गत हप्ताको २ दिने अविरल वर्षाले क्षतिग्रस्त खुर्कोटको पुल बढीमा १० दिनभित्रै सम्पन्न हुने भएको छ । बढीमा १० दिनभित्र एमपीवी (मोडुलर प्यानल ब्रीज) जोडेर यातायात सुुचारु गरिने नेपाली सेनाले जनाएको छ ।
वर्षाले रामेछाप र सिन्धुली जोड्ने पुल क्षतिग्रस्त बनाएपछि सरकारले उक्त पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौँको प्राविधिक टोलीले अहिले पुल निर्माणको काम गरिरहेको छ ।
बुुधवारबाट एमपीवी जडानको काम सुुरु भएको र बढीमा १० दिनभित्र काम सम्पन्न गरी यातायात सञ्चालन गरिने नेपाली सेनाको चौध बाहिनी अड्डाले जनाएको छ । तामाकोशी–मन्थली–खुर्कोट सडक अन्र्तगत एडीवीको सहयोगमा निर्माण भएको खुर्कोट पुलको आधा भागमा वर्षापछिको बाढीले क्षति गरेको थियो ।
तीन सय ६० फिट लम्वाईको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको र सोहि ठाँउमा एमपीवी जडानको काम भै रहेको पुुल निर्माणको नेतृत्व गरिरहेको नेपाली सेनाको चौध बाहिनी अड्डाका कर्नेल नारायण तुम्बाहाम्फेले बताए ।
बाढीले बनेपा–बर्दिवास वीपी राजमार्ग र खुर्कोटको पुलमा क्षतिगरेपछि दोलखा, रामेछाप, ओखलढुुङ्गा, सोलुखुम्बुु, खोटाङ, भोजपुर, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुुपाल्चोकका स्थानीयलाई आवतजावतमा समस्या भएको छ । अहिले यी क्षेत्रमा चल्ने सवारीसाधनहरु काठमाडौँबाट दोलखा सदरमुकाम चरिकोट, जिरी र रामेछापको गन्तव्य तर्फ जाने गरेका छन् । नेपाली सेनाले खुुर्कोटको पुल निर्माणको काम द्रुत गतिमा गरिरहेकोले चाँडै यातायात सुुचारु हुने देखिएको दोलखा मेलुुङ गाउँपालिका अध्यक्ष हिराकुमार तामाङले बताए । सरकारले वीपी राजमार्गको काम समेत चाँडै सकेर यातायात सहज गर्नुपर्ने तामाङ बताउछन् ।
खुर्कोटको पुल निर्माणको लागि नेपाली सेनाले प्राविधिक काम गरिरहेको छ भने सडक विभागले सामान उपलब्ध गराउने लगायतका काम गरिरहेको छ । खुर्कोटको पुल निर्माणको लागि एमपिवि डिभिजन सडक कार्यालय हेटौडाले उपलब्ध गराएको र सडक डिभिजन कार्यालय खाल्टेले जनशक्ति र प्राविधिक बाहिकको काममा नेपाली सेनालाई सहयोग गरेको इन्जिनियर प्रदिप तामाङले बताए ।