चरिकोट, १८ कातिक
देशभर चुनावी रौनक चलिरहेका बेला माझी बस्तीमा भने कुनै चासो, चिन्ता छैन् । कालिञ्चोक गाउँपालिका वडा नं. ८ नागदहस्थित माझी समुदायको समस्यालाई सुनिदिने र बुझिदिने कोही नभएको माझीहरुको गुनासो छ । अहिलेसम्म भोट माग्न कोही नआएको र जसले माझी समुदायको बेरोजगार समस्यालाई बुझ्छ उसैलाई भोट दिने सुरमा रहेका छन् माझीहरु ।
माझीहरुको पुर्खौली पेशा माछा मारेर जीविकोपार्जन गर्ने हो । तर, पछिल्लो अवस्थामा माथिल्लो तामाकोशी लगायतका जलविद्युत आयोजनाहरुले खोला थुन्दा माछा नपाएकै कारण बेरोजार हुनुुपरेको माझीहरुको भनाई छ । आफ्ना पुर्खाहरुले अंगाल्दै आएको माछा मार्ने पेशा अहिले खोलामा पानी बेला बेलामा सुक्दा माछा पाउनै छाडेको ढाल बहादुर माझीले बताउनु भयो । जलविद्युत आयोजनाले गर्दा एकातिर खोला सुक्ने र अर्कातिर करेन्ट लगाएर माछा मार्नले खोलामा माछा पाउनै छाडेको माझीले गुनासो सुनाउनु भयो ।
ढाल बहादुर माझी जस्तै कल्याणी माझीको जीविकोपार्जन पनि वर्षौदेखि यही माछा मारेर चल्ने गरेको छ । खोलामा करेन्ट लगाएर माछा मार्नले अहिले माछा पाइन छोडेको छ । कहिलेकाही १२ घण्टासम्म खोला सुक्ने गर्छ । जसले गर्दा माछाका भुराहरु अलपत्र परेर मर्ने र भनेजस्तो माछा पाउन छोडेको कल्याणी माझीले बताउनु भयो । माझी समुदायले पुर्खौदेखि लहरीबाट माछा मार्ने गर्छन् ।
दैनिक माछा मारेर घर खर्च टार्दै आएका छन् कल्याणी माझी बालबालिकाहरुको लुगाफाटा, कपि कलम र चाडपर्व मनाउन पनि यही माछाको भर पर्ने गरेको बताउँनु हुन्छ । दैनिक मारेको माछा कहिले चरिकोट लगेर बेच्ने र कहिले घरमै किन्न आउनेहरु विक्रि गरिने कृष्ण माझीले बताउनु भयो । मासिक दुई हजार पच्चीस सयको बिक्री गर्ने गर्छन् । अहिले पनि लहरीबाट माछा मार्दै आएका छन् ।
यस माझी बस्तीमा ३५० घरधुरी रहेको छ । अहिलेसम्म एक जना नेपाल प्रहरी मा सरकारी जागिर बाहेक कोही छैनन् । आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्न नसकेको कल्याणी माझीले बताउनु भयो । बढीमा कक्षा १२ सम्म पढेका २,३ जना बाहेक कोही छैनन् । खेतीपातीबाट भनेजत्तिको उत्पादन हुँदैन । कुनै वर्ष त दुई महिना मात्र खान पुग्ने गर्छ आफूले उत्पादन गरेको अन्नले । छिमेकीको ज्यालादारी गरेर बाँकी महिना गुर्जानु पर्छ । अहिले पनि ज्यालादारीमा विभेद छ । छोरा मान्छेलाई ५०० र छोरीलाई ४०० रुपैयाँ ज्याला पाइन्छ । दिनभर काम गर्दा पनि बराबरी ज्याला छैन् ।