दोलखाको भीमेश्वर नरपालिकाको वडा २ मा दुई दिने सोक्ला रक क्लाईम्विङ आयोजना गरिएको छ । यस सोक्ला गाउँको प्रचारप्रसार र महत्व दर्शाउनको लागि जेठ १८ र १९ गते सोक्ला रक क्लाईम्विङ महोत्सव आयोजना गर्न लागेको हो । सोक्ला गाउँ सदरमुकाम चरिकोटबाट करिव ८ किलोमिटरको दुरीमा पर्दछ ।
कृषि मुख्य पेशा क्षेत्र रहेको यस ठाउँमा सम्भावनाको आधारहरु थुप्रै छन् । विशेषगरी कृषि पर्यटनसँगै, इको पर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरीशकर श्रृंखलाको दृश्य अवलोकन गन्तव्य र धार्मिक अध्ययन अनुसन्धानका लागि पनि यो क्षेत्र प्रसिद्ध मानिन्छ ।
यहाँ सत्य युगमा तामाकोशीलाई रोकेर ताल बनाउनका लागि कालिञ्चोक क्षेत्रबाट आएका डिलढुंगाहरु अहिले पनि इतिहास भएर उभिएका छन् । यस्ता ऐतिहासिक तथा पौराणिक कथाहरु थुप्रै छन् । वन झाँक्री बस्ने गुफादेखि सोक्लाश्वर महादेवसम्मको कथाहरु साक्षी छन् । माघ १ गते बाघ नुहाउने ढुंगेधारादेखि गुमडाँडा पर्वतसम्मको किंवदन्ती र नागबेली तामाकोशीको सुन्दरता हेर्न सकिन्छ ।
प्राकृतिक, सांस्कृतिक र धार्मिक किंवन्दतीसँगै साहसिक पर्यटनका विभिन्न पाटाहरुले सुसजित ठाउँ हो, ‘सोक्ला भ्याली गाउँ’ । सोक्ला भ्यालीभित्र गङरास, चक्पा, डिलढुंगा, फूलपा, नेगल, डाँडागाउँ, खेलाप र नागदह क्षेत्र पर्दछ । यो क्षेत्रमा फरक फरक जातिका समुदायहरु बस्दै आएका छन् । तामाङ समुदायको बाक्लो उपस्थिति रहेको यस क्षेत्रमा थामी, क्षेत्री बाहुन, नेवार, दलित, मगर जाति रहेका छन् । यहाँ बसोबास गर्ने आदिवासी जनजातिहरुको आफ्नै भाषा, मौलिक संस्कृति र परम्पराहरु रहेका छन् । यद्यपी यहाँ सामाजिक सहकार्य, धार्मिक सहिष्नुता र आपसी मेलमिलाप सोक्ला भ्यालीको विशेषता रहेको सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रीनले बताउनु भयो ।
कार्यक्रमका उदेश्य
भीमेश्वर नगरपालिका आफैमा धार्मिक पर्यटकीय गन्तव्य हो । जहाँ भीमेश्वको महिमा र गरिमासहितको प्रतिमूर्ति हेर्न सकिन्छ । देशलाई आफ्नो पसिनाबाट शुभ र अशुभ तिर लैजान सक्ने संकेत दिन सक्ने शक्तिशाली धार्मिक तिर्थस्थल भीमेश्वर नै हो । यस्ता धार्मिक तिर्थस्थल भीमेश्वर नगरपालिका २ भित्र पर्दछ । यही वडाको अर्को प्राकृतिक सुन्दरताले भरिएको ठाउँ हो, सोक्ला भ्याली ।
प्राकृतिक र साहसिक पर्यटनका लागि यो जिल्लाकै अर्को नमुना पर्यटकीय गन्तव्य हो । यस क्षेत्रमा रक क्लाविङ, वाल क्लाविङ, प्याराग्लाडिङ, साइक्लिङ र नागदहदेखि सोक्लाभ्यालीसम्म ¥याफ्टिङ गर्न सकिन्छ । यस्ता साहसिक पर्यटकीय गतिविधिले यस क्षेत्रको समृद्धि र विकास छिटै रुपान्तरण गर्न सकिन्छ ।
यहाँ सोक्लाश्वरी पर्यटन विकास समाजले रक क्लाईम्विङको सम्भावनाको अध्ययन, प्रारम्भिक रुट निर्माणसँगै रक क्लाईम्विङको परिक्षण गरिसकेको छ । साथै सो क्षेत्रमा भीमेश्वर नगरपालिकाका विपद व्यवस्थापन तथा साहसिक पर्यटन प्रवद्र्धक थीर बहादुर खड्का र शिव खड्काको समूहले रक क्लाईम्विङ गरिसकेका थियो ।
४०० मिटर उचाईमा रहेको सोक्लाको भीरमा हुने रक क्लाईम्विङले यहाँको ग्रामीण विकास, सडक सञ्जालको स्तरउन्नती, ग्रामीण पर्यटन प्रवद्र्धन, होमस्टेको अवधारणाको विकास गर्ने । स्थानीयमा आत्मानिभर तथा हुने अर्गानिक उत्पानमा समेत टेवा पुग्ने आशा आयोजकले लिएको छ ।