वैतेश्वर गाउँपालिकाले बजार अनुगमनको क्रममा ४ लाख भन्दा बढीको अखाद्य वस्तु नष्ट गरेको छ । बजार अनुगमन टोलीले बजार अनुगमन गर्दा जफत गरेको उक्त दैनिक उपभोग्य वस्तुको म्याद नाघेको भेटिएकोले नष्ट गरेको हो ।
गाउँपालिकाले स्थानीय उद्योग वाणिज्य संघ, इलाका प्रहरी चौकी, पत्रकार र सरोकारवाला निकायसँग समन्वय गरेर बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रिएका करिव चार लाख मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडे गलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ गरेको अध्यक्ष लामाले बताउनु भयो । गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको अध्यक्ष लामाले बताउनु भयो । बजारका धेरैजसो ठूला खाद्यान्न पसल र गाउँका पसलमा समेत म्याद गुज्रिएको सामान फेला परेको गाउँपालिका प्रशासन प्रमुख रवीन्द्र चौलागाईंले बताउनु भयो ।
उनका अनुसार म्याद गुज्रिएका सामानमा चिसो पेय पदार्थ, खाने तेल, दालमोठ, आँटा पिठो, भुजिया, बिस्कुट, चकलेट, चिजबल, चियापत्ति, कफी, दाल, चामल, चिउरा, मसला लगायत रहेका छन् । म्याद गुज्रिएको सामान नियन्त्रणमा लिएर जलाएर नष्ट गरिएको प्रशासन प्रमुख चौलागाईले जानकारी दिनुभयो । अनुगमन टोलीले पालिकाका एक सय भन्दा बढी पसल अनुगमन गरेको थियो ।
अनुगमनमा बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली, कार्यपालिका सदस्य ठूलीकान्छी विक, पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, ईलाका प्रहरी कार्यालय मैनापोखरी र पुतलीकाठ प्रहरी चौकीका सुरक्षाकर्मी, उद्योग वाणिज्य संघ मैनापोखरी शाखा, पत्रकार लगायतको अनुगमन टोली रहेकोे थियो ।