दोलखा महोत्सवको तयारी पूरा भएको दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । यही पुस १३ देखि २२ गतेसम्म सञ्चालन हुने १० दिने महोत्सवको तयारी पूरा भएको काठमाण्डौमा पत्रकार सम्मेलनमा जानकारी गराएको हो । महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री वितरण तथा प्रवद्र्धन गर्ने गरी १ सय ५० वटा स्टल राखिने दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । स्टलमा विशेष गरी सबै स्थानीय तहहरु, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समुहहरु, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादन सामग्री लगायत प्रदर्शनीका लागि राखिने छ, भने विभिन्न खानाका परिकारहरु स्टलमै उपलब्ध हुनेछ ।
काठमाण्डौबाट नजिकै रहेको बागमती प्रदेशको सुन्दर हिमाली जिल्ला दोलखाले आर्थिक क्रान्तिका आधारहरु तय गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताउनुभयो । महोत्सवले दोलखा जिल्लालाई पर्यटन, कृषि, अन्नबाली र जलस्रोतमा अब्बल जिल्लाका रूपमा सिंगो राष्ट्रमाझ उभ्याउदै आर्थिक विकासमा फड्को मार्ने विश्वास आयोजकको रहेको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गर्ने कायक्रम रहेको छ भने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल, एशोसिएट तर्फका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी, महासंघका केन्द्रीय सदस्यहरु, दोलखाका सांसद, स्थानीय तहका प्रमुख जनप्रतिनिधि, दोलखा जिल्लाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहने छ । दोलखा महोत्सवको दिव्यदृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि’ भन्न नारासहित आयोजना गर्न लागिएको हो । महोत्सवको उद्घाटन समारोहमा दोलखा जिल्लाका विभिन्न जातजाति, भाषाभाषिका कला संस्कृति समेटिएको झाँकी प्रदर्शनका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने छ भने चरिकोट टुडिखेलदेखि भ्यूटावरहँुदै देउरालीसम्म घोडचडी, विभिन्न खेलकुद प्रतियोगिता, विद्यालयस्तरीय प्रतियोगिताहरु सञ्चालन गरिने छ । दोलखालाई लगानीमैत्री जिल्लाका रुपमा विकास गर्ने यस संघको उद्धेश्य रहेको छ । पर्यटन, कला संस्कृति, जलस्रोत तथा कृषि क्षेत्रमा धनी दोलखाको आर्थिक विकास र पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागिरहेको महोत्सव सफल पार्न र दोलखाका चरिकोट बजार, जिरी र पर्यटकीय स्थलहरु दोलखा भीमेश्वर, कालिञ्चोक भगवती, शैलुङ, च्छोरोल्पा हिमताल, विगु गुम्बा, रोल्वालिङ उपत्यका, हनुमन्तेडाँडा, चेर्दुङ लगायतलाई थप प्रचार प्रसारमा सहयोग गर्न सबै समक्ष उद्योग वाणिज्य संघ दोलखाले अपील गरेको छ ।