सदाबहार ठण्डी हुने ठाउँ हो चरिकोट । अहिले त झन् १० डिग्री सेन्टीग्रेड छ चरिकोटको मौसम । भीमेश्वर कर्भड हल चरिकोटमा खेलाडीहरु पूर्णतयारी देखिन्थे । कर्भड हलभित्र भलिबल कोर्टको चहकिलो वातावरण । खेलाडीहरूको उत्साहपूर्ण चहलपहलबीच, नीलो र रातो जर्सी पहिरनमा सोनीया तामाङको संघर्षपूर्ण कथा विशेष झल्किन्छ । उनी हुन्, २२ वर्षीया सोनीया तामाङ, विगु गाउँपालिका–२ ओराङकी गर्विलो छोरी । उनको साथमा छ, १८ महिनाको बालक, जसलाई काखमा च्यापेर उनी खेल मैदानमा उत्रिन्छिन् । उनी गौरीशंकर गाउँपालिकाकी छोरी र विगु गाउँपालिकाकी बुहारी हुन् ।
सोनीया तामाङको भलिबल यात्राको सुरुआत कक्षा ८ मा पढ्दादेखि भयो । उनी विगु गाउँपालिका– १ गौरीशंकर मावि जगतमा पढ्थीन । अहिले प्रताप स्मृति कलेज सिंगटीमा स्नातक पढ्छिन् । उनका खेल शिक्षक हिरामणि गौतमका अनुसार, उनी पढाइमा राम्रो, उचाईले भरपुर, र खेलकुदमा गहिरो रुचि राख्ने विद्यार्थी थिइन् । “उनी अनुशासित मात्र होइन, भलिबल खेलप्रतिको लगावले फरक थिइन् । त्यो देखेर मैले उनलाई खेलकुदतर्फ आकर्षित गरें” गौतम भन्छन् ।
जब उनी भलिबल खेलमा प्रवेश गरिन, तब उनले स्कुल र पालिकास्तरदेखि धेरै प्रतियोगिताहरुमा सहभागी भईन् । विगत केही वर्षदेखि जिल्लास्तरीय र प्रदेशस्तरीय प्रतियोगितामा भाग लिँदै आफ्नो पहिचान निर्माण गरिन् । यस यात्रामा उनले धेरै पटक टिम क्याप्टेनको जिम्मेवारी सम्हालिन, थुप्रै मेडल, पदक र ट्रफी जितेकी छन् । तर, भलिबल खेलाडीको यो यात्रामा चुनौती र संघर्षको कमी थिएन । उनले हानेको सर्ट हत्तपत्त उठाउन सक्दैनन् । टिममा उनीकै भर पर्दछन् सबै ।
माघ ३ गतेदेखि सुरु भएको दोलखा जिल्ला भलिबल संघद्वारा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिता सोनीयाको टिमका लागि ऐतिहासिक रह्यो । उनको टिम, विगु गाउँपालिकाले प्रथम स्थान हासिल ग¥यो । सोनीया टिमकी खेलाडी (फस्ट सर्टर) थिइन् । उनी वेष्ट स्पाइकर बनिन । यस दौरान, मैदानमा खेल्दै गर्दा, ब्रेकका समयमा उनले आफ्नो बच्चालाई दूध चुसाएर खेलमा पुनः सहभागी हुने दृश्यले धेरैलाई प्रभावित बनायो । “बच्चा सँगै