वैदेशिक रोजगारीको शिलशिलामा कोरिया पुगेका दिपेन्द्र अधिकारी ९ वर्ष त्यही भूमिमा बिताए । वैतेश्वर गाउँपालिका वडा नं. ८ निवासी दिपेन्द्र अधिकारी नेपालमा खासै रोजगारीको सम्भावना नदेखेपछि साथीभाईको लहलहैमा कोरिया पुगेका थिए । केही वर्षपछि फर्किने योजनाकासाथ कोरिया पुगेपछि नेपाल फर्किन मन लागेन । कमाईको साथै कोरियाको सिष्टमले उनलाई ९ वर्षसम्म त्यही बस्न मोहनी लगायो । सबै कामहरु सिष्टममा चल्ने भएपछि ९ वर्ष बितेको पत्तै भएन ।
उनी युवाहरुलाई आफ्नै भूमिमा रोजगारी दिलाउन सकिने सपना बोकेर नेपाल फर्केका थिए । नेपाल फर्केर उनले धेरै क्षेत्रको अध्ययन अनुसन्धान गरे । उनमा अर्काको भूमिका पसिना चुहाउनुभन्दा आफ्नै देशमा केही गरौ भन्ने हुटहुटी चलेको थियो । त्यसैले धेरै जनासँग उनले सल्लाह सुझाव लिए । यहाँको विकास र युवा जनशक्तिलाई स्वदेशमै कसरी काम दिन सकिन्छ भनेर सोधीखोजी गरे । केही वर्ष त यताउता धाउदै बित्यो । विदेशमा दुख गरेर कमाएर ल्याएको पैसा पनि सकिन थाल्यो । उचित निर्णय दिने मान्छे नपाउदा र काम गर्न नसक्दा केही समय त्यत्तिकै बित्यो । काम गर्नलाई नेपालको झन्झटिलो कानुनी प्रक्रिया र नीति ऐन नै स्पष्ट नभएपछि सोचेको जस्तो काम गर्न पाएनन् ।
अन्तमा, नयाँ वानेश्वरमा एकेडेमी सञ्चालनमा ल्याएका छन् । नेपालमा खोजेको र सोचेको जस्तो काम गर्न नपाएपछि युवाहरुलाई विदेश पठाउने नै उपयुक्त उपाय लाग्यो । कोरिया भाषा पढाएर विदेशमै युवालाई रोजगारीको सम्भावना व्यापक देखेपछि हाना–दुल एकेडेमी सञ्चालनमा ल्याएको हो । युवालाई नेपालमै केही गराऔं भन्ने सोच राख्दाराख्दै पनि रोकिने वातावरण नभएपछि ६ महिने कोरिया भाषा पढाएर विदेश पठाउने योजनामा अहिले उनी लागेका छन् ।
२०८० साल भदौदेखि सञ्चालनमा ल्याएको एकेडेमीमा अहिलेसम्म सय जनाभन्दा बढीले कोरियन भाषा सिकिसकेका छन् । कोरियामा दक्ष जनशक्तिको माग हुनुको साथै भाषा अनिवार्य भएकाले वैदेशिक रोजगारमा जाने अधिकांशले भाषा सिक्ने गरेका छन् । कोरियाले आफ्नै भाषालाई उच्च प्राथमिकतामा राख्ने गरेको छ । कामको लागि कोरिया पुगेका नेपालीहरुलाई कृषि, कम्पनी र डुङ्गा बनाउने काममा रोजगार दिन्छन् । अहिले नेपालीहरुको प्रमुख गन्तव्यनै कोरिया बन्न थालेको छ । राम्ररी खट्न सकेमा मासिक २ लाखदेखि ४ लाखसम्म कमाई हुन्छ । दोलखाबाट मात्र अहिलेसम्म १ हजार पाँच सयभन्दा बढी कोरिया पुगेका छन् भने नेपालीहरु लगभग ६० हजारभन्दा बढी छन् । अहिले हाना–दुल एकेडेमीको प्रवन्ध निर्देशक हुन दिपेन्द्र । त्यही एकेडेमीमा बिहान ६ बजेदेखि राति अबेर सम्मै खट्छन् ।
विदेशी भूमि आफ्नो जस्तो हुँदैन । समयलाई ख्याल गरेर सबै आआफ्नो काममा व्यस्त हुन्छन् । केही समस्या पर्दा र बिरामी हुँदा विचरा भन्ने बाहेक अरु उपाय हुँदैन । हप्तामा एक दिन विदा हुँदा भेटघाट र घुमघाम बाहेक अरु समय हुँदैन । त्यसैले नेपालीहरुले विदेशमा भोगेका समस्यालाई देखेर दोलखालीहरुको संस्था नै स्थापना गरे । दोलखाली समाज दक्षिण कोरियाको दिपेन्द्र संस्थापक अध्यक्ष हुन् । उनकै पालामा धेरै नेपालीहरुको घाउमा मलहम लगाउने काम गरे । उनको संस्थाले दोलखामा समेत शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रमा धेरै आर्थिक, भौतिक रुपमा काम गरेको छ ।