्ला भने तापनि अहिलेसम्म एउटा सूचना केन्द्र स्थापना हुन सकेका छैन । दोलखा भित्रिएका पर्यटकहरु कहाँ जाने, कसरी जाने, किन जाने, त्यस ठाउँको विशेषता के हो भन्ने कुरा थाहा नपाई कसरी घुम्ने ? किन जाने ? यी सबै सूचना केन्द्रले जानकारी दिने हो । तर सूचनाविहिन अवस्थामा छ पर्यटन । दोलखाको पर्यटन प्रवद्र्धनको लागि लाखौ खर्च गर्छन तर परिणाम भने बालुवामा पानी हाले जस्तै छ । यहाँ सञ्चालित साना ठूला सबै होटलमा दोलखाको पर्यटनको बारेमा जानकारी पुस्तक, फोटो, भिडियो राख्नु पर्यो । होटल सञ्चालकलाई गन्तव्यहरुको बारेमा विस्तृत जानकारी दिनुपर्यो ।
(छ) कोशेलीः दोलखामा के पाईन्छ । अहिलेसम्म जिल्लाको पहिचान दिन सकेको छैन् । जोकोहीको परिवार, साथीहरु घुम्न जाँदा त्यहाँको कोशेली लिएर आउनु है भन्छन् । तर दोलखामा पाईने वस्तुलाई कोशेलीको रुप दिन सकेका छैनन् दोलखाको कोशेली, चिनो भनेर कर्मचारी, पाहुुनालाई दिन सकेका छैनन् । कोशेली घर भनेर राख्न सकेका छैन् । दोलखामा के पाईन्छ र केलाई कोशेलीको रुपमा विस्तार गर्ने कुनै छलफल हुन सकेको छैन । त्यसतर्फ कसैको ध्यान गएको छैन ।
(ज) सरसफाईः चरिकोट बजार व्यवस्थित गर्ने र सरसफाई गर्ने भनेर वर्षौदेखि उठ्दै आएको चोटिलो विषय हो । सरसफाईको लागि पटक पटक सरोकार निकायसँग छलफल, बहस भए तापनि सिन्टो भाँच्न सकेका छैन् । अहिले पनि महिनौ फोहोर उठ्दैन । आफ्नै घर, पसल, होटल अगाडि फोहोरको डंगुर देखिन्छ । नगरको एउटा विशेषता सरसफाई हो भनेर बुझ्न, बुझाउन सकेका छैन् । जहाँले जहाँ फोहोर गरे पनि हुन्छ भन्ने बुझाई नगरबासीमा छ । तर सभ्यताको पहिचान सफा हो भन्ने बुझाईको कमि छ ।
(झ) सवारी साधनः दोलखामा सञ्चालित सवारी साधनहरु पर्यटकमैत्री छैन । नयाँ अनुहार देख्ने बित्तिकै जति भाडा भन्दापनि हुन्छ भन्ने बुझाई छ । दोलखाको बेइज्जत हुन्छ, पर्यटकलाई सम्मान गर्नुपर्छ भन्ने बुझाई नहुँदा पर्यटकहरु तर्सिने गरेका छन् । चालकहरुलाई गन्तव्यको बारेमा जानकारी नहुँदा पर्यटकहरुले मनोरञ्जन लिन सकेको हुँदैन । सही गन्तव्यमा पुग्न पनि सकेका हुँदैनन् । हेर्ने, खाने लगायतमा नराम्रो महशुुस गरेका हुन्छन् । एकपटक दोलखा आएका पर्यटक दोहोर्याएर आएका सायद कमै होलान् । आफ्ना साथीभाई, इष्टमित्रलाई दोलखा राम्रो छ । घुम्न जानुस भन्नेहरु कमै होलान । तसर्थ कहाँ के पाईन्छ ? त्यसको विशेषता के ? पर्यटकले कस्ता ठाउँ घुम्न चाहेको हुन्छ भन्ने कुराहरु पूर्णरुपमा चालकलाई जानकारी हुुनुपर्छ र पर्यटनमैत्री सवारीसाधन हुुनुुपर्छ ।
(ञ) कल्चर सोः दिनभरी घुमेर मात्र पुग्दैन । साँझ बेलुुकीको समयमा कसरी मनोरञ्जन दिन सकिन्छ ? समग्र जिल्लाको पहिचान दिनको लागि पनि कल्चर सो चाहिन्छ । बेलुकी २,३ घण्टा समय कटाउने वातावरण सिर्जना गर्न आवश्यक छ । दोलखा आफैमा विविध संस्कृतिले भरिपूर्ण जिल्ला हो । यहाँ रहेका थामी, सुरेल, जिरेल, तामाङ, शेर्पा जातिको संस्कृति झल्किने कल्चर सो प्रदर्शन गर्ने हो भने पर्यटक संख्यामा वृद्धि आउने छ । दोलखामा विशेषगरी शुक्रबार र शनिबार पर्यटक भित्रिने भएकाले हप्तामा २ बार मात्र कल्चर सो गर्न आवश्यक छ ।
(ट) गतिविधिः पर्यटक भित्राउन र लोभ्याउन विभिन्न गतिविधिहरु सञ्चालन गर्न आवश्यक छ । दोलखामा जे गरे पनि नयाँ हुन्छ र जे गरे पनि पूर्ण भएकाले गतिविधिहरु सञ्चालन गर्न आवश्यक छ । जति धेरै हल्लीखल्ली भयो उति धेरै पर्यटक संख्यामा वृद्धि हुने गर्दछ । तसर्थ हिजोको दिनमा थालनी गरेका आलु, सुन्तला, किवी, चौरी महोत्सवहरुलाई निरन्तरता दिनु पर्छ । अझ नयाँ नयाँ विषयमा मेला, भेला, महोत्सवहरु गर्न सकेमा दोलखाको कालिञ्चोक र दोलखा भीमेश्वर मात्र गन्तव्य नभई दोलखा आफै गन्तव्य हो भन्ने सकारात्मक सन्देश जान्छ । दोलखाको पाइला पाइलामा पर्यटन जोडिएको छ । शब्द शब्दमा इतिहास, संस्कृति जोडिएको छ । तसर्थ दोलखा घुम्न र रमाइलो गर्न मात्र होइन, यहाँको इतिहास, संस्कृति लगायतको अध्ययन, अनुसन्धान, ध्यान, ज्ञान लिन पनि पर्यटकको आगमन हुनेछ र बनाउनुपर्छ । भित्री मनदेखिनै सबैमा पर्यटनको महत्व बुुझाउन आवश्यक छ । पर्यटन मेरो लागि हो भन्ने भावना जागृत हुन आवश्यक छ । पर्यटनबाटै आन्तरिक स्रोतको सम्भावना देख्नुपर्छ । पर्याप्त मात्रमा पर्यटन क्षेत्रमा खर्च गर्न आवश्यक छ । अनि मात्र त्यसबाट खोजेजस्तो प्रतिफल लिन सकिन्छ ।