ठूलो पानी दर्किंदा पानीपोखरी गाउँका शन्त थामीलाई अब कुनै भय छैन । जस्तापाताले छाएको एकतले घर । सुतेका बेला पानी दर्कियो भने जस्तापाताको कर्कश आवाज निस्कन्छ । जस्ता पाताले सुनाउने दर्किएको झरीको आवाजसँगै ठुल्ठूला पहिराले थाहै नपाई सोहर्छ कि भनेर डराउने पर्ने अवस्था नरहेको उनी सुनाउँछन् । शन्तको छिमेकी, लक्ष्मी थामीको अनुभव पनि यस्तै छ । उनको पनि दर्के झरीले मनमा भयको तुफान चलाउन छाडिसकेको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर १ पानीपोखरीका शन्त थामी र लक्ष्मी थामी त प्रतिनिधि पात्र मात्र हुन । उनीहरू जस्ता अधिकांशले अहिले पहिरो र विपद्को बारेमा आफूलाई धेरथोर जानकार रहेको ठान्दछन् ।
लक्ष्मी थामीको घरनजिकै रेन गज (पानी नाप्ने उपकरण) राखिएको छ । जुन उपकरणले पानी कत्तिको पर्दैछ, माटोको आद्रता कस्तो छ, जमिनको भित्री सतह हलचल कस्तो छ ? भनेर जानकारी दिन्छ । त्यो उपकरण उनीहरूका लागि जीवनदायक बनेको छ ।
एक्टेन्सोमिटर (जमिनमुनिको हलचल नाप्ने उपकरण) र तापक्रम नाप्ने यन्त्र गाउँमै राखेपछि उनीहरूलाई पानी पर्दा पनि ढुक्क हुने वातावरण मिलेको हो । कत्रो पानी परिरहेको छ र यसले निम्त्याउन सक्ने क्षतिको प्रकृति के हो भनेर समितिमा आबद्ध रहेकाहरूको मोबाइलमै सन्देश बज्ने भएपछि ढुक्क हुने अवस्था बनेको उनीहरू बताउँछन् । ‘झरीको घनत्वसँगै पहिरोको बारेमा विस्तृत जानकारी हुने भएकाले ठूलो पानी पर्ने बित्तिकै डराइहाल्नुपर्ने अवस्था छैन,’ लक्ष्मी थामी बताउँछिन् ।
अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनाको सहयोगमा भीमेश्वर नगरपालिका वडा नम्बर १ बोसिम्पामा पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको छ ।
त्यसले यस भेगका समुदाय पहिरोको डरबाट मुक्त भएको लक्ष्मीले बताइन् । आदिवासी जनजाती, थामी समुदायको मात्र बसोबास रहेको गाउँ बोसिम्पामा अघिल्लो जेठमा तयार नेपाल र भीमेश्वर नगरपालिकाको सहकार्य तथा इन्टिष्च्युट अफ् हिमालयन रिस्क (आइएचआरआर) को प्राविधिक सहयोगमा उक्त उपकरण जडान गरिएको थियो ।
२४ घरधुरी रहेको उक्त ठाउँमा कति पानी प¥यो ? यसले निम्त्याउन सक्ने क्षति के हो भनेर जानकारी दिन्छ । उपकरणको संरक्षणकालागि स्थानीयस्तरमा इन्ष्टिच्युट अफ हिमालयन रिस्क रिडक्सनको अलर्ट भीमेश्वर परियोजनाअन्तर्गत संरक्षण समिति गठन गरिएको छ ।
बेलाबेलामा उपकरण हेरचाह गर्ने, झार उखल्ने, सोलारलाई घामपट्टि फर्काइदिने काम त्यही समितिले गर्छ ।
महिना—महिनामा बैठक राखी नागरिकहरूलाई यस उपकरणको बारेमा जानकारी गराउने काम पनि समितिले गर्दै आएको छ ।
‘जसले गर्दा ठूलो पानी पर्दा डराउनु नपर्ने र कथम् पहिरो जाने अवस्थामा आएमा मोबाइलमा म्यासेज आउँछ । समुदायका मानिसहरू चनाखो भइहाल्छन्,’ समितिका संयोजक रामकाजी थामीले बताए ।
