घुम्नलाई हुुरुक्कै हुने व्यक्ति हुन् ध्रुव आचार्य । वैतेश्वर गाउँपालिका वडा नं. ६ नाम्दू निवासी आचार्य सानै उमेरदेखि नयाँ नयाँ ठाउँ घुम्ने र नयाँ अनुुभव लिने व्यक्ति हुन् । उनले आफ्ना जिल्लाका अधिकांश ठाउँहरु घुमिसकेका छन् । कुनै समय घुम्नको लागि विदा माग्दा विदा नपाएपछि जागिरबाटै राजीनामा दिएर घुम्न निस्केका थिए । खल्तीमा पैसा नहुँदा पनि सहकारी, व्यक्तिसँग ऋण लिएर घुमेको अनुभवहरु पनि प्रशस्तै छन् उनीसँग । हाल नेपालको ७५ जिल्ला पुुगिसकेका र हुम्ला मात्र बाँकी रहेको उनी सुुनाउछन् । तिनै घुमन्ते ध्रुव आचार्यसँग इदैनिकका लागि गरिएको छोटो कुराकानी ।
१) तपाईलाई घुम्ने रहर कसरी जाग्यो ?
२०५२ तिर दोलखा र रामेछापको सिमानामा रहेको जटापोखरी पाँचपोखरीको यात्रा पश्चात नयाँ ठाउँ घुम्न जाने सोच आएको हो । २०५५ सालमा म पढेको विद्यालयको विद्यार्थीको टिमसँग पूर्वतर्फ दार्जिलिङ पुगियो । २०५७ सालमा जागिरको सिलसिलामा कैलाली पुगेपछि म पूर्ण रूपमा घुम्न लागेको हो । सुदुरपश्चिमका ९ वटै जिल्ला घुमेपछि मलाई नेपालका ७५ जिल्ला घुम्ने दृढ संकल्पका साथ घुम्न लागेको हो ।
२) घुम्दा के फाईदा हुन्छ जस्तो लाग्छ ?
सब भन्दा पहिलो आत्मसन्तुष्टी हो । बाँकी नयाँ नयाँ ठाउँको दृश्यावलोकन, रहनसहन, धर्म संस्कृति, विकास, आतिथ्यता, पढेको कुरा प्रत्यक्ष देख्न, अवलोकन गर्न पाउने नयाँ नयाँ साथी बन्ने भएकाले ।
३) देशको ७५ जिल्ला घुमिसक्नु भयो, अब किन एउटा जिल्ला चाहि घुम्न अधुरो रहयो नि ?
घुम्दै गर्दा नेपालका सम्पूर्ण जिल्ला पुग्ने अठोट लिएको थिए । २०७९ साल असोजमा डोल्पा पुग्दा ७६ औ जिल्ला पुगे । अब हुम्ला हुँदै कैलाश मानसरोवर पुगेर ७७ जिल्लामा पुर्याउने विचार छ ।
४) घुमेका ठाउँका रेकर्ड कसरी राख्नुुहुन्छ ? अथवा देखेका, भोगेका यादहरुलाई कसरी संकलन गरिहरनुभएको छ ?
पुगेका केही ठाउँको पुरानो धुलाएका फोटो छन् । डिजिटल फोटो छन् । डायरीको पानामा कतै कतैको यात्रा संस्मरण लेखेको छुु । केही केही ठाउँको जानकर मात्र पनि छु ।
५) अहिलेसम्मको यात्रामा अविस्मरणीय र सुनाउनलायकको केही छ ?
लगभग सडक यात्राबाट पुगेको ठाउँमा सामान्य रुपमै पुगेको अनुभव हुन्छ । जब पैदल यात्रा गरेर पुगिन्छ अविस्मरणीय हुन्छ । पाथीभरा, रारा, सिजा उपत्यका, पाण्डव गुफा, तिलाको फाँट, खलंगा, लप्ची गुम्बा, च्छोरोल्पा, त्रिपुरासुन्दरी, से फोक्सुन्डो, अरुण उपत्यका साथै धार्मिक आस्थाको ठाउँहरु मानस्पटलमा अमिट छाप बन्दछन् ।
६) एउटै जिल्ला, ठाउँहरु पटक पटक दोहोरिएका कही छ ? किन दोहोरिएर जान मन लाग्छ ?
धेरै ठाउँ दोहोरिएका छन् । कहि रहरले, कहि वाध्यताले, अर्को ठाउँ जाँदा बाटो पर्दा दोहोरियको छ । भने कतै साथीको जोड बलमा गएको छ । पुगेको ठाउँ को परिवर्तन पनि भै रहने हुनाले पुनः जाने मन लाग्दो रहेछ ।
७) अहिलेसम्मको यात्राले या देश घुम्नाले तपाईले के पाउनुभयो ?
त्यहाँको वस्तुस्थिति महत्वपूर्ण ठाउँको जानकार त्यस ठाउँको अवस्थिति र विकास नपुग्दाको कौतुहलता पुगेपछिको आत्मसन्तुष्टि नै महत्वपूर्ण हुन्छ ।
८) घुम्नलाई समय, पैसा, साथी सबै चाहिन्छ । तपाई कसरी व्यवस्थापन गर्नुहुन्छ नि ?
साथी समय पैसा महत्वपूर्ण हो । होइन पनि किन की इच्छाशक्ति र आत्मविश्वास ठूलो हो । जब म रोजगारीको शिलशिलामा कैलालीको धनगढी पुगेपछि । पुरै सुदुरपश्चिमका जिल्लाका सदरमुकाम पुगे पश्चाद घुम्नु पर्छ भन्ने विचार आयो । त्यसपछि केही पैसाको जोहो गर्दै घुम्न लागियो । कतिपय ठाउँमा साथीसँग पनि गईयो । कति ठाउँमा एक्लै गईयो २०७७ सालमा गाउँकै हामी ८ जनाको समूह नेपालको चारधाम यात्रा गर्ने मनसायले पाशुपत क्षेत्र मुक्ती क्षेत्र रुरु क्षेत्र, बराहा क्षेत्रको यात्रा साथै कालिकोट, जुम्ला र मुगुको यात्रा अविस्मरणीय रहयो ।
९) बाँकी रहेको जिल्लामा पुगेपछि के गर्नुहुन्छ आगामी योजना ?
हुम्ला पुगे पश्चात सुदुरपश्चिमको बडिमालिका क्षेत्र, खप्तड क्षेत्र, रामारोसन क्षेत्र पूर्वको मकालु क्षेत्र, सगरमाथा आधार शिविर, अन्नपूर्ण सर्किट, तिलिचो ताल, मनास्लु क्षेत्र साथै द ग्रेट हिमालयन ट्रेल (ओलाङ्चुङगोलादेखि अपिसम्म ) घुम्ने लक्ष्य राखेको छु । घुम्नु भनेको नयाँ नयाँ ठाउँ पुग्नु मनलाई प्रफुल्ल बनाउनु आत्मसन्तुस्ठी लिनु हो तर घुमेर कहिले पनि सकिदैन फेरि फेरि नयाँ ठाउँ जान त मन लागिहाल्छ नि ।


