हिजोआज सदरमुकाम चरिकोट नजिकै बिहान बेलुकी मानिसहरूको लावालस्कर देखिन्छ । चरिकोट बजारको पूर्वोत्तोरमा लस्करै उभिइरहेका रोल्वालिङ शृंखलाअन्तर्गतका चित्ताकर्षक हिमाल । चरिकोटको सुन्दरतामा गौरीशंकर हिमालले मात्रै बान्की थपेको छैन, चिटिक्कको पदमार्गले बजारको महत्व बढाएको छ । मुख्य बजारबाट एक किलोमिटर उकालो चढेपछि चिटिक्क देखिने सिँढीहरूमा हिजोआज उकालो ओरालो गरिरहेका पदमार्गीहरु प्रशस्तै भेटिन्छन् ।
पदमार्गलाई चराबचेराका धुनले संगीतमय तुल्याएको छ । चराचुरूङ्गीको कर्णमधु धुनसँगैै आफ्नै पैतालको लयमा स्फूर्ती जगाइरहेका हुन्छन्, पदयात्रीहरू । पलपलमा बहने गौरीशंकरको चिसो हावाले पदयात्रीको थकानलाई क्षणमै अलप तुल्याइदिन्छ । र त, उनीहरू अझ जवान महसुस गर्दै पदमार्गलाई सदुपयोग गरिरहन्छन् । चरिकोटमा मौसमअनुसारका फूल फुल्छन् । त्यति मात्र होइन, एकै स्थानमा पाइने ४४ थरीका सुनाखरीले चरिकोटलाई ‘आर्किड जोन’को उपमासमेत मिलेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ स्थित सिमपानी पोखरीदेखि वडा नम्बर १, राङराङथलीसम्मको यात्रा गर्नु भयो भने चित्ताकर्षक चरिकोटलाई तपाईंले हृदयबाट महसुस गर्न सक्नुहुनेछ । सुन्दरताको बेग्लै निःस्वास लिन पाउनुहुनेछ ।
त्यहाँ अहिले स्थानीयका अतिरिक्त चरिकोट घुम्न आउने आन्तरिक एवम् बाह्य आगन्तुकलाई हिँड्डुल गर्न सहज होस् भनेर भीमेश्वर नगरपालिकाले फुटट्रेल (पदमार्ग) निर्माण गरेको छ । यसले पर्यटन प्रवद्र्धनमा मात्रै इँटा थपेको छैन, सिमपानी पोखरीदेखि राङराङथलीसम्म पैदलयात्रालाई छिटो, छरितो र सुरक्षित बनाइदिएको छ ।
अमेरिकी सहयोग नियोग यूएसएआइडीको तयार नेपाल विपद् जोखिम व्यवस्थापन परियोजनाको सहयोगमा भीमेश्वर नगरपालिकाले फुटट्रेल (पदमार्ग) निर्माण गरेको हो । यस रुटले चरिकोटलाई बेग्लै परिचय दिएको छ नै, प्रातः भ्रमण, सन्ध्याकालिन हिँड्डुल गर्नेहरू र लघु पदमार्गीहरूको आकर्षण पनि बन्दैछ ।
नगरपालिकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने ध्येयले पैदलमार्गसहित विभिन्न ठाउँमा विश्रामस्थल निर्माण गरिएको छ । यसका अतिरिक्त वनभित्र पाइने विभिन्न जातका जडिबुटी, लालीगुराँस, सुनाखरी, वन्यजन्तु, र पंक्षीको बारेमा जानकारी दिने ध्येयले राखिएका सूचनापाटीले पदमार्गको मात्र नभई चरिकोटकै महत्वमा बढोत्तरी ल्याएको स्थानीय बताउँछन् । चरिकोटका मुकुन्द दाहाल यस पदमार्गमा बिहान र साँझ नियमितजसो हिँडडुल गर्छन् । भीमेश्वर नगरपालिकाको धेरै ठाउँ हिँडडुल र घुमफिर गरिसकेका उनी यस पदमार्गमा भएर यात्रा गर्दा बेग्लै आनन्दको अनुभूति हुने बताउँछन् ।
‘चारैतिर हिउँको फेटा गुथेका सेतै हिमाल देखिन्छन् । गौरीशंकर, नुम्बुर, चेर्दुङडाँडा, हनुमन्तेडाँडा, रोल्वालिङ हिमश्रृङ्खलादेखि आँखैअगाडि तामाकोसी नदी बगेझैं लाग्छ । अझ चराचुरुङ्गीको धुनले त मन शान्त र स्निग्ध नै तुल्याउँछ । कालिज, तित्रा, मृगसावकहरू देख्दा जस्तै थकित मनले पनि राहतको महसुस गर्छ । अग्ला अग्ला भीरपाखा र सुन्दर वनभित्र फोटो खिच्न पाइनुको साथै मौसमअनुसार फरक फरक अनुभूतिहरू लिन सकिने भएकाले मर्निङवाकको बानी परेकालाई यस ठाउँले दैनिक तान्छ,’ दाहालले त्यस चित्रमय भूगोलको वर्णन गरे ।
