चरिकोट १९ फागुन
मेला र महोत्सव भन्ने बित्तिकै हामी खानपान, गीत संगीत र नाचगान जस्ता रमाइलोलाई सम्झन्छौं । मेला महोत्सवमा हुन्छ पनि यस्तै तर दोलखा सदरमुकाम चरिकोटमा शुक्रबारबाट सुरु भएको दोलखा महोत्सवमा भने विज्ञान तथा प्रविधिको विषयमा हेर्ने र केही सिक्ने बुझ्ने मौका पनि मिल्ने भएको छ । अनि यो अवसर जुटाएको हो – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) खुमलटारले विज्ञान र प्रविधिका बारेमा जानकारी दिन दोलखा महोत्सबमा प्रर्दशनी सुरु गरेको छ । जसको नेतृत्व गर्नु भएको नास्टका प्रमुख डा. रविन्द्र प्रसाद ढकालले । ढकालको नेतृत्वमा ५ जनाको समुह दोलखा आएको छ ।
कला, संस्कृति जस्तै विज्ञान र प्रविधि पनि एक अभिन्न अंग हो र विज्ञान तथा प्रविधिका विविध पक्षहरुलाई सुसूचित पार्ने, प्रशिक्षण गर्ने, नास्टका विविध गतिविधिहरु मथि प्रकाश पार्नुका साथै नागरिकहरुको विज्ञान तथा प्रविधिप्रतिको चासो र अभिरुचि वढाउने नै मूख्य उद्देश्यका साथ महोत्सवमा भाग लिएको नास्टका प्रमुख डा. रवीन्द्र ढकालले जानकारी दिनु भयो ।
उहाँका अनुसार अभियानलाई प्रभावकारी बनाउन कोरियन सरकारको आर्थिक सहयोग, नास्टको प्रस्ताव, सञ्चालन विधि र वनावटबाट निर्मित आधुनिक उपकरणहरुले सम्पन्न तालिम कक्षको रुपमा प्रयोग गर्न सकिने आइटी बस उपयोग गरिने छ । यो बस सूचना पहँच केन्द्र सन् २०२२ को उत्कृष्ट केन्द्रको रुपमा कोरियन सरकारको विज्ञान तथा सूचना सञ्चार मन्त्रालयले घोषणा गरी पुरस्कृत गरि सकेको छ ।
बसमा एक पटकमा २० जना प्रशिक्षार्थीहरुलाई आइटी सम्वन्धी विभिन्न अभिमुखिकरण तथा तालिम गर्न सकिने भएकाले यस महोत्सवमा सहभागी सर्व साधारणलाई आवश्यकता अनुसार १५ देखी २० मिनेटको समयमा प्रशिक्षण दिने कार्यक्रम रहेको उहाँले बताउनु भयो ।
यो कार्यक्रम २१ गते सम्म यस महोत्सवमाा रहने हंँदा उद्यमी, विद्यार्थी, शिक्षक, पत्रकार, कृषक, कर्मचारीहरुलाई सहभागी हुन आह्वान गर्दछौँ । उहाँले भन्नु भयो, आइटी बसभित्र आइटी सावधानी, साइवर सुरक्षा तथा तथा सूचना प्रविधिसँग समसामयिक विषयहरु समावेस रहेका छन् ।
मुलुकभरका विद्यालयका विज्ञान शिक्षकहरुलाई आइटी सम्बन्धी तालिम दिने लास्टले सोचेको छ । यसले विद्यार्थी समेतले जानकारी पाउने अपेक्षा राखिएको पनि उहाँले स्पष्ट पार्नु भयो ।