कार्यकक्षमा प्रवेश गरेपछि एकपटक सबै सामानहरु नियाल्छन् थीर बहादुर खड्का । कुन उपकरण कत्तिखेर चाहिन्छ र तुरुन्तै झिकेर हिडि हाल्नुपर्छ थाहा हुँदैन । एउटा सानो कोठाभित्र विपदको समयमा चाहिने सबै खालका सामग्रीहरु मिलाएर राखेका छन् उनले । प्राथमिकताको आधारमा खोजेको समयमा छिनभरमै सामानहरु भेट्ने गरी मिलाएर राखेका छन् ।
भीमेश्वर नगरपालिकाले दुई वर्षअघि विपद जोखिम न्यूनिकरणको लागि नगर आपतकालिन कार्य सञ्चालन केन्द्र (एमईओसी) स्थापना गरिएको छ । केन्द्र स्थापना सँगसँगै सोही केन्द्रमा थीर बहादुर खड्काले कार्यभार सम्हालेको पनि दुई वर्ष पुग्नै लागेको छ । यसअवधिमा भीमेश्वर नगरपालिकामा आईपर्ने जस्तोसुकै विपदजन्य घटनाहरुको सामना गर्न र खोज उद्धारको लागि चाहिने अधिकांश सामग्रीहरु यस केन्द्रमा राख्ने कोशिस गरिएको छ । युनएनडिपी र तयार नेपालको आर्थिक तथा भौतिक सहयोगमा स्थापना गरिएको एमईओसीमा आगलागी, बाढीपहिरो, भूकम्प, चट्याङजस्ता विपदमा यहाँ राखिएको सामग्री र तालिम प्राप्त जनशक्तिले विपद जोखिम न्यूनिकरण र उद्धारको लागि सहयोग पुग्ने छ । तयार नेपालले केन्द्र स्थापनाको लागि आर्थिक तथा सामग्री सहयोग गर्नुको साथै अहिले पनि वार्षिकरुपमा आवश्यक सामग्रीहरु र दक्ष जनशक्ति उत्पादनको लागि तालिम प्रदान गर्दै आएको छ । दुई वर्षको अवधिमा आफू सक्षम र दक्ष हुने अनि एमईओसीलाई चाहिने सामग्रीहरुको व्यवस्थापन गर्ने कार्यमा खड्काको समय बित्यो । उनले यस अवधिमा नगर आपतकालिन कार्य सञ्चालन केन्द्रलाई व्यवस्थित गर्नुको साथै विपद सम्बन्धी आधारभूतदेखि एड्भान्स तालिमहरु समेत लिएका छन् । विपद् सम्बन्धी कानुनी प्रावधानहरुको बारेमा पनि जानकारी चाहिने भएकाले आधारभूत तालिम लिनुको साथै फिल्डमा कसरी उत्रिने कमभन्दा कम जोखिम घटाउन सकिन्छ यस बारेमा पनि तालिम लिएका छन् । यी सबै तालिम लिएका कारण र फिल्डमै उत्रेका हुनाले नेपाल स्काउट विपद तालिम प्रशिक्षक बन्न सफल भएका छन् ।
नगरपालिकाको मूल गेट छिर्ने बित्तिकै दाँयापट्टि भित्री एउटा कोठामा केन्द्र सञ्चालनमा छ । त्यसभित्र छिर्ने बित्तिकै जस्तोसुकै विपदमा पनि समाधान गर्न सकिन्छ भन्ने आशा जगाउछ । भित्ताभरि विपद् जोखिम सम्बन्धी चेतनामूलक सामग्रीहरु राखेका छन् । एउटा कम्प्यूटरमा पालिकाभरिका रेकर्ड पनि सुरक्षित राखिएका छन् । बेला बेलामा बैठक, छलफलको लागि केही कुर्सी र टेबल पनि बीचमा राखिएका छन् । र्याकमा आफूले खोजेको समयमा तुरुन्त भेटिने गरी सामग्रीहरु मिलाएर राखिएका छन् । दैनिकजसो सामग्रीहरु मिलाउने र घटना विवरणलाई कम्प्यूटरमा इन्ट्री गर्ने कार्यमै उनको समय बित्छ । अहिलेसम्म अतिआवश्यक विपद जोखिमका सामग्रीहरु अग्नी नियन्त्रण यन्त्र, चेन्चु मेशिन, फायर ब्ल्यान्केट, डोरीहरु, कन्सन्ट टेप र फायर सुटलगायतका सामग्रीहरु छन् । केन्द्र स्थापना भएदेखि हालसम्म ३५ वटा आगोलागीको घटनाहरुमा सामग्रीको प्रयोग र जनशक्ति परिचालन भएका छन् । ३५ वटा घटनामा ४ वटा भीमेश्वर नगरपालिका बाहिरका हुन् । यस अवधिमा ३ वटा बाढीपहिरोको घटनामा पनि जनशक्ति परिचालन हुनुको साथै सामग्रीहरु प्रयोग आएको छ ।
विपद जोखिम घटनाहरुमा उद्धार तथा सहयोग गर्नुको साथै मानवबाट हुनसक्ने विपदका घटनाहरुलाई कम गर्न केन्द्रले पूर्वतयारीको लागि बेला बेलामा चेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएका छन् । अहिलेसम्म ग्याँस सिलिण्डर सम्बन्धी गृहणीहरुलाई तालिम, आगलागी हुन नदिनको लागि समुदायस्तरमा तालिम, पेट्रोलपम्प सञ्चालकहरुलाई चेतनामूलक कार्यक्रम, प्लाई उद्योगमा कार्यरत कर्मचारीहरुलाई तालिम, जोखिमयुक्त ठाउँहरुको पहिचान, विद्यार्थीहरुलाई विपद् सम्बन्धी अभिमुखीकरण, सार्वजनिक स्थलहरुमा विपदमा सम्पर्क गर्ने निकाय र फोन नम्बर सहितको सूचना टाँसेका छन् । त्यस्तै पानी मापन गर्ने यन्त्र (रेन्गज) बोसिम्पा र वडा नं. ७ मा राखिएका छन् । लाईटिङ एरेष्टरको लागि चरिघ्याङ, खरिढुंगा र भ्यूटावरमा राखेका छन् । बजार क्षेत्रमा आगोलागी भएमा तत्काल नियन्त्रणमा ल्याउनका लाागि युनडिपीको सहयोगमा भीमेश्वर नगरपालिका र हुराडेक नेपालको समन्वयमा फायर हाइड्रेन्ट राखिएका छन् ।
यसको साथै भीमेश्वर नगरपालिकाले नीतिगत रुपमा पनि विभिन्न कार्य गरेका छन् । २०७६ सालमै नगरपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनको लागि ऐनहरु निर्माण गरेका छन् । विपद जोखिम न्यूनिकरणको लागि नगर आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन कार्यविधि बनाएका छन् । ११ वटा कानुन समेटिएका विपद् सम्बन्धी कार्यविधि दस्तावेज विपद, जोखिम न्यूनिकरणको लागि नगर आपतकालिन कार्य सञ्चालन केन्द्र दस्तावेज तयार गरिसकेको पूर्वाधार विकास शाखाका प्रमुख तथा विपद् व्यवस्थापन सम्पर्क व्यक्ति ईञ्जिनियर सुरेश राउतले बताउनु भयो ।