पर्यटकीय नगरी जिरीमा हुने जिरी महोत्सवको अवसरमा खोलानाला र बजार सरसफाईलाई तीव्रता दिईरहेको छ । दोस्रो जिरी महोत्सवको मिति नजिकिएसँगै सरसफाईलाई पनि त्यत्तिकै प्राथमिकता दिइरहेका छन् । नगरपालिका, उद्योग वाणिज्य संघ लगायत विभिन्न संघसंसस्थाको पहलमा जिरी बजार नजिकैका खोलानाला, बजार क्षेत्र र पर्यटकीय स्थल, पार्कहरु सरसफाई कार्य सम्पन्न भएको छ ।
चैत्र २३ गतेदेखि आयोजना गरिएको दोस्रो जिरी महोत्सव भव्यरुपमा सफल पार्नको लागि तयारी तीव्र गतिमा भईरहेको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो । महोत्सव स्थल निर्माण गर्नुको साथै अहिले स्टल निर्माण कार्यलाई निरन्तरता दिईरहेका छन् । जिरी बजारलाई झिलीमिली बनाइएको छ भने पुरानो ताल सञ्चालनमा ल्याइएको छ ।
बजार सरसफाईको साथै लिंकनबजार क्षेत्रको सडक, पुल र बजार क्षेत्रमा झिलीमिली बत्ती सजाइएको छ भने सडक आसपास राष्ट्रिय झण्डा राखेर बजारको श्रृङ्गार बढेको छ ।
जिरी महोत्सव चैत २३ गतेदेखि २०८१ साल वैशाख २ गतेसम्म चल्नेछ । नेपालको स्वीजरल्याड, सगरमाथाको प्रवेशद्धार समृद्ध जिरी निर्माणमा अर्गानिक कृषि, पर्यटन र उद्योग छन् आधार भन्ने नारालाई साकार पार्नको लागि जिरीका सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि र संघसंस्थाहरु लागेका छन् । यस महोत्सवले जिरीमा आन्तरिक तथा बाह्यपर्यटक भित्राउने लक्ष्य रहेको छ ।
महोत्सवमा कृषि उपजहरुको प्रदर्शन र बिक्री, चित्रकला, हस्तकला, मनोरञ्जन, कलाकारहरुको प्रस्तुति, सांस्कृतिक झाँकी प्रदर्शन, मौलिक खानाका परिकार, गुराँस, चिमाल, सुनाखरी, चौरी, वन्यजन्तु, हिमश्रृङ्खला, चिया, लोक्ता, याक चिज, छुर्पी जस्ता उत्पादनको प्रत्यक्ष अनुभव गर्न पाइनेछ । साथै पदयात्रा, प्याराग्लाईडिङ, वृत्तचित्र, वयस्क भलिबल प्रतियोगिता, किवी, रेन्वो ट्राउट र कालिज फार्म, साहित्य र विकास बहस महोत्सवको प्रमुख आकर्षण रहेको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।