कालिञ्चोक गाउँपालिका–१ बेगुम्पाबासीलाई घर बगैंचा प्रवद्र्धन तालिम आयोजना गरिएको छ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा नामसालिङ सामुदायिक विकास केन्द्र र कालिञ्चोक एकीकृत सामुदायिक विकास केन्द्रको आयोजनामा तालिम आयोजना गरिएको हो ।
समुदायका अगुवा कृषकलाई घर बगैँचा प्रवद्र्वन सम्बन्धी १ दिवसीय अभिमुखीकरण तालिम सम्पन्न भएको नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाका जिल्ला संयोजक राजन केसीले जानकारी दिनुभयो । उक्त तालिम घर बगैंचा सम्बन्धी प्रयोगात्मक र सैद्धान्तिक तरिकाबाट तालिममा उपस्थित कृषकहरुलाई प्राविधिक सहयोग तथा सल्लाह दिएको जिल्ला संयोजक केसीले बताउनु भयो ।
तालिममा घरबगैंचा भनेको के हो, घरबगैंचामा समावेश हुनुपर्ने कुराहरु, माटो व्यवस्थापन, सिंचाई व्यवस्थापन, मल (कम्पोस्ट, गड्यौला मल, हरियो मल) बनाउने तरिका, नर्सरीका प्रकार, पशुपालन, माछा पालन, मौरी पालन, च्याउ खेती, पोषण, तरकारी तथा फलफुलमा लाग्ने रोग किरा र नियन्त्रणका उपायहरू र किरा नियन्त्रण गर्ने पासोहरु आदिको विषयमा तालिम प्रदान गरिएको छ ।
साथै तालिमका सहभागीहरुलाइ १/१ प्याकेट रायो र मुलाको बीउ समेत वितरण गरिएको छ । कार्यक्रम सरुनी थामीको अध्यक्षता र वडा नम्बर १ का वडाअध्यक्ष पदम थामीको प्रमुख आतिथ्यतामा भएको थियो । तालिम सहजीकरण तथा समन्वय जिल्ला संयोजक राजन केसी र पूर्ण बहादुर थामीले गर्नुभएको थियो । २५ जना सहभागी रहेको उक्त तालिम अस्मिता बस्नेतले प्रशिक्षण दिनुभएको थियो ।