केही दिन विदा हुने बित्तिकै घुम्न जाने योजना बनाउछन् । अधिकांशले विदामा मात्र घुम्न जाने होईन, विदा मिलाएर घुम्ने बानी थालेका छन् । पहिला पहिला फुर्सदमा मात्र घुम्ने मान्छेहरु अहिले फुर्सद मिलाएर घुम्ने गर्छन । विदेशीहरु मात्र घुम्ने हो भन्ने बुझाई थियो नेपालीको । तर अहिले पहिला देश, अनि विदेश भन्न थालेका छन् घुम्नलाई ।
घुम्नलाई अहिले टाढा जानुपर्दैन । आफ्नै वडा, गाउँ, शहर, बजार सबैतिर घुम्ने वातावरण बनेको छ । सामाजिक सञ्जालको लागि पनि नयाँ नयाँ ठाउँको फोटो भिडियो आवश्यक पर्न सक्छ । दर्शक, स्रोताको लागि नयाँ ठाउँको फोटो, भिडियोले नयाँ उत्साह, जाँगर, बुझाई, सिकाई सिकाउछ । आफूले देखेको र हेरेको जत्ति स्वाद आउछ अरुले सुनाएको फिक्का हुन्छ । आफ्नो ठाउँको बारेमा खासै महत्व हुँदैन । त्यत्ति धेरै महत्व दिदैनौ पनि । तर नयाँ ठाउँमा पुग्ने बित्तिकै त्यस्तै ठाउँ, त्यस्तै वस्तु नयाँ र फरक देख्ने हाम्रो बानी छ । कतिपयले एक पटक पुग्ने बित्तिकै सबैलाई त्यही कथा सुनाई रहेको हुन्छ । समय, मौसम अनुसार फरक देखिन्छ हुन्छ भन्ने बुझाई हामी गर्दैनौ ।
दोलखाको सन्दर्भमा धेरै ठाउँहरु घुम्न लायकको छ । अझ सम्बन्धित निकायले रेकर्ड उतार्ने, राख्ने हो भने यस वर्ष च्छोरोल्पा, कालिञ्चोक, शैलुङ, जिरी, विगु गुम्बा, लामाबगर, लाप्चीमा हजारौं पुगेका छन् । कतिपयलाई जाने रहर हुँदाहुँदै पनि त्यस ठाउँको बारेमा पूर्ण जानकारी नभएकै कारण छुटेका छन् । कतियलाई दोलखामा घुम्ने ठाउँ कहाँ कहाँ छन् र कहाँबाट कसरी पुग्न सकिन्छ भन्ने जानकारी, सूचना नभएकै कारण पनि छुटेका छन् । दोलखाको घुम्न लायकको केही ठाउँहरु ।
च्छोरोल्पा
गौरीशंकर गाउँपालिका वडा नं. ९ स्थित पर्दछ च्छोरोल्पा । पुस र माघ महिना बाहेक सबै सिजन उपयुक्त हो । फरक फरक सिजनमा फरक फरक दृश्यावलोकन गर्न पाईन्छ । प्राकृतिक सुन्दरताको साथै वन्यजन्तु हेर्नको लागि पनि यस ठाउँ उपयुक्त मानिन्छ ।
कालिञ्चोक
काठमाडौबाट नजिक भएकाले पनि कालिञ्चोक धेरैको गन्तव्य बन्न सकेको हो । धार्मिक र प्राकृतिक रुपमा पनि सुन्दर रहेकोले धेरैको रोजाई पर्नु स्वभाविक हो । युवा पुस्ता बढी मात्रमा कालिञ्चोक घुम्न रुचाउछन् । कालिञ्चोकमा हिउँ पर्दा अझ बढी मात्रमा घुम्नलाई उपयुक्त मानिन्छ ।
शैलुङ
दोलखा र रामेछापको सिमाना पर्ने शैलुङ पछिल्लो अवस्थामा नयाँ नयाँ गतिविधिको कारण पर्यटक बढ्न थालेका छन् । यस ठाउँमा म्यूजिक भिडियो र फिल्म सुटिङ गर्न थालेपछि अझ बढी पर्यटक पुग्ने गरेका छन् । शैलुङ गाउँपालिकाले बस्न र खानाको लागि कालापानीमा होटल, लजको व्यवस्था गरेको हुनाले बढी मात्रमा दोलखाबाट जाने गरेका छन् । कालापानीबाट शैलुङ पुग्नको लागि निर्माणधीन ग्रेटवाल हेर्नको लागि पनि अझ शैलुङ जाने संख्यामा वृद्धि आएको छ ।
जिरी
दोलखा ओर्लिने बित्तिकै जिरी घुम्ने योजना बुन्थ्यो पहिला । दोलखाको घुम्ने ठाउँको बारेमा त्यत्ति चर्चा नभएकै कारण जिरी उपयुक्त मानिन्थ्यो । अन्य ठाउँमा होटल, लजको व्यवस्था नभएकै कारण पनि जिरी छनोटमा पर्नु स्वभाविक हो । जिरीको आफ्नै विशेषता र सुन्दरता भएको कारण पनि जिरी रुचाउछन् स्वदेशी र विदेशी पर्यटकले । अहिले धेरै संरचनाहरु निर्माण गरेको कारणले पनि जिरी घुम्न जानेको संख्यामा कुनै कमि आएको छैन । जिरीबाट चर्दुङ, स्टोनपार्क लगायतका ठाउँहरुमा घुम्न सकिन्छ ।
लाप्ची
धार्मिक पर्यटक मात्र होइन, अन्य व्यक्तिले पनि लाप्ची रुचाउछन् । आवातजावतमा कठिनाई भएकाले पछिल्लो समय अलि घुम्न जानेमा कमि आएको छ । तर लाप्चीको गुम्बामा दर्शन गर्न जाने मात्र होइन, ३ महिना, ६ महिना र ३ वर्षसम्म पनि ध्यान गर्न जानेहरु प्रशस्तै छन् । अझ विदेशीहले बढी मात्रमा रुचाउछन् लाप्ची ।
विगु
विगु भन्ने बित्तिकै सबैको बुझाई गुम्बासँग जोडिएको हुन्छ । नेपालकै पुराना गुम्बामध्येमा पर्ने भएकाले पनि जोकोही पुग्ने गर्छन विगु । यहाँबाट देउढुंगा र ढुंगाखानीमा पनि जान सकिन्छ । यस क्षेत्रमा बढी मात्रमा थामी र शेर्पा समुदायको बसोबास रहेको छ ।
सोत्तलीडाँडा
गौरीशंकर गाउँपालिका वडा नं. ८ खारेमा पर्दछ सोत्तलीडाँडा । त्यत्ति चर्चामा नआए तापनि सोत्तलीडाँडाबाट गौरीशंकर हिमाललाई नजिकैबाट चुम्न सकिन्छ । यहाँबाट दोलखाको अधिकांश भूभाग राम्ररी नियाल्न सकिन्छ । पछिल्लो समय युवाहरु एक रात यही सोत्तलीडाँडामा बिताएर सनराईज र सनसेट नियाल्ने गर्छन । यहाँबाट जिरी र वेदिङ जाने मार्ग निर्माण गरेका छन् ।