दोलखाको भीमेश्वर नगरपालिका ८ बोचमा तामाङ समुदायको सामान्य परिवारमा जन्मिएकी हुन् डोल्मा लामा । उच्च शिक्षा अध्ययनका क्रममा हाल अमेरिका क्यालिफोर्नियामा बस्दै आईरहेकी छिन् । दोलखास्थित तामाङ समुदायबाट छुट्टै संघर्ष गर्दै आईरहेकी उनले अमेरिकन युनिभर्सिटी अफ सोभेरिगनबाट इन्डिजेनिस उमेन्स रिप्रोडक्टीभ हेल्थमा विद्यावारिधी पूरा गरेकी छिन् ।
गाउँले वातावरणमा हुर्किएकी डोल्मा परिवारको एक्ली सन्तान हुन् । डोल्माको आफ्नै कथा छ, त्यतिबेला स्कुल जाने गर्थिन् । विद्यालय जान थालेपछि छोरीहरुलाई घरको काममा लगाउने र पढ्न नपठाउने चलन नेपाली समाजमा विद्यमान नै थियो । तर उनी घरमा घाँस, दाउरा, मेलापातको काम गर्दै बुबाआमालाई खुशी बनाउदै गाउँको स्कुलमा प्राथमिक तह पूरा गरिन् ।
त्यतिबेला गाउँघर छरछिमेकीले छोरीलाई बाहिर पढ्न पठाउनु हुन्न भन्ने कुरिती चलिआएको थियो तर डोल्मा भने माध्यमिक तह आफ्नो गाउँमा नभएपछि सदरमुकाम चरिकोटमा गएर पढ्न थालिन र हरेक दिन २, ३ घण्टा पैदल यात्रा गरि उनले एसएलसी उतीर्ण गरिन् । त्यसपछि मात्र सबैले उनलाई छोरी तिमीले अझै पढ्नुपर्छ हाम्रो समुदायको नाम राख्नुपर्छ भन्ने सकारात्मक पक्षहरु पनि आउन शुरु भयो ।
उनी सानै उमेरदेखि पढ्ने तीव्र ईच्छा र कडा मेहनतले गर्दा जति नै बाधा अड्चन आएपनि पढाईलाई निरन्तरता दिएको कारण आज उनले आफ्नो शैक्षिक यात्रा पूरा गर्न सफल भएकी हुन् ।
उनी गाउँमै महिलाहरुमध्ये तामाङ समुदायबाट एसएलसी उतीर्ण गर्ने पहिलो महिला हुन् । उनको छुट्टै संघर्ष छ, सरलता, स्पष्टता र आत्मविश्वास बोकेकी डोल्मा अमेरिकाको व्यस्त जीवनको बाबजुत पनि बचेको समयमा नेपाली अन्तर्राष्ट्रय डायस्पोरामा पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणको निम्ति आफुले सकेको योगदान पुर्याईरहेकी छिन् ।
विश्वभर फैलिएको कोभिड महामारीपछि नेपाली डायस्पोरालाई पत्रकारिताको माध्मबाट सुसुचित गर्ने उद्देश्यले आफ्नो अनलाईन मिडिया द वल्ड नेपाल न्यूज चलाईरहेकी छिन् । जब अमेरिकामा कोभिड महामारी चलिरहेको परिस्थितिमा थुप्रै अफ्ठेराहरु तथा उतरचढाबहरुको बीचबाट अगाडि बढिरहेको बताउछिन् ।
उनी आफ्नो परिवारले दिएको साथ सहयोगले गर्दा आफुलाई थप ऊर्जा, दृढता बढेको महसुस गर्छिन् । आफुले परिवारको महत्वलाई राम्रोसँग बुझेको छु भन्दै परिवारले आफुप्रति दिएको विश्वास र योगदानलाई आभार प्रकट गर्दै आफ्नो परिवारलाई बढि महत्व दिने गर्छिन् ।
डोल्माको ग्रामीण क्षेत्रमा आफ्नो जस्तै बाल्यकाल बिताईरहेको थुप्रै आफ्नो समुदायको छोरीहरुलाई शिक्षा क्षेत्रमा सहयोग गर्ने लक्ष्य रहेको छ । र डोल्मा उनको आदिवासी जनजाति समुदायको लागि एक प्रेरणाको स्रोत बनेकी छिन् । उनले आफ्नो बाल्यकाल र जीवन संघर्षको बारेमा (म डोल्मा) भन्ने आत्मकथा समेत लेख्दैछिन् । उनको त्यो आत्मकथाबाट पहाडी भेगमा पढ्नको लागि दुख खेपिरहेको सबै आदिवासी जनजाति छोरीहरुको लागि मार्गनिर्देशन हुने आशा उनले राखेकी छिन् । आफ्नो समुदायको हकहित र अधिकारको निम्ति अग्रपंक्तिमा रहेर शिक्षा क्षेत्रमा सेवा गर्ने सपना बुनेकी छिन् ।