दोलखाको मेलुङ गाउँपालिका अन्तर्गत नयाँपुल–पवटी–डाँडाखर्क सडकखण्ड जोड्ने ६.७१९ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी सुरु गरिएको छ । निर्माण कार्यलाई तीव्रता दिनको लागि गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङ, उपाध्यक्ष गायत्री आचार्य, मेलुङ–१ का वडाअध्यक्ष ईश्वर कोइराला, २ का वडाअध्यक्ष रामकृष्ण भण्डारी, पालिकाका प्राविधिक र इन्जिनियर, स्वछन्ध जेबीबाट निर्माण व्यवसायीहरु र ग्रामीण सडक सुधार आयोजनाका कर्मचारीहरुले उक्त सडकखण्ड अनुगमन गरेका थिए । त्यसलगत्तै कम्पनीले कालोपत्रे गर्नको लागि पूर्वाधार निर्माण सुरु गरिएको हो ।
एडिबीको ऋण सहयोगमा ग्रामीण सडक सञ्जाल सुधार कार्यक्रम अन्तर्गत उक्त सडक कालोपत्रे गर्न बागमती प्रदेश सरकार अन्तर्गत यातायात पूर्वाधार निर्देशनालयले गत वर्षको असारमा १९ करोड १८ लाखको ठेक्का टेन्डर आह्वान गरेको थियो । जसअन्तर्गत सिन्धुलीको स्वछन्ध जेबीले १७ करोड ९१ लाख ११ हजारमा ठेक्का पाएको छ । उक्त सडक कम्पनीले २ वर्षभित्र सम्पन्न गरि सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
सडक निर्माण कार्यलाई कुनै अवरोध नहोस र काममा गुणस्तर कायम गर्नको लागि वडाअध्यक्ष इश्वर कोइरालाको संयोजकत्वमा गुनासो निवारण समिति समेत गठन गरिएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
कालोपत्रे निर्माणधीन सडकको चौडाई साढे ५ मिटर हुनेछ भने त्यसैमा नाला निर्माण हुनेछ । उक्त सडक कालोपत्रेका लागि आफुले विगत २ वर्षदेखि नै पहल गरेको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिनुभयो । आफुले पटक–पटक बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयमा धाएको र बजेटको व्यवस्था मिलाएको उहाँले बताउनु भयो ।
सडक कालोपत्रे भएपछि शैलुङ गाउँपालिकाको केहि भूभागका स्थानीय र मेलुङ गाउँपालिकाका सिम्टे, पवटीलगायतका गाउँका स्थानीय लाभान्वित हुनेछन् । सो क्षेत्रका गाउँमा सडकको पहुँच पुगेपनि वर्षायाममा निकै समस्या पर्दा स्थानीयको कृषि उपज सामग्री सहज ढुवानी र बजारीकरणमा समस्या पर्ने गरेको थियो ।
कृषि र पशुपालनले प्रचूर सम्भावना रहेको सो क्षेत्रका बासिन्दाले बर्खायामको मौसममा कृषि उपजको बजारीकरणमा समस्या पर्दै आइरहेको थियो । गाउँमा सडक पहुँचसँगै कालोपत्रेको काम अघि बढेपछि स्थानीय बासिन्दा निकै उत्साहित भएका छन् ।