बुद्ध योन्जन लामा/ह्योन्जनको सामुहिक कूलपूजा र ऐतिहासिक भेला सम्पन्न भएको छ । लिसंखुपाखार गाउँपालिका–२ लिसंखु (ह्रिस्याङ्गो) मा रहेको छ्योइफेल कुन्देलिङ गोन्पामा यही ६ र ७ गते सम्पन्न भएको हो ।
तामाङ जातिको ह्योन्जन थरका कुलपूजा परम्परालाई यथावत् र विश्वका ह्योन्जनलाई एकता गर्ने उद्देश्यकासाथ ह्योन्जन वंश समाजले आयोजना गरेको ऐतिहासिक कार्यक्रम ह्योन्जनको थाकथलो ह्रिस्याङ्गोमा सम्पन्न भएको हो । सो कार्यक्रममा नेपालको ४४ वटा जिल्ला, भारतको सिक्किम, दार्जिलिङ, मिरिक, खार्साङलगायतका स्थानहरुबाट ३ सय १० जना प्रतिनिधि र स्थानीयहरुको सहभागीता रहेका थिए ।
कार्यक्रमको अघिल्लो दिनमै गोन्पामा साङसेर्गेम, म्हेर्मे पूजा र माहाकालको पूजा भएको थियो । सामुहिक कूलपूजा, गोन्पाका लामाहरुले लामा छ्याम (नृत्य), स्थानीय कलाकारहरुले ताम्बा गीत र नृत्य, त्यस्तै विभिन्न जिल्लाबाट सहभागी ह्योन्जन स्रष्टा तथा कलाकारहरुले गीत र कविता प्रस्तुत गरिएको थियो भने योन्जन वंशको शफ्टवेरको विकास र तथ्यांङ्क विवरण भर्ने सम्बन्धी प्रशिक्षण समेत भएको थियो ।
वंशको नाममा ८ रोपनी जग्गा दान गर्नुहुने स्थानीय दाताहरुलाई समापन, व्यवस्थापन गर्ने स्थानीय र सहभागी सबैलाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको थियो । प्रत्येक ५/५ वर्षमा यस्तो कार्यक्रम गरिने योन्जन वंश समाजको अध्यक्ष महेन्द्रजंग तामाङले बताउनु भएको छ ।
‘ह्रिस्याङगो घोषणा पत्र’
हामी लिसंखुपाखर गाउँपालिका वडा नं—२, ह्रिस्याङ्गोमा ह्योन्जन वंशको सामुहिक कुल पूजा तथा ऐतिहासिक भेला–२०८१ मा सहभागी हुनु भएका संसारभरीका ह्योन्जन सन्तानहरुले आफ्नो परम्परादेखि चलिआएको ‘कुलपूजा परम्परा’ आज मिति २०८१ बैशाख ६ गते (तदनुसार २०२४ अप्रील १८) मा भव्यताकासाथ ‘सामुहिक रुपमा’ सम्पन्न गरेका छौं । यसै अवसरमा हामी ‘ह्योन्जनहरुको ऐतिहासिक भेला’ पनि यही बैशाख ७ गते सम्पन्न गरेका छौं ।
यस पावन अवसरमा देश विदेशबाट पाल्नु हुने समस्त ह्योन्जन सन्तानहरुका तर्फबाट निम्न प्रतिबद्धता जाहेर गर्दै यो ह्रिस्याङगो घोषणा पत्र जारी गर्दछौं ।
१, कुलपूजा परम्परालाई यथावत् राख्न र एकरुपता दिन जरुरी भएकाले प्रत्येक ५ वर्षमा एक पटक सामुहिक रुपमा भेला हुने र ‘कुलपूजा’ गर्ने परम्परालाई कायम राख्ने घोषणा गर्दछौं ।
२, ह्योन्जन समाजको बंशावलीलाई पूरा गर्न शफ्टवेरको विकास गरिएको हँुदा ह्योन्जनहरु जहाँजहाँ रहेपनि आगामी ५ वर्षभित्रमा सबैले आआफ्नो तथ्याङ्क(डाटा) भरी सक्ने र बंशावली लेखन कार्यलाई सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछौ ।
३, ह्योन्जन समाजको ऐतिहासिक, धार्मिक, साँस्कृतिक महत्वका स्थान, लेख, ताम्रपत्र, शनदपत्र, रुक्कापत्र, फाराप, दोङराप, केरापआदि दस्तावेजहरुको खोज, अनुसन्धान, संकलन एवं विश्लेषण गर्ने र त्यसलाई टुङ्गोमा पु¥याउन लागि पर्ने प्रतिबद्धता जाहेर गर्दछौ ।
४, ह्रिस्याङ्गो आसपासको क्षेत्र ठुलो धादिङ, वाफललगायतका क्षेत्रमा रहे भेटिएका ऐतिहासिक, धार्मिक, साँस्कृतिक महत्वका वस्तुहरुको संरक्षण, विकास र प्रवद्र्धनका लागि आवस्यक कामलाई अघि बढाउन आवश्यक सबैखाले पहलकदमी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।
५, ह्रिस्याङ्गोमा रहेको पुरानो ध्याङ डाँडा (लगभग १२ सय वर्ष पुरानो गुम्बा), ङ्हारदिम (रुवाङ्छु म्हेमेले बनाउनु भएको ढुंगामाटोको पहिलो घर) कालो पाटी आदिको संरक्षण र विकास के कसरी गर्ने भन्ने विषयमा छलफल गरी डिपिआर बनाउने र ह्रिस्याङ्गोलाई एउटा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।
६, यो सबै कार्य गर्न आर्थिक, भौतिक एवं बौद्धिक ज्ञानको आवस्यकता हुने हुँदा त्यसका लागि आ–आफ्नो ठाँउबाट हामी सबैले पहल गर्ने र आँटेको कार्य पूरा गर्नका लागि लागीपर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।
७. ह्योन्जन वंशको विकासका लागि ह्योन्जन विकास कोष निमार्ण गर्ने अभियानलाई तत्काल प्रारम्भ गर्ने ।
अन्तमा, कुल देवता लामाकोन्ज्यो महांकाल (गोम्पो छ्रयासी) ले हामी सबैको कल्याण गरुन् । हामी यही प्रर्थना गर्दछौं ।
जय ह्योन्जन वंश । जय महाँकाला । धन्यवाद ।
मिति २०८१ बैशाख ७ गते (तदनुसार २०२४ अप्रील १८)
छ्योईफेलिङ गुम्बा, लिसंखुपाखर गा.पा. वडा नं–२, सिन्धुपाल्चोक ।