बालविवाह रोकथामको लागि स्वास्थ्य पर्यटनका लागि युवा अभियान संस्थाले ३ बुँदे साझा प्रतिवद्धता पत्रमा हस्ताक्षर अभियान सुरु गरिएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित बाल विवाह विरुद्धको सचेतना विषयक अभिमुखीकरण कार्यक्रममा ३ बुँदे साझा प्रतिवद्धता जारी गरिएको हो ।
३ बुँदे प्रतिवद्धता पत्रमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद ११ मा विवाह सम्बन्धी कसुरको दफा १७३ मा वाल विवाह गर्नै नहुने उल्लेख गरिएको छ । सो अनुसार संस्थाले साझा प्रतिवद्धता पत्र तयार पारिएको हो । प्रतिवद्धता पत्रमा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु हुँदैन, उपदफा १ मा विपरित भएको विवाह स्वत बदर हुनेछ, उपदफा १ बमोजिमको कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । भन्ने बुँदाहरु हाम्रो प्रचलित कानुनी व्यवस्था भएकोले कानुन विपरित बालविवाह नगर्न नगराउन हामी सहमत हुँदै साझा प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
अभिमुखीकरण स्वास्थ्य पर्यटनका लागि युवा अभियानको आयोजना र भीमेश्वर नगरपालिकाको सहकार्यमा भएको थियो । कार्यक्रम अभियानका उपाध्यक्ष गीता शिवाकोटीको अध्यक्षता र भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा भएको थियो । साथै कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्य, भीमेश्वर नगरपालिकाका प्रशासन प्रमुख माधव सुवेदी, आवाज नेपालका अध्यक्ष सिजर्ना कार्की, परिवर्तन नेपाल दोलखाका अध्यक्ष मेनुका सुवेदी, भीमेश्वर नगरपालिका बाल क्लवका अध्यक्ष बन्दिका मुगराती, पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटका नर्सिङ इन्चार्ज, जेनी श्रेष्ठ, धर्म गुरुहरु दुर्गा प्रसाद अधिकारी, डुक्पा लामा, विमल शाही, गणेश थामी, पत्रकार जीवन लामा र अभियान संस्थाका सदस्य रिता दहाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।