चरिकोट, ३० कार्तिक
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुन ४ दिन बाँकी छ । उम्मेदवारहरु भोट माग्न अहिले गाउँ गाउँमा पुगेका छन् । गाउँको अवस्था देख्ने बित्तिकै आवश्यकता अनुसार व्यवस्था गरिदिने आश्वासन दिने तर चुनाव पछि गाउँमै नर्फकने हाम्रा नेताहरुको विशेषता हो । हुन पनि हो चुनाव हार्ने त त्यस ठाउँमा पुुग्दैनन् नै जितेकाहरु नाक मुख नदेख्दा नपार्दा मतदाता उम्मेदवारहरुको झुटो आश्वासनप्रति रुष्ट छन् ।
दोलखा शैलुुङ गाउँपालिका वडा नं. ३ मनगाउँकी शिवमाया कार्कीले पटक पटक भोट दिएर जिताएकाहरुले अहिलेसम्म बाटो नबनाईदिदा अहिले आक्रोसित बन्नु भएको छ । कृषकले दुख गरेर तरकारी उत्पादन गरेका हुन्छन् तर निर्यात गर्ने बेला बाटोकै कारण बारीमै कुहेको गरेको वहाँ गुनासो सुनाउनु हुन्छ । यसपाली मात्र १२ बोरा मूला बाटोमै फाल्नु परेको गुनासो सुनाउनु भयो लक्ष्मी श्रेष्ठले । बर्खामा गाडीले लानै मान्दैनन् । बल्लतल्ल गाडीमा हालेको तरकारी बीच बाटोमा गाडी बिक्रेपछि त्यही छोडिदिन्छन् । हप्तौसम्म गाडि रोकिदा तरकारीहरु सबै कुहिने गरेको स्थानीय किसान लक्ष्मी श्रेष्ठले बताउनु भयो ।
शैलुङको ढुंगे, मनगाउँ, झोरमानेमा किसानहरुले बन्दकोपी, फूलकोपी, आलु, मूला, गाँजर प्रशस्तै मात्रमा उत्पादन गर्दै आएका छन् । तर निर्यात गर्ने समयमा बाटो र हिलाम्मे हुँदा लाखौको तरकारी बारीमै कुहिने गर्छ । नेताहरु चुनावमा मात्र भोट माग्न आउने र बाटो राम्रो बनाई दिने आश्वासन बाँड्ने गरेको गुनासो स्थानीयको छ । यसअघि पनि भोट माग्न आउँदा बाटो, खानेपानी, मल, बीउको व्यवस्था गरिदिने भनेर भोट हालेको तर जितेर गएपछि नफर्केको गुनासो लक्ष्मी श्रेष्ठको छ ।
अहिले ढुंगे, मनगाउँ र झोरमानेबाट काउली निर्यात गरिरहेका छन् । तर बाटोको कारण देखाउदै दुवानी महङ्गो पर्ने गरेको पूर्ण बहादुर खड्काले बताउनुु भयो । ढुंगेबाट काठमाडौ पुर्याउदा हिउँमा दुई रुपैयाँ प्रति केजी लिने गरेकोमा वर्षायाममा १० रुपैयाँ लिने गरेका छन् । सडक वर्षौ भईसक्यो तर पटक पटक निर्माण कम्पनीले धोका दिंदा पाँच वर्षमा ४० प्रतिशत काम पनि बन्न नसकेको पूर्ण बहादुर खड्काले बताउनुु भयो । बाटोकै कारण किसानले उमारेको तरकारी बारीमै कुहाउनुु परेको छ । समयमा काठमाडौ पठाउन नसक्दा बारीमै तरकारी खेर जाने गरेको खड्काले बताउनुु भयो । वर्षमा एक जनाले किसानले न्यूनतम ६/७ लाखको आलु बेच्ने गरेका छन् । त्यस्तै काउली न्यूनतम पाँच लाखको बेच्ने गरेका छन् । यी उत्पादित तरकारीहरु समयमा काठमाडौ पुर्याउन नसक्दा बारीमै कुहिने गरेको पूर्ण बहादुर खड्काले बताउनु भयो । शैलुङ ३ मा मात्र लगभग चार सय घरधुरीले तरकारी उत्पादन गर्दै आएका छन् ।
किसानको समस्यालाई ध्यानमा राखेर सडक मर्मत संम्भार गर्ने शैलुङ ३ का वडाअध्यक्ष वीर बहादुर तामाङले बताउनु भयो । यस वर्ष सडक मर्मत गर्नुको साथै माटो परीक्षण गरेर किसानलाई प्रोत्साहन गर्ने योजना रहेको वडाअध्यक्ष तामाङले बताउनुुभयो । किसानलाई अत्यावश्यक पर्ने बीउ, मलको समेत व्यवस्था गर्ने वडाअध्यक्ष तामाङले बताउनुु भयो ।