जिरी लिंकन बजारमा रहेको लेकाली उपज कोसेली घरमा बढी चीजको खोजी हुने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटकहरुले कोेसेलीको रुपमा बढी मात्रामा चौरीको चीज खोजी गरेको कोसेली घर सञ्चालक दिपक कुमार बस्नेतले बताउनु भयो ।
जिरीमा उत्पादित चौरीको चीज बढी मात्रमा परिचित छ । जिरी घुम्न आएका अधिकांश पर्यटकहरुले कोसेलीको रुपमा चौरीको चीज लाने गर्दछन् । जिरी चीज फ्याक्ट्रीमा उत्पादन गर्ने भएकाले अन्य ठाउँको भन्दा फरक स्वाद पाईन्छ । यस लेकाली उपज कोसेली घरमा मासिक १५ केजीभन्दा बढी चीज बिक्री हुने गर्छ । चीज प्रतिकेजी दुई हजार दुई सय रुपैयाँ पर्दछ ।
जिरीकै पहिचाननै चीज र छुर्पी भएकाले दिपक कुमारले निजी लगानीमा कोसेली घर सञ्चालनमा ल्याएका हुन् । जिरीमा बस्नेत लगायत अन्य ३ वटा पसलले पनि चीज र छुर्पी बिक्री गर्ने गर्छन् । जिरीबाट मात्र एक सिजनमा १५ हजार केजीभन्दा बढी चीज र छुर्पी निर्यात हुने गर्दछ । चीजको साथै छुर्पी पनि त्यत्तिकै खोजी गर्ने गर्दछन् । छुर्पी प्रतिकेजी एक हजार दुई सय पर्दछ ।
यस लेकाली उपज कोसेली घरमा अन्य अर्गानिक उत्पादनहरु पनि राखिएका छन् । जिरी नगरपालिका लगायत रामेछापबाट समेत अर्गानिक वस्तुहरु राखिएको सञ्चालक बस्नेतले बताउनु भयो । यहाँ कोदोको पीठो, घ्यू, सिस्नुको पीठो, फापर, भीर मह, टिमुर, किवी, मकै, ठूलो सिमी, रातो च्याउ, खुर्सानी, सिलाम, किवी र हाडे बदाम राखिएका छन् ।
दोलखा आएका पर्यटकहरु एक पटक जिरी पुगेकै हुन्छन् । यस कोसेली घरमा स्थानीय अर्गानिक उत्पादन पाईने भएकाले कोसेलीको रुपमा चीज, छुर्पी लगायतका वस्तुहरु लाने कोसेली घर सञ्चालक बस्नेतले बताउनु भयो ।