चरिकोट, २६ असोज
सहकारी संस्थाबाट ऋण लिने तर समय अवधि भित्र लिएको साँवा तथा ब्याज समेत भुक्तानी नगर्ने प्रवृत्ति बढेपछि दोलखाका सहकारी संस्थाहरुले धितो लिलामी गरी ऋण असुली गर्ने प्रक्रिया सुरु गरेका छन् ।
दोलखाको बैतेश्वर गाउँपालिका ५ मैनापोखरी स्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले मंङ्गलबार पहिलो पटक धितो लिलाम गरी ऋण असुली गरेको छ । लिलाम बढाबढको आधारमा धितो लिलामी सम्पन्न भएको सहकारी संस्थाले जनाएको छ ।
जनसचेतन सहकारीले गत भदौ २१ गते ऋणको भाखा नाघेका आफ्ना ऋणीलाई ताकेताका सबै प्रक्रिया पुरा गर्दा पनि ऋण नतिर्ने १४ जना ऋणीहरुको धितो लिलाम बिक्रि सम्बन्धी सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशनपछि छ जना ऋणीहरु संस्थाको सम्पर्कमा आएर ऋण तिरे पनि सम्पर्कमा नआएरका आठ जनाको धितो भने मङ्गलबार लिलाम विक्रि गरिएको संस्थाका जनसम्पर्क अधिकारी राजन दहालले जानकारी दिनु भयो । ऋण लिने समयमा तय गरिएको शर्त मुताविक समयमा साँवा र ब्याज नबुझाउने, पटक पटक लिखित, मौखिक तथा भौतिक ताकेताको बेवास्ता गर्ने, राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी ऋण तिर्न आह्वान गर्दा समेत ऋण नतिर्ने ऋणीहरुको धितो लिलाम बढाबढको आधारमा गरिएको हो ।
ऋण लिदा तय गरिएको शर्तनामा अनुसार समयमा ऋणको साँवा, ब्याज नबुझाउने र पटक पटक गरिएको ताकेता पश्चात पनि ऋण नतिरेमा धितो लिलामी गर्न पाउने व्यवस्था रहेको छ ।
सहकारी ऐन २०७४ को दफ ७९, सहकारी नियमावली २०७५ को दफा ३० बमोजिम कुनै पनि सहकारी संघसंस्थाले ऋणीको धितो लिलाम गरी ऋण असुलउपर गर्न सक्ने व्यवस्था रहेको जनसचेतन सहकारी संस्थाका कानुनी सल्लाहकार राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
संस्थामा भाखा नाघेको ऋण न्यूनीकरणका लागि हदैसम्म लचिलो भएर ताकेता गर्दा पनि ऋणीहरुले बेवास्ता गरेपछि बाध्य भएर धितो लिलाम गर्नुपरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालको भनाई छ ।
संस्थाले १४ जना ऋणीहरुको धितो लिलामी प्रक्रिया अघि बढाएकोमा जस मध्य मध्ये छ जनाको ऋण ब्यबस्थापन भएको र बाँकी आठ जनाको भने लिलाम भएको हो । जनसचेतन बचत तथा ऋण सहकारी सस्थाले स्थापनाको ३० बर्ष पछि पहिलो पटक धितो लिलाम गर्ने कार्यको थालनी गरेको र यसलाई निरन्तरता दिने संस्थाले जनाएको छ ।