आफ्नो जन्मभूमिको महत्व दर्शाउदै भविन्द्र कुमार थामी एकैछिन भक्कानिए । आफ्नो गाउँ, देश र संस्कृतिको महत्व कस्तो हुन्छ भन्ने कुरा एकपटक विदेश गएपछि मात्र थाहा पाईन्छ । मैले पनि विदेश पुगेपछि मात्र थाहा पाएँ ।
भीमेश्वर नगरपालिका–२, चाथलीमा सञ्चालित थामी रिसोर्ट एण्ड होटलका ४५ वर्षीय भविन्द्र कुमार थामी विदेशमा ६ वर्ष बस्नुभयो । विदेशमा धेरै दुख भोगे । पसिना चुहाए । आफ्नो जन्मभूमिमा जस्तो माटो देखेनन उनले । पानीको स्रोत भेटिएन । त्यसैले मलेसिया १ वर्ष र दुवई ५ वर्ष बस्दाखेरीनै उनले आफ्नै ठाउँमा रिसोर्ट खोल्ने योजना बुने । उनी ५ वर्ष बस्दा फरक फरक कम्पनीमा काम गर्नुपर्यो । त्यही क्रममा होटलमा पनि काम गर्ने अवसर मिल्यो । होटलमा काम गर्दा यसरी आफ्नै गाउँमा मिहिनेत गर्न सकेमा होटल सञ्चालन गर्न सकिन्थ्यो होला भनेर योजना बनाए थिए । होटल खोल्ने हो भने थामी समुदाय र गाउँको पहिचान दिलाउन सकिन्छ होला भन्ने योजना बुन्दै नेपाल फर्केर रिसोर्ट सञ्चालन गरेका छन् ।
सदरमुकाम चरिकोटबाट करिव ७ किलोमिटर टाढा पर्दछ चाथली थामी रिसोर्ट । एउटा भालेको मासुबाट ५ वटा आईटम ग्राहकलाई खुवाउन थालेपछि उनी विदेश बस्दा सोचेझैं थामी समुदाय र गाउँकै पहिचान दिलाउन सफल भएको छ । भालेको मासु पारखीहरुलाई ५ प्रकारका आईटम खुवाउन थालेपछि दोलखा जिल्लाका मात्र होइन काठमाडौबाट चरिकोट आएका बेला एकपटक थामी रिसोर्ट पुग्ने गर्छन । उनको यही ब्राण्डले गर्दा भाले खाने भन्ने बित्तिकै थामी रिसोर्ट सम्झिने गरेको भविन्द्र थामीले बताउनु भयो । शुक्रबार, शनिबार र विदाको दिनमा बढी आउने गरेका छन् । महिनामा लगभग १० वटा भालेको परिकार बिक्री हुने गरेको छ । अर्डर अनुसार एउटा भाले तयार पारेको चार हजारभन्दा माथि पुग्छ । खाना, ढिडो, चिया कफी गर्दा एउटा टिमबाट ५, ६ हजारको बील उठ्छ ।
उनले भालेको आईटम मात्र होईन कोदो, मकै, गहुँ र फापरको ढिडो दाउराको चुलोमा पकाएर खुवाउने गर्छन । साथै सिजनमा अर्गानिक खानेकुराहरु मकै, काक्रो, मूला, लसुन, साग, बेसार, खुर्सानी लगायतका तरकारी पनि आफैले उत्पादन गर्छन । ग्राह पुग्ने बित्तिकै खगारेको आलु र आफैले पिसेको हरियो खुर्सानी दिने गर्छन । अर्गानिक तरकारी मात्र होईन लोकल भाले पनि पालेका छन् । बाख्रा, बोका पनि आफैले पालेको हुनाले अर्डर अनुसार खुवाउन सकिन्छ । विदेशमा हुँदा पनि उनले खानेकुरा मीठो पकाउने भएकाले साथीभाईले उनैलाई पकाउन लगाउथे । विदेशको सीप नेपालमा झन् प्रयोग नहुने कुरै भएन ।
ग्राहकले रुचाएमा अर्डरअनुसार थामी समुदायको यरेमटे, चेनेमाटी, यरे, आतुकदुपाङ्कु पनि खुवाउने गर्छन । बाहिरबाट आएर कोही आफै पकाएर खान चाहन्छन भने त्यसको पनि व्यवस्था गरिएको छ । प्राय गरेर बाहिरबाट आएका ग्राहकलाई बस्नको व्यवस्था पनि गरेका छन् । उनको रिसोर्टमा ३ वटा कोठा छन् । सानातिना कार्यक्रम गर्नको लागि हलको व्यवस्था पनि गर्दै आएका छन् । हिउँदमा क्याम्पफायर गर्नको लागि ठाउँको व्यवस्था पनि गरिएको छ । ग्राहक संख्याको अवस्था हेरी घरपरिवारका ४ जनानै खट्ने गर्छन ।
विदेशमा रातादिन खट्दा हुने तर आफ्नो गाउँमा दुख गर्दा के हुन्छ भन्ने भविन्द्रको बुझाई छ । ग्राहक हुँदा बिहान बेलुकीसम्मै खट्ने गर्छन भने ग्राहक नहुँदा खेतबारीमा काम गर्छन । घर परिवारका सबै जना खटेकै कारण उनीहरुले चाथलीमा चार तले र चरिकोटमा तीन तले घर बनाएका छन् । यही रिसोर्टको कमाईबाट छोराछोरी पढाउने, घरखर्च टार्ने र बैंकको किस्ता तिर्दै आएका छन् ।
नेपालमैै केही गर्नुपर्छ भन्ने सोचमा थिए । साहारा अर्गानिक कृषि तथा पशुपन्छि फार्म पनि दर्ता गरेर काम गरे । सानातिना पसल, होटल सञ्चालन गरे । तर सोचेजस्तो कमाई नभएपछि विदेश गएको थामीले बताउनुहुन्छ । विदेशमा सीप नसिकेपनि परिश्रम गर्ने बुद्धि आएको थामी बताउनुहुन्छ ।