मकैको खोष्टाबाट सजावटका सामान बनाउने तालिम सम्पन्न भएको छ । उद्योग तथा वाणिज्य कार्यालय दोलखाको आयोजना तथा जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिको सहजीकरणमा चरिकोटमा १० दिने तालिम आयोजना गरिएको थियो ।
सीप सिकौं, उद्यमी बनौं, आम्दानी बढाऔं भन्ने नारालाई साकार पार्नको लागि संयुक्त रुपमा फागुन १५ गतेदेखि तालिम सुरु गरिएको थियो । तालिममा सहकारीका शेयर सदस्य लगायत यसअघि पनि तालिम लिएका महिलाहरुको सहभागिता रहेको जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक रमेश बस्नेतले जानकारी दिनुभयो । मकैको खोष्टाबाट फूल, फूलका गुच्छा, चकटी, टोकरी, साचो झुण्डाउने (किरिङ) र चप्पल लगायतका सामान बनाएका छन् । दोलखाको उत्पादन पाहुनालाई दिन मिल्ने खालको मायाको चिनो समेत तालिममा सहभागीहरुले तयार पारिएको प्रशिक्षक सजना नगरकोटीले बताउनु भयो । यस तालिमलाई उपयोग गर्न सकेमा तालिम लिएका व्यक्तिहरु अहिलेसम्म कसैको हात खाली नरहेको तालिम प्रशिक्षक नगरकोटीले जानकारी दिनुभयो ।
तालिम लिएर सर्टिफिकेट बोकेर मात्र नबस्नको लागि भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले आग्रह गर्नुभयो । “एउटै व्यक्तिले पटक पटक सबै खालका तालिम लिने तर व्यवहारमा कसैले नल्याउने भएकाले यस तालिम सिकेका सहभागी चाहि त्यस्ता खालका नपरोस” उपमेयर बस्नेतले भन्नु भयो । भीमेश्वर नगरपालिकाले पनि धेरै खालको तालिमहरु दिएको तर थोरैले मात्र व्यवहारमा उतारेको हुनाले मकैको खोष्टाको तालिम फलदायी बनोस उपमेयर बस्नेतले भन्नु भयो ।
तालिम समापन जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता र भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । तालिममा भीमेश्वर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष नविन लामा, जिल्ला सहकारी संघका महासचिव दिल बहादुर केसी, जेसीजका उपाध्यक्ष इश्वर दहाल, प्रशिक्षक सजना नगरकोटी, प्रशिक्षार्थीहरु यशोदा कुँवर र रुकमाया ठकुरीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साथै फागुन १५ गतेदेखि ७ दिने क्रिष्टलको गहना बनाउने तालिमको समापन पनि आजै गरिएको छ । सो तालिम पनि उद्योग तथा वाणिज्य कार्यालय चरिकोटको आयोजना र जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.को सहजीकरणमा गरिएको संस्थाका व्यवस्थापक रमेश बस्नेतले जानकारी दिनुभयो ।