चरिकोट, १५ माघ
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा रहेको श्री सत्यश्वर माध्यमिक विद्यालयले साप्ताहिक रुपमा आफ्नो ६४ औं स्थापना दिवस मनाउन लागेको छ ।
यहि माघ १४ गते देखि २० गते शुक्रबार सम्म विद्यालयमा नियमित पठनपाठन सँगसँगै विविध साँस्कृतिक तथा अतिरिक्त क्रियाकलाप गरेर ७ दिनमा स्थापना दिवस समापन गरिने विद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद उप्रेतीले जानकारी दिनुभयो । विक्रम संवत् २०१६ साल माघ १४ गते साविक पवटी गाविस वडा नम्बर ९ निवासी शिक्षाप्रेमी शिक्षाप्रेमी बालकृष्ण आचार्यले स्थापना गर्नुभएको सत्यश्वर माविले आफ्नो ६३औं वर्ष पार गरि ६४ औं वर्षमा प्रवेश गरेको छ ।
विद्यालय स्थापना दिवसको पहिलो दिन विद्यालयले छुट्टयाएको सदन,सदन अनुसार छात्रछात्रा बीचमा वक्तृत्व कला,१००,२०० र ४०० मिटरको दौड प्रतियोगिता ,कक्षा १ देखि ५ सम्मका छात्रछात्रा बीच बेलुन फुटाउने रमाइलो खेलको आयोजना गर्नुको साथै खेल खेल्न इच्छुक अभिभावकहरु लाई म्युजिकल चियर खेल खेलाएको थियो ।
विद्यालयले आयोजना गरेको विभिन्न क्रियाकलापमा पहिलो,दोस्रो,तेस्रो र सान्त्वना प्राप्त गर्ने सदन,छात्रछात्रा तथा अभिभावक हरुलाई स्थापना दिवसको समापनको दिन पुरस्कार वितरण गरिने विदयालयका शिक्षक बद्री खत्रीले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपिलमणी न्यौपानेको अध्यक्षता तथा संस्थापक बालकृष्ण आचार्यको प्रमुख आतिथ्यतामा संचालन भएको उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक ९२ वर्षिय वृद्ध बालकृष्ण आचार्यले पानसमा बत्ती बालेर र कार्यक्रमको व्यानर खोलेर उदघाटन गर्नुभएको थियो।
स्थापना दिवसको उद्घाटन कार्यक्रममा विद्यालयका संस्थापक एवम शिक्षा प्रेमी आचार्यलाई विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको छ । स्थापना दिवसको उद्घाटन कार्यक्रममा विभिन्न राजनीति दलका स्थानीय नेताहरु ,स्थानिय संघसंस्थाका प्रतिनिधिहरु,विद्यालयका पुर्व शिक्षकहरु र अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।