चरिकोट, ७ मंसिर
उमेरले २७ वर्ष पार गर्दै छ, यो युवा उमेरमै सोविता गौतम प्रतिनिधि सभा सदस्य बनेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य सोविता गौतम तामाकोशी गाउँपालिका वडा नं. ३ जफेकी हुन् । उनी २०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी हुन् ।
उनी टेलिभिजन कार्यक्रम प्रस्तोता र निर्माता पनि हुन् । गौतमले त्रिभुवन विश्वविद्यालयको नेसनल ल कलेजबाट कानुन विषयमा स्नातक गरेकी छन् । उनले कानुन व्यवसायीको साथै पत्रकारिता क्षेत्रमा समेत काम गरेकी छन् । काठमाडौं क्षेत्र न. २ बाट विजयी बनेकी गौतमको विजयले नेपालको राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने राजनीतिक वृत्तमा टिप्पणी सुनिन थालेको छ ।
विजयपछि गौतमले जनता कुनै पार्टीको दास होइन, स्वतन्त्र नागरिक हुन् भनेर अभिव्यक्ति दिएकी छन् । काठमाडौ क्षेत्र नं. २ मा धेरै समस्याहरु छन् । ती समस्याहरुमध्ये मुख्य खानेपानी हो । त्यसैले खानेपानीको समस्या हल गरेपछि कृषि, सडक, ढल व्यवस्थापन लगायतको विकास निर्माणमा लाग्ने गौतमले बताउनुु भयो । त्यस्तै गौतमले जनताले जित नभएर जिम्मेवारी सुम्पिएको बताएकी छन् ।
बुधबार दिउँसो मतदातालाई धन्यवाद दिँदै उनले काठमाडौं क्षेत्र नम्बर २ ले फेरि इतिहास रचेको बताइन् । ‘हिजो उम्मेदवारी दिँदा मसँग मेरो परिवारको मात्रै साथ थियो । आज मेरो परिवारमा काठमाडौं–२ का मतदाता पनि जोडिनुभएको छ । मलाई तपाईंहरूले जित होइन जिम्मेवारी दिनुभएको छ । तपाईंहरूको सपना म पूरा गर्नेछु,’ उनले पत्रकार सम्मेलनमा भनिन् ।
काठमाडौ क्षेत्र नं. २ सबैको चासोको क्षेत्र मानिएको थियो । किन कि ‘यो क्षेत्रबाट निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति हुनु भयो । माधवकुमार नेपाल प्रधानमन्त्री हुनु भयो । यसपटक सबैभन्दा कान्छो र महिला उम्मेदवार चयन गरेर इतिहास कायम गरेको छ,’ उनले भनिन् । मतदाताको सपना र आशा पूरा गर्न आफू सधैँ अग्रसर हुने उनको प्रतिवद्धता छ । गौतम १५ हजार २ सय २९ मतसहित निर्वाचित भएकी हुन् ।
गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा रहँदै ९ हजार ४ सय ४८ मत ल्याएकी थिईन् ।