यस उपकरणकै कारण राती ठूलो पानी पर्दा पनि ढुक्कले सुत्न पाएको र गाउँ नै सुरक्षित महसुस भएको संयोजक थामीले बताए । यसले पहिरो रोक्ने त होईन तर उपकरणकै कारण पानी कत्ति परिरहेको छ ? पहिरो कत्ति सरिरहेको छ ? आफैले अनुभूति गर्न सकिने र हेर्न पनि सकिने संयोजक थामीको अनुभव छ ।
उनैले आफूलाई आएको म्यासेज समिति सदस्य तथा समुदायमा फरवार्ड गर्ने गरेका छन् ।
२०७२ साल वैशाख १२ गते गएको भूकम्पले यस ठाउँ (बोसिम्पा) तहसनहस भएको थियो । भूकम्पले जमिन थिलोथिलो बनाएपछि बर्खायाममा पहिरो गयो । पहिरोले प्रकोपकै रूप लिएपछि यस ठाउँ बस्नयोग्य नरहेको निष्कर्षमा उनीहरू पुगे । उनीहरूलाई नजिकैको सार्वजनिक ठाउँ पानीपोखरीमा स्थानान्तरण गर्ने योजना बनाइयो ।
भीमेश्वर नगरपालिकाको पहलमा पानीपोखरीमा ५७ घरधुरी एकै ठाउँमा र उस्तै प्रकृतिले बस्ने गरी एकीकृत वस्ती विकासको अवधारणा अघि सारियो । तर बास एक ठाउँमा र खेतीपाती अर्को ठाउँमा भएपछि रैथाने थामीहरू पानीपोखरीमा बस्न मानेनन् । उनीहरू पुरानै वस्तीमा फर्किए ।
उनीहरू जोखिमयुक्त ठाउँमै बस्न मञ्जुर गरेपछि यस ठाउँको भौगोलिक अवस्था र भूसंरचना बुझ्नको लागि पटक पटक भूभर्गविद्हरू यस ठाउँमा पुगेका थिए ।
पानीपोखरीमा ५७ घरधुरीमध्ये २० घरधुरीका मात्र यस ठाउँ बस्दै आएका छन् । बाँकि अरु फेरि बोसिम्पा फर्किए ।
दोलखाको गौरीशंकर गाउँपालिकाको हुप्पा र भीमेश्वर नगरपालिकाको सुष्पा बढी पानी पर्ने थलोका रूपमा परिचित छ । त्यसैले पनि यस ठाउँलाई पहिरो जानसक्ने अति जोखिमको रुपमा राखेको छ, भीमेश्वर नगरपालिकाले ।
भीमेश्वर नगरपालिकाले पहिरो एप (अलर्ट भीमेश्वर) तयार पारेको छ । यही एपका कारण आफ्नो वडावासीलाई पानीको मात्रा र पहिरो जानसक्ने अवस्थाका बारे सुसूचित गराउन सकिएको भीमेश्वर नगरपालिका–१ का वडाअध्यक्ष माधव थामीले बताए ।
बोसिम्पामा जडित उपकरण मार्फत् विशेष गरी तीन वटा विषयमा जानकारी हुने वडाअध्यक्ष थामीले जानकारी दिए ।
पहिलो, यस स्थानमा पानी कहाँ कत्ति परिरहेको छ भन्ने कुरा मोबाइलमा थाहा हुन्छ । दोस्रो, २४÷२४ घन्टामा रिपोर्ट मोबाइलमा आउने गर्छ ।
तेस्रो, माटोको चिसोपन कत्तिको छ भन्ने कुरा पनि यसै एपमार्फत् जानकारी हुन्छ । यसका अतिरिक्त जमिनमा हलचल आएको छ कि छैन भन्ने कुरा पनि यस एपबाट प्राप्त गर्दै आएको वडाअध्यक्ष थामीले बताए ।
यस उपकरण जडान गरेपछि दुई पटक पहिरोको पूर्वानुमान गरेर नागरिकलाई सन्देश पठाएको र सुरक्षित ठाउँमा जानलाई सजिलो भएको वडाअध्यक्ष थामीको अनुभव छ । २४ घण्टाभित्रै १२० मिलिमिटर पानी परेको हुँदा धेरै ठाउँमा सानातिना पहिरो पनि गएको थियो ।