दाहाल जस्तै चरिकोटका बलराम खड्का पनि यस पदमार्गमा दिनहुँ प्रातः भ्रमणमा निस्कन छुटाउँदैनन् । ढुंगाले बनेका सिँढीयुक्त बाटो भएकाले हिँडडुल गर्न पनि सहज, चिप्लीने भय पनि नहुने र थकाइ मार्न ठाउँ ठाउँमा विश्राम स्थल बनाइएकाले यस ठाउँ ‘भर्जिन’ लागेको उनले अनुभूति पस्किए । यस ठाउँमा पहिला सामान्य बाटो मात्र भएकोले हिँड्न सकस थियो । खुडकिलोयुक्त साँघुरो बाटो भारी लिएर हिँड्न जोखिमयुक्त पनि थियो । अहिले दुई मिटरको ढुंगा ओछ्याएको सिँढी भएकाले पदमार्ग व्यवस्थित र सुरक्षित बनेको भीमेश्वर नगरपालिका वडा नम्बर १ का अध्यक्ष माधव थामीले बताए ।
‘स्थानीयलाई वनमा घाँस—दाउरा, स्याउला, पत्कर आदि लिन जानको लागि यही फुटट्रेल सहज भएको छ । अर्कोतर्फ वनमा डढेलो सल्किइहाल्यो भइहाल्यो भने यो पदमार्गले डढेलो नियन्त्रणमा फायरलाईन अर्थात अग्निरेखाको काम गरेको छ । पूरै जंगलमा आगो सल्किए पनि जोगाउन सकिने गरी संरचना बनेकाले यसले विपद्को जोखिम घटाउन पनि मद्दत गरेका’ छ,’ वडाअध्यक्ष थामीले बताए ।
पदमार्ग रहेको वन क्षेत्रमा चिराइतो सतुवा, पाँचऔंले जस्ता दुर्लभ जडिबुटीहरु पनि प्रशस्तै पाइने भएकाले यसबारे खोज—अन्वेषण, अध्ययन, अनुसन्धान गर्नेहरू पनि पुग्न थालेका छन् । उनीहरूका लागि पनि पदमार्गले सजिलो बनाइदिएकै छ । गुम्फाआपोक र डोङडोङआपोक गुफाहरू पनि यसै पदमार्गमा पर्दछ । यस पदमार्गअन्तर्गत भ्यूटावर नजिकै दक्षिण एसियाकै अग्लो बन्ने भनिएको बुद्धको मूर्तिसमेत निर्माणधीन छ । जसले गर्दा यस क्षेत्र पर्यटकको थप आकर्षणको थलो बन्न सक्ने स्थानीयले बताएका छन् ।
व्यवस्थित पदमार्ग बनेपछि यस क्षेत्रमा घुम्न जाने, फोटो खिच्ने तथा टिकटक, रिल्स बनाउनेहरूको भीड बढेको छ । जसले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको छ । यसअघिनै दोलखाको भीमेश्वर नगरपालिका वडा नंं. १ स्थित राङराङथलीदेखि भ्यूटावरसम्म तीन किलोमिटर लामो पदमार्ग परियोजनाकै सहयोगमा निर्माण गरिएको थियो ।
नगरपालिकाले थालेको काम आर्थिक लगायतको समस्याका कारण योजनाले पूर्णता पाउन नसकिरहेको अवस्थामा तयार नेपालले हामीसँग सहकार्य गर्न तत्पर भयो । परियोजनाले हातेमालो गरेपछि व्यवस्थित पदमार्ग बनाउन सम्भव भयो ।
नगरपालिकाकै योजनामुताबिक दुई किलोमिटर पैदलमार्ग, पिकनिक पार्क र विश्रामस्थल निर्माण भएपपछि यस क्षेत्रको स्वरूप बदलिएको हो । सिमपानी पोखरीदेखि भ्यूटावरसम्म दुईहजार सिंढी बनेका छन् । विपद् जोखिम व्यवस्थापन परियोजना अन्तर्गत बनेको उक्त पदमार्ग निर्माण गर्न १ करोड २५ लाख ४३ हजार १६ रुपैयाँ (मूल्य अभिवृद्धि करबाहेक) खर्च भएको छ ।
यो पदमार्गले सुस्पाक्षमावतीबाट पैदलै हिँडेर सदरमुकाम चरिकोट आउजाउ गर्ने स्थानीय समुदायको बाटोलाई पनि छोट्टयाइदिएको छ । व्यवस्थित बाटो नहुँदा बर्खामासमा हुने दुर्घटनाको जोखिम पनि न्यूनीकरण भएको स्थानीय बताउँछन् ।
नगरपालिकाले खोरथली सामुदायिक वनमा निर्माण गरेको यो पदमार्गले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ नै, यसले नगरपालिकाको आयमा समेत योगदान दिने अवस्था बनेको भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत बताउँछिन् । ‘यस पदमार्गलाई भीमेश्वर नगरपालिकाको मात्र नभई जिल्लाकै उत्कृष्ट र नमूना पदमार्गको रूपमा लिन सकिन्छ,’ उनले भनिन्, ‘व्यवस्थित पदमार्गकै आन्तरिक एवम् बाह्य पर्यटक बढ्दा यस क्षेत्रको व्यापार, व्यवसाय बढ्छ । नागरिकको आयआर्जनमा पनि यसले भूमिका खेल्छ ।’
