चरिकोट, ३१ असोज
च्छोरोल्पा हिमताल घुम्न जाने पर्यटक संख्यामा वृद्धि आएको छ । पछिल्लो अवस्थामा च्छोरोल्पा घुम्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको गौरीशंकर गाउँपालिका वडा नं. ९ निवासी शिक्षक बोलेन्द्र आचार्र्यले जानकारी दिनु भयो ।
दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित च्छोरोल्पा हिमतालमा पुग्ने अधिकांश युवा रहेका छन् । ४५ सय ८० मिटर उचाईमा रहेको यस हिमतालमा दैनिक ३/४ समुह जाने गरेका छन् । साथै विदेशी पर्यटकहरु समेत च्छोरोल्पाहुँदै टासीलाप्चा पास गरेर सोलुखुम्बु जाने गरेका छन् । विदेशीहरु पनि ५ देखी ६जनाकै समुहमा भेटिएको वडाअध्यक्ष ङिमागेली शेर्पा बताउनुु भयो ।
विदाको समयमा ४ देखी ५ दिनमा सहज तरिकाले यात्रा गर्न पाईने भएकाले च्छोरोल्पा जाने गरेका हुन् । चरिकोटबाट च्छोरोल्पा ४ देखी ५ दिनमै आवतजावत गर्न सकिन्छ । गत वर्षभन्दा यस वर्ष पर्यटक आगमन संख्या वृद्धि आएको हो । चरिकोटबाट छ्योतछ्योतसम्म यातायातको सुविधा छ । त्यहाँबाट पैदलमार्गको व्यवस्था छ ।
कात्तिकसम्म घुमघाम गर्ने सिजन भएकाले पनि पर्यटकको आगमनमा वृद्धि आएको हो । २०७२ सालको भूकम्पपछि एसडिसीले पदमार्ग निर्माण गरिदिएको छ । सिमीगाउँदेखि ना गाउँसम्म साना ठूला गरी एक दर्जनभन्दा बढी होटलहरुको व्यवस्था छ । पर्यटकको अवस्था हेरी सिमीगाउँ, सुर्मुचे, क्याल्चे, डोङाङ, वेदिङ र ना गाउँमा होटलको व्यवस्था छ । अहिले लेक लागेका र बिरामी परेका पर्यटकको सुविधाको लागि पर्यटन व्यवसायी दावाछिरी शेर्पाले च्छोरोल्पा ताल नजिकै आवास सञ्चालनमा ल्याउनु भएको छ । जसले गर्दा धेरै पर्यटकहरुलाई सहज हुुने व्यवसायी दावाछिरी शेर्पाको विश्वास छ ।
पर्यटन प्रवद्र्धनकै लागि गौरीशंकर गाउँपालिका वडा नं. ९ ले यस आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ । पर्यटकहरुलाई सहजताको लागि गुगल म्याप, ब्रुसर प्रकाशन, इन्टरनेटको व्यवस्था र संस्कृति संरक्षणको लागि आर्थिक वर्ष ०७९/०८० को लागि तीन लाख बजेट विनियोजन गरिएको वडाअध्यक्ष ङिमागेली शेर्पाले बताउनु भयो । त्यस्तै यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नको लागि बागमती प्रदेशअन्तरगत छ करोड ८१ लाख बजेटको व्यवस्था गरिएको छ । यस बजेटले छ्योतछ्योत–सिमीगाउँ–रोल्वालिङ–टसिलाप्चासम्म ट्रेल निर्माण कार्य भईरहेको छ ।
आगामी दिनमा गौरीशंकर गाउँपालिका वडा नं. ९ लाई पर्यटनमय बनाउनको लागि होटलमा सुधार ल्याइने र मूल्य निर्धारण गर्ने, सबै होटलहरु दर्ता वडा कार्यालयमा दर्ता गर्ने, केवलकारको व्यवस्था गर्ने योजना रहेको वडाअध्यक्ष शेर्पाले बताउनुु भयो ।