रक्सी पसलले झैझगडा हुने र उधारो जान थालेपछि लिला मगर तरकारी खेतीमा लागेकी छिन् । विगु गाउँपालिका वडा नं. ५ चिलंखा स्याखुकी लिला मगर अहिले बिहानदेखि बेलुकीसम्मै नजिकैको तरकारी खेतीमा व्यस्त देखिन्छीन् । रक्सी पसल राख्दा अनावश्यक शब्दहरु पनि पचाउनु पर्ने अनि रक्सी धेरै पिउने र उधारो माग्न थालेपछि उनी अहिले तरकारी खेतीमै रमाउन थालेकी छिन् ।
धुलिखेल पुगेर प्यान नम्बर लिनुको साथै कोष तथा लेखा नियन्त्रक कार्यालय चरिकोटमा ३५, ३६ हजार खर्च गरेर मदिरा बिक्री वितरणको लागि अनुमति पत्र लिए तापनि रक्सीले खासै उभो लगाउने चाल नदेखेपछि अहिले उनी तरकारी खेतीमै रमाउन थालेकी छिन् । लाईसेन्स बन्द गर्नको लागि धुलिखेल र चरिकोटमा धाउनु परेको थियो । जत्ति अनुमति पत्र लिंदा खर्च भएको थियो उत्तिनै बन्द गर्न पनि खर्च लागेको लिला मगरले बताइन् । रक्सीले मान्छेको स्वास्थ्यमा खराब बनाउने र पारिवारीक, सामाजिक रुपमा पनि झैझगडा समेत हुने सिविन नेपालको तालिममा जानकारी पाएपछि एक वर्षको अवधिमै लाईसेन्स बन्द गराएको थिईन् । रक्सी पसल हुँदा कहिलेकाही रातिसम्म पनि बस्नुपर्ने, रक्सी खाएर मातेपछि झैझगडा, होहल्ला पनि हुने भएपछि उनले रक्सी पसल नराख्ने निधो गरेकी थिईन् ।
उनले अहिले गाउँमा काउली, गोलभेडा, आुल, बन्दकोपी, साग, मुला खेती सुरु गरेको ५,६ वर्ष भईसक्यो । उत्पादन गरेका तरकारी गाउँमै पनि बिक्री हुने गर्छ । बढी उत्पादन भएका बेला साङ्बा बजार, सिंगटी बजारमा लगेर बिक्री गर्ने गरेकी छिन् । ताजा तरकारी भएकाले बजारबाट आयत गरेका भन्दा गाउँमा उत्पादन गरेका तरकारी बढी बिक्री हुने गरेको लिला मगरले बताईन् ।
रक्सी पसल हुँदा मान्छेले रक्सी खाएर झैझगडा गर्न थालेपछि कालिञ्चोक गाउँपालिका वडा नं. २ बाबरेका रमेश पाण्डेले पनि रक्सी पसल राख्न छाडेका छन् । उनले पनि रक्सी पसल राख्दा घरको कामनै बिर्सेर रक्सी खाएर बस्ने, सामाजिक र पारीवारिक रुपमा झैझगडा बढ्न थालेपछि रक्सी राख्न छाडेका हुन् । सिविन नेपालले आयोजना गरिएको मदिरा सेवनले स्वास्थ्य र समुदायमा पार्ने प्रभावको बारेमा प्रशिक्षण लिएका थिए । रक्सी सेवनले स्वास्थ्य र समुदायमा नकारात्मक प्रभाव पार्ने जानकारी पाएपछि आफूले पसलमा राखेको रक्सी हटाएर फेन्सी लगायतको सामान राखिएको पाण्डेले बताउनु भयो । अहिले ग्राहकमा कमि आए तापनि राम्रा र रक्सी नखाने ग्राहक मात्र आउने गरेको पाण्डेले बताउनु भयो ।
रक्सी पसल राख्दा रक्सी खाएर बढी नै हल्ला र उधारो पनि जान थालेपछि लामिडाँडा ४ का सिता पोखरेलले पनि रक्सी पसल राख्न छाडेकी छिन् । पसल राखेको ६ वर्ष भयो तर सिविन नेपालकै कार्यक्रममा रक्सी सेवनले स्वास्थ्य र समुदायमा नकारात्मक प्रभाव पार्ने जानकारी पाएपछि रक्सी पसल राख्न छाडेको १ वर्ष भई सक्यो । रक्सी पसल हुँदा रक्सी खाएर अबेरसम्म गफ गरेर बस्ने, हल्ला गर्ने र समुदायमै नकारात्मक कुरा बढी फैलिने भएकाले रक्सी पसल राख्न छाडेका हुन् । रक्सी पसल हुँदा कहिलेकाही हप्तामै एक ट्रक सामान बिक्री हुने गरेको थियो । रक्सी किन्नेले अरु सामान पनि किनेर लाने गर्थे । अहिले राम्रा र रक्सी नखाने ग्राहक मात्र आउने गरेको सीता पोखरेलले बताईन् ।
मदिरा सेवनले समुदाय र विकास निर्माणमा प्रभाव पार्ने भएकाले सिविन नेपालले अभियान सञ्चालन गरेको सिविन नेपाल दोलखाका शिक्षा तथा सामाजिक अधिकृत विष्णु सुवेदीले बताउनु भयो । सिविनका कार्यक्षेत्र विगु र कालिञ्चोकका ९ वटा वडामा मदिरा सेवन न्यूनिकरण अभियान सञ्चालन गरिरहेका र सफल हुँदै गएको सुवेदीले बताउनु भयो ।