पर्यटकीय नगरी जिरीमा दोस्रो जिरी महोत्सव २०८० आयोजना गरिएको छ । जिरी उद्योग वाणिज्य संघको आयोजनामा जिरीको पर्यटन, आर्थिक, कृषि, संस्कृतिको विकासको लागि महोत्सव आयोजना गरिएको हो ।
“नेपालको स्वीजरल्याण्ड, सगरमाथाको प्रवेशद्धार, समृद्ध जिरी निर्माणमा अर्गानिक कृषि, पर्यटन, संस्कृति र उद्योग छन् आधार” भन्ने नारालाई साकार पार्नको लागि महोत्सव आयोजना गरिएको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । चैत्र २३ गतेदेखि सुरु हुने महोत्सव २०८१ साल बैशाख २ गतेसम्म जिरीमा सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय उत्पादनको साथै जिरेल समुदायको सांस्कृतिक कार्यक्रम र जिरेल समुदायकै खानाको परिकार महोत्सवको मुख्य आकर्षण हुने अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो । यस जिरी नगरपालिकामा बहुसंख्याक रुपमा बसोबास गर्ने शेर्पा, नेवार समुदायको झाँकी, सांस्कृतिक कार्यक्रमसमेत महोत्सवको फरक आकर्षण बन्ने छ ।
महोत्सव अवधिभर जिरीका गन्तव्यहरु चेर्दुङ, ठूलानागी, हनुमन्ते, स्टोनपार्क, गुराँसपार्क, बुद्धपार्क, ढुङ्गेगुम्बा श्यामा, भ्यूटावर खावालगायतका स्थानमा घुमघाम गराउने र बस्नको लागि होटल व्यवसायीहरुले प्याकेज र छुटको व्यवस्था समेत गरिने छ । साथै महोत्सवमा दैनिक नयाँ नयाँ कार्यक्रमको व्यवस्था समेत गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
यसअघि २०६८ सालमा दोलखा उद्योग वाणिज्य संघ जिरी शाखाले प्रथम जिरी महोत्सव गरिएको थियो ।