चीन सरकारद्धारा दोलखा जिल्लाको जिलु र सिंगटीमा निर्माण गरिएको विद्यालयको भवन हस्तान्तरण गरिएको छ । भीमेश्वर नगरपालिका जिलुको सर्व मावि र कालिञ्चोक गाउँपालिका लामिडाँडाको कालिनाग मावि एक समारोहबीच चीन सरकारका प्रतिनिधिले विद्यालयका प्रधानाध्यापक, जिल्ला शिक्षा समन्वय एकाई प्रमुखलाई चाबीसहित हस्तान्तरण गरिएको हो ।
चीन सरकारले ५ अर्व लगानी गरेर कालिनाग मावि र सर्व माविको दुई वटा भवन निर्माण गरिएको थियो । नेपालस्थित चीनको आर्थिक तथा वाणिज्य कार्यालयका काउन्सिलर सियुले यी दुई नमुना विद्यालय निर्माणमा सहयोग गर्ने सबै कामदार, स्थानीय तह, शिक्षा संयन्त्रलाई धन्यवाद ज्ञापन गरेका थिए ।
नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध रहेकाले दिर्घकालिन रुपमा यस विद्यालयले शिक्षा क्षेत्रमा प्रभावशाली काम गर्न सियुको सुझाव थियो । ‘आगामी दिनमा पनि नेपालसँग शैक्षिक क्षेत्रमा काम गर्न चाहान्छौं, ‘काउन्सिलर सियुले भने, ‘यहाँको जनताको शैक्षिकस्तर माथि उठोस । भवन मात्रै भएर हुँदैन । यहाँको विद्यार्थी, शिक्षक र अभिभावकले अपन्त्व लिनुपर्छ ।’ हामी सधैं तपाईहरुको शैक्षिक गुणस्तरको लागि शुभेच्छा प्रकट गर्छौ, सियुले भने । यस्तै नेपालस्थित चिनिया दूतावासको सचिव लु लिचो, चिनिया उद्यम संघको झु किन्ज्यू, नेपालका लागि चाइना इलेक्ट्रिक पावर कन्स्ट्रक्सन कर्पोरेशनका प्रतिनिधि, चाइना वाटर कन्जर्भेन्सी एण्ड हाइड्रोपावर छैटौं इन्जिनियर व्युरो कम्पनी लिमिटेडका प्रमुख इन्जिनियर ये मिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय एकाईको प्रमुख शकरबाबु श्रेष्ठ, सर्व माविका प्रधानाध्यापक विश्वमणि चौलागाई र कालिनाग माविका प्रधानाध्यापक दाताराम नेपालले चीन सरकारका प्रतिनधिहरुलाई धन्यवाद ज्ञापनसहित सम्मान गरिएको थियो । चिनिया प्रतिनिधिका लागि विद्यार्थीहरुले नेपाली संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए ।