नेपालको स्वीजरल्यान्ड सगरमाथाको प्रवेशद्वार, समृद्ध जिरी निर्माणमा अर्गानिक, कृषि, पर्यटन, संस्कृति छन् आधार नारासाथ हुने जिरी महोत्सवको तयारी पूरा भएको छ । आज पत्रकार सम्मेलन गरी चैत २३ गतेदेखि २०८१ बैशाख २ गतेसम्म हुने महोत्सवको अन्तिम तयारी पूरा भएको जानकारी गराइएको हो ।
दोलखाकाको सबै स्थानीय तह र रामेछापको गोकुल गङ्गा र उमाकुण्ड गाउँपालिका साझेदार र नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्र, उद्योग तथा वाणिज्य कार्यालय, प्राइम कमर्सियल बैंक, एकीकृत फ्रेन्डसीप सहकारी, नेपाल पत्रकार महासघ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी प्रवद्र्धक रहेका जानकारी पत्रकार सम्मेलनमा जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो ।
१० दिनसम्म सञ्चालन हुने महोत्सवमा जिरीभित्रका पर्यटकीयस्थललाई गन्तव्यको रूपमा विकास गर्न, आदिवासी जनजातिहरुको मौलिक खाना, खाना, स्टल लगायत उत्पादनको प्रचारप्रसार गर्नुलगायत महोत्सवको उद्देश्य रहेका छन् ।
५० हजार जनाले महोत्सव अवलोकन गर्ने, एक करोड आम्दानी हुने र करिव ४५ लाख खर्च हुने अपेक्षा राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । जिरीको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र पर्यटकीय क्षेत्रको सम्भावना, लगानीको क्षेत्र र भावी योजनाको बारेमा विज्ञबाट दैनिक रुपमा बहस चलाइने छ ।
महोत्सवमा स्थानीय परिकार, भेषभूषा झल्कने वस्तुको स्टलमा राखिने, जिरीका खानाका परिकार र गीत तथा नृत्य मुख्य प्रस्तुत हुनेछ । जिरी बजार मात्र होइन जिरी क्षेत्रको भ्रमण गराउन प्याकेजसहित यातायातको व्यवस्था गरिने योजना रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।