उनले पदमार्ग पर्यापर्यटन, पर्यासंस्कृति जगेर्ना गर्ने माध्यम बन्न पुगेको भन्दै खुसी व्यक्त गरिन् । ‘यस पदमार्गले गर्दा आन्तरिक पर्यटकको बसाइ एकदुई दिन लम्बिन्छ, किन कि दोलखा भीमेश्वर नजिकैको चम्पूजापार्क, मञ्जुश्रीपार्कहुँदै पर्यटकहरू हाइकिङका लागि पनि यो पदमार्ग प्रयोग गर्न थालेका छन्,’ उपप्रमुख बस्नेतले बताइन् ।
यस क्षेत्रमा घुम्न आउने आन्तरिक एवम् बाह्य आगन्तुक बढेपछि राङराङथली पोखरी (तिलक पोखरी) नजिकैका थामीहरू सामूहिक उद्यमशीलतामा जुटेका छन् । उनीहरू होमस्टे सञ्चालन गर्न लागिपरेका हुन् । थामी संस्कृतिको जगेर्ना र रैथाने स्वाद चखाउन घरबास योजना अघि सारेको उनीहरू बताउँछन् ।
‘यहाँ आउने पाहुनालाई हामी हाम्रै (थामी) संस्कृतिले स्वागत—सत्कार गर्छौं । हाम्रो खानाका परिकारहरूको स्वाद चखाउँछौं । आगन्तुकले नयाँ स्वाद पनि पाउने, समुदायको आयआर्जन पनि बढ्ने सोचेका छौं । जे होस्, पदमार्गले हामीलाई होमस्टेको बाटो देखायो,’ स्थानीय रुकु थामीले भनिन् ।
नगरपालिकाले स्थानीयलाई होमस्टे र पदमार्ग आसपासमा चिया पसल र रेष्टुरेन्ट सञ्चालनका लागि आवश्यक सहयोग गर्ने उपप्रमुख बस्नेतले बताइन् । त्यसका लागि नगरपालिकाले बजेट पनि विनियोजन गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ को लागि गाउँ गाउँमा उत्पादन, सहरमा पर्यटन भन्ने नारालाई सार्थक बनाउन पूर्वाधार पर्यटनका लागि, पर्यटन जीउने आधारका लागि भन्ने मूलमर्मलाई आत्मसात् गर्दै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र साहसिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने पर्यटन गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याइने छ र पर्यटन क्षेत्रमा नगरपालिकाबाट सम्पादन गरिने कार्यका लागि ८२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
‘भूकम्प र कोभिडको महामारीपछि आय गुमाएर संकट बेहोरिरहेका थामी समुदायलाई केही हदसम्म भएपनि राहत होस् र आम्दानी पनि बढोस् भन्ने हिसाबले पदमार्ग निर्माण गरेका हौं । यो अवश्य पनि आम्दानीको नयाँ स्रोत बन्न सक्छ । विपन्न थामी समुदाय यसबाट लाभान्वित हुनसक्छन् भन्ने अपेक्षा राखेका छौं,’ बस्नेतले बताइन् ।
भ्यूटावरबाट राङराङथलीसम्म निर्माण गरिएको तीन किलोमिटर लामो पदमार्ग सुष्पा सामुदायिक वन र गुम्फामहभीर लिटे सामुदायिक वनक्षेत्रमा पर्छ । सिमपानी पोखरीबाट भ्यूटावरसम्म भर्खरै निर्माण गरिएको पदमार्ग चाहिँ खोरथली सामुदायिक वनक्षेत्र अन्तर्गत पर्दछ ।
हरदम हिमालको हावा आईपुग्ने उच्चपहाडी भुभागमा अवस्थित यो ठाउँमा लालीगुराँस र थरिथरीका सुनाखरी फुल्ने परिचय बोकेको सामुदायिक वन आफै मनमोहक छँदै थियो । त्यसमाथि नगरपालिका र तयार नेपाल परियोजनाको सहकार्यमा फुटट्रेल निर्माण भएपछि पर्यटन विकासमा समेत सहयोग पुगेको गुम्फामहाभिर लिटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशरबहादुर थामीले बताए ।
‘योजनावद्ध विकास र त्यसका लागि असल प्रयासले भेगकै मुहार कसरी उज्यालो बनाउन सकिन्छ भनेर यो परियोजनाले सिकाएको छ । यस पदमार्गले स्थानीयको आय त बढाएको छ नै, सामुदायिक वनको विकासमा पनि टेवा पु¥याएको हामीले बुझेका छौैं, सामुदायिक वनका अध्यक्ष थामीले भने ।