किसानले उत्पादन गरेका ताजा फलफूल, तरकारी तथा खाद्यन्न बिक्री वितरणको लागि सुनखानीमा हाटबजार सञ्चालन गरिएको छ । कालिञ्चोक गाउँपालिका वडा नं. ८ सुनखानी मिलडाँडामा आजदेखि हाटबजार सञ्चालनमा ल्याएको हो ।
हाम्रो साना किसान कृषि सहकारी संस्था सुनखानीको अगुवाईमा हाटबजार सञ्चालनमा ल्याएको सहकारी संस्थाका अध्यक्ष होम पाठकले जानकारी दिनुभयो । हाम्रो साना किसान कृषि सहकारी संस्था लिमिटेड र कालिञ्चो वडा नं. ८ को सहकार्यमा मिलडाँडामा हाटबजार स्थापना गरिएको हो ।
किसानले खेतबारीमा उत्पादन गरेका कृषिजन्य उत्पादनलाई गाउँमानै बिक्री वितरण गर्न सजिलो होस भनि हाट बजार सञ्चालनमा ल्याएको हो । साथै यस हाटबजारलाई कृषि बजारको रुपमा विकास गर्ने उद्देश्यले हरेक महिनाको १० र २५ गते हाटबजार सञ्चालन गर्ने निर्णय भएको सहकारी संस्थाका अध्यक्ष होम पाठकले बताउनुभयो ।
“कृषि उत्पादन तपाईको, समृद्धी समाजको” भन्ने नारासहित कृषि क्षेत्रको विकासको अभियानमा जुटेको हाटबजार व्यवस्थापन समितिका संयोजक नन्दराज शिवाकोटीले बताउनु भयो । हाटबजारमा मौसमअनुसार उत्पादन गरेका खुर्सानी, साग, काउली, फर्सी, आलु, लसुन, प्याज, लोकल कुखुरा, बोका, गोलभेडा बिक्री गर्न राखिएका छन् । साथै कृषकलाई खेती गर्न चाहिने डोको, खुकुरी, हसियाँ समेत राखिएका छन् ।
हाटबजार उद्घाटन वडा नं. ८ का वडाअध्यक्ष सूर्य बहादुर आचार्यको अध्यक्षता र गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा उपाध्यक्ष कुल बहादुर बुढाथोकी, वडाअध्यक्षहरु भरत पाण्डे र पदम थामी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।