दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याम्पलस्थित थामी बस्ती यतिबेला नयाँ कृषि खेतीतर्फ आकर्षित भएको छ । यस गाउँका स्थानीयहरूले परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै व्यावसायिक रूपमा किवी खेती सुरु गरेका छन् । आदिवासी जनजाति थामी समुदायको मात्र बसोबास रहेको यस बस्तीमा पछिल्लो समय किवी खेतीप्रति लगाब बढेको छ ।
कर्ण बहादुर थामीले केही वर्षअघि किवी खेतीबारे जानकारी पाएपछि परीक्षणका रूपमा थोरै बोट लगाएका थिए । यो फलले राम्रो उत्पादन दिन थालेपछि उनले बनमारा उम्रेका र खाली बाँजो बारीमा किवी खेती विस्तार गरे । अगुवा कृषक कर्ण बहादुर थामीले किवी खेतीको नेतृत्व गरेका छन्, उनले यस वर्ष १० हजार रुपैयाँभन्दा बढीको किवी बिक्री गरेर आम्दानी गरेका छन् । किवी लगाएको २ देखि ३ वर्षमा फल दिन थालेको छ । कर्ण बहादुरको किवी खेतीले गर्दा समुदायका अन्य किसानलाई पनि प्रेरित गरेको छ । कर्ण बहादुरले जस्तै पूर्ण थामीले पनि यस वर्ष १० हजारभन्दा बढीको किवी बेचेका छन् । मलजल पुर्याउन सकेमा एउटै बोटमा २० देखि ३० किलोसम्म फल्ने भएकाले पूर्ण थामीले सोचेजस्तै आम्दानी गर्न सकेका हुन् । आलु, मकै, कोदो रोप्दा २ देखि ३ पाथी फल्ने तर किवीले १०, १२ हजार सहज तरिकाले आम्दनी दिने भएकाले यसैमा समय लगाएको किवी कृषक थामीले बताउनु भयो । किवी खेतीको सफलताले थामी बस्तीका अरू बासिन्दालाई पनि आकर्षित गरेको छ । अहिले यस बस्तीका अधिकांश परिवार किवी खेतीमा लागेका छन् । सामूहिक रूपमा खेती गर्न थालेपछि उत्पादित किवीको बजार व्यवस्थापन, गुणस्तर सुधार, र आर्थिक लाभ पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।
नाम्सालिङ सामुदायिक विकास केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा कालिञ्चोक सामुदायिक विकास केन्द्रको पहलमा यस वडामा ४ हजार २५० वटा किवीको विरुवा रोपेका थिए । यस भित्री खर्कलाई किवी पकेट क्षेत्रनै घोषणा गरी किवी बिस्तार गरेको कृषि प्राविधिक अस्मिता बस्नेतले जानकारी दिनुभयो । यस पकेट क्षेत्रमा ६५ घरधुरी आवद्ध रहेका छन् । बाँदर, मृग, र कालिजले नोक्सान नपार्ने भएपछि स्थानीयको आग्रहमा ४ वर्षअघि किवी खेती सुरु गरेको प्राविधिक बस्नेतले जानकारी दिनुभयो । सिजनमा फलेका किवी किन्नलाई चरिकोट र काठमाडौबाट माग आएको स्थानीयको भनाई छ । घर आउने पाहुना र काठमाडौमा रहेका आफन्तजनलाई पनि कोसेलीको रुपमा दिन मिल्ने भएकाले किवीखेती उपयुक्त भएको पूर्ण थामीको भनाई छ । उनले किवी बेचेरै घरखर्च भ्याएका छन् । किवी बेचेर त्यसबाट प्राप्त पैसाले घरमा दैनिक उपभोगीय वस्तु चामल, तेल, नून, मसाला किन्न र छोराछोरीलाई स्टेशनरी किन्नको लागि पनि सजिलो भएको किवी कृषक थामीले बताउनु भयो ।
स्थानीयले खेतीपाती गर्न छाडेको २ सय रोपनी जग्गामा २ हजार २ सय विरुवाबाट किवी खेती विस्तार गरेका हुन् । यस वर्षमात्र यहाँका ५० घरधुरीभन्दा बढी किसानले किवी बेच्न थालेका छन् । सिजनमा ताजा किवी बेच्न र अफसिजनको लागि नाम्सालिङ संस्थाले चिस्यान केन्द्रको व्यवस्था गरिदिएको छ । यही चिस्यान केन्द्रमा राखेको किवीबाट जुस, जाम समेत उत्पादन गरेको दिपजंङ्ग साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष कर्ण बहादुर थामीले बताउनु भयो । किवी किसानको मिहिनेत र मर्कालाई बुझेरै संस्थाले सुरुमा किवीको विरुवा, सिंचाई, तालिम र थाङ्ग्रा प्रदान गरेको नाम्सालिङ सामुदायिक विकास केन्द्र परियोजना जिल्ला संयोजक राजन क्षेत्रीले बताउनु भयो । संस्थाले गाउँपालिका र अन्य सहयोगी निकायसँग सहकार्य गरेर कालिञ्चोक १ का स्थानीयलाई किवीखेतीबाटै आत्मनिर्भर बनाउने लक्ष्य लिएको जिल्ला संयोजक क्षेत्रीले बताउनु भयो । किवीखेतीलाई मात्र प्राथमिकता दिने होभने कोही व्यक्ति बेरोजगार भएर बस्न नपर्ने र विदेशिनु नपर्ने क्षेत्रीको भनाई छ ।
किवी एक पोषणयुक्त फलफूल हो, जसको बजार मूल्य पनि उच्च छ । यस ठाउँको जस्तो चिसो हावापानी भएको क्षेत्रमा यसको उत्पादन राम्रो हुने विज्ञहरूको भनाइ छ । यहाँको माटो र हावापानीले किवी उत्पादनलाई थप सफल बनाएको छ ।