पशु सेवा कार्यालय दोलखाले आर्थिक वर्ष २०८१/८२ को लागि स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिकीकरण गरिएको छ । आज सदरमुकाम चरिकोटमा सरोकारवाला निकायहरुको उपस्थितिमा सार्वजनिकीकरण गरिएको हो ।
आर्थिक वर्ष ०८१/८२ मा पशु सेवा कार्यालय दोलखाले स्थानीय तहहरुको भौगोलिक अवस्था र आयस्रोतको आधारमा पशुपालनदेखि कृषि सम्बन्धी विविध कार्यक्रम समावेश गरिएको पशु सेवा कार्यालय दोलखाका कार्यालय प्रमुख डाक्टर ज्ञान बहादुर जिरेलले जानकारी दिनु भयो । यही आर्थिक वर्षभित्र कार्यालयले विशेष गरी चौरी प्रवद्र्धन कार्यक्रम, भेडा प्रवद्र्धन कार्यक्रम, बाख्रापालन प्रवद्र्धन, बंगुर प्रवद्र्धन, पशुपालनमा असल अभ्यास प्रवद्र्धन, पशु आहार आत्मनिर्भर, दुग्ध उत्पादन वृद्धि कार्यक्रम, मागमा आधारित जीविकोपार्जन सहयोग कार्यक्रम (८५ प्रतिशत प्रोत्साहन), पशुपन्छी तथा मत्स्यपालनका लागि यन्त्र तथा उपकरण वितरण कार्यक्रम, पशुपन्छी तथा मत्स्य उद्यमशीलता विकास कार्यक्रम, समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम, स्थानीय जातका असला माछा प्रवद्र्धन तथा संरक्षण कार्यक्रम र करेसा पोखरीमा कार्प जातको माछापालन लगायतका कार्यक्रम रहेको डाक्टर जिरेलले जानकारी दिनुभयो ।
सार्वजनिकीकरण कार्यक्रम बागमती प्रदेश सभाका सदस्य भरत बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्तेत, कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।