यस ठाउँमा २०४४ साल र २०७२ सालमा ठूलो पहिरो गएको अभिलेख पनि वडाअध्यक्ष थामीसँग छ । जसले गर्दा यस उपकरणले जनतालाई सुरक्षित राख्न भरपर्दो र सजिलो पनि भएको थामीले बताए ।
भीमेश्वर नगरपालिकामा पहिरोको अभिलेख हेर्दा वर्षा याममा एक सयभन्दा बढी साना—ठूला पहिरो गएको छ । त्यसमध्ये पनि यस बोसिम्पामा २५÷३० वटा सानातिना पहिरो गएको नगरपालिका नगर आपतकालीन सञ्चालन केन्द्रको अभिलेखमा देखिन्छ । अत्यधिक वर्षा हुने भएकाले पनि बोसिम्पा पहिरोको उच्च जोखिममा छ ।
युएसएआइडी तयार नेपालको सहयोगमा भीमेश्वर नगरपालिका–१ बोसिम्पामा पूर्व सूचनाप्रणाली अन्तर्गत उपकरण जडान गर्नुको अतिरिक्त नागरिक वैज्ञानिकमार्फत पनि वर्षाको मात्रा मापन र अध्ययन थालिएको छ ।
एसिएन डिजास्टर प्रिपेरनेस सेन्टर (एडिपीसी) को आर्थिक सहयोग र जिल तथा मौसम विज्ञान विभाग (डएचएम) को प्राविधिक सहयोगमा भीमेश्वर नगरपालिकाभित्र नागरिक वैज्ञानिकसमेत खडा गरिएको छ ।
भीमेश्वर नगरपालिकाले प्रत्येक वडामा वर्षाको मात्रा मापन गर्नका लागि ५५ जनालाई तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाएको विपद् व्यवस्थापन सम्पर्क अधिकृत इञ्जिनियर सुरेश राउतले जानकारी दिए । प्रमुख पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका पनि सम्पर्क अधिकृत हुन् ।
नागरिक वैज्ञानिकहरूले पनि आफ्नो टोल—वस्तीमा कहाँ कत्ति वर्षा भएको छ भन्ने कुरा सहजै जानकारी प्राप्त गर्न सक्छन् र ती कुरा सम्बन्धित निकायमा जानकारी गराउँछन् ।
जसले पहिरो एप अर्थात अलर्ट भीमेश्वरको सूचना विस्तृतीकरणमा झन् ठूलो टेवा पु¥याएको छ ।
अलर्ट भीमेश्वरलाई प्रभावकारी बनाउनका लागि नगर आपतकालीन सञ्चालन केन्द्रले १५ जनाको टिममा म्यासेज पठाउने व्यवस्था गरेको छ । त्यस्तै २४ घन्टाको अवधिमा कहाँ कत्ति पानी प¥यो भनेर सामाजिक सञ्जाल र स्थानीय एफएम रेडियोबाट समेत प्रसारण गर्दै आएको राउतले जानकारी दिए ।
यस खालको पहिरो एप धादिङको नीलकण्ठ नगरपालिकामा पनि सञ्चालनमा ल्याइएको छ । भीमेश्वर नगरपालिकाले सञ्चालनमा ल्याएको नगर आपतकालीन सञ्चालन केन्द्रको रेकर्डअनुसार भूकम्प, आगलागी, चट्याङ, सडक दुर्घटना, जनावर आक्रमण, डुबान, विद्युत दुर्घटना, महामारी, हावाहुरी, भूकम्प लगायतको घटनाभन्दा बढी बाढीपहिरोमै परेर मृत्यु भएको देखिन्छ ।
२०७७ सालदेखि २०७९ सालसम्मको डाटा अनुसार जिल्लाभर बाढी पहिरोमा पनि १५० जनाको मृत्यु भएको देखिन्छ । तसर्थ पनि भीमेश्वर नगरपालिका लगायत युएसएआइडी तयार नेपालले विपद्लाई पहिलो प्राथमिकता दिएको छ । जसमध्ये पनि पहिरोबाट जोगिनको लागि विभिन्न विधि अपनाएको छ ।
पहिरोमा आधारित पूर्वसूचना प्रणालीले पहिलो पटक भीमेश्वरलाई लाइभ डेटाको युगमा प्रवेश गराएको छ । यसबाट प्राप्त मौसम सम्बन्धि डेटा र मूलतः वर्षातको डेटाले प्रत्येक वर्ष मनसुन अवधिमा हुने सानो ठूलो पहिरो पूर्वतयारीमा महत्त्वपूर्ण योगदान दिएको छ ।
यसलाई नै आधार मानेर भीमेश्वरले हाल जल तथा मौसम विभागको सहकार्यमा प्रभावमा आधारित पूर्वानुमान जारी गर्न थालेको छ । यसको सिकाइले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा महत्त्वपूर्ण कार्यहरू भएका छन् ।
युएसआइडी तयार नेपालको सहयोगमा तीन तहका चार वटै क्षेत्रहरुमा देखिने गरी भीमेश्वर नगरपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका कार्यहरू सम्पादन गर्न सकेको छ ।
त्यसैगरी विपद् व्यवस्थापनका प्रत्येक चरणमा चाहे त्यो विपदको बेला होस् वा तत्पश्चातको बेला । या पूर्वतयारी अनि पूर्व सूचना प्रणाली नै किन नहोस्, जलवायु परिवर्तन, उद्यमशीलता र पर्यापर्यटनको क्षेत्रमा समेत हातेमालो गरेको छ ।
यो बीचमा भीमेश्वर नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समिति थप सक्रिय भएको छ । विपद् व्यवस्थापनका सवालहरू विषयगत समितिमा छलफल भै नीति र बजेट दुवैमा समेटिएको छ । विपद्सम्बन्धी कानूनहरू विशेषतः ऐन, विपद् कोष, मूलप्रवाहीकरण कार्यविधि लगायतका कानूनहरू क्रमशः कार्यान्वयनमा आएका छन् । अन्तर शाखाका बजेट कार्यान्वयनमा विपद्लाई मूलप्रवाहीकरण गर्न सकिएको उपप्रमुख बस्नेत बताउँछन् ।
तयार नेपालको सहयोगमा तीन तहका चार वटै क्षेत्रहरूमा देखिने गरी भीमेश्वर नगरपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका कार्यहरू सम्पादन गर्न सकेको उनी बताउँछन् ।
त्यसैगरी विपद् व्यवस्थापनका प्रत्येक चरणमा चाहे त्यो विपदका बेला होस् वा तत्त पश्चातको बेला । पूर्वतयारी अनि पूर्व सूचना प्रणाली नै किन नहोस्, जलवायु परिवर्तन, उद्यमशीलता र पर्यापर्यटनको विकासमा समेत हातेमालो गरेको विपद् व्यवस्थापन सम्पर्क अधिकृत इञ्जिनियर सुरेश राउतले जानकारी दिए ।
नगरस्तर, वडास्तर एवम् समुदायस्तरमा विपद् सम्बन्धी क्षमता अभिवृद्धिका लागि समावेशीमूलक योगदान गर्न तयार नेपाल सफल भएको राउतले बताए ।
निजी क्षेत्र लगायतका सरोकारवालाहरू, उद्यमी, युवासमेत विपद् व्यवस्थापनको कार्यबाट लिन सक्ने लाभ र गर्ने सक्ने सहकार्यलाई समेत परियोजनामा समेट्दा विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन ‘क्रस कटिङ’ विषय रहेछ भन्ने बुझाइको साथै व्यवसायिक क्षमतामा समेत वृद्धि भएको राउतले बताए ।
यद्यपि, वडास्तर र समुदायस्तरमा अझ थप कार्यहरू भीमेश्वरले गर्न जरुरी रहेको समुदायका मानिसहरू बताउँछन् ।
नगर आपतकालीन कार्य सञ्चालन केन्द्रको संस्थागत विकास, उपकरण एवम् सामग्री हस्तान्तरण, विपद् पोर्टलको स्थानीयकरण, सम्पर्क, समन्वय एवम् सिकाई आदानप्रदानमा परियोजनाले महत्त्वपूर्ण कार्य गरेको उपप्रमुख कमला बस्नेतले बताइन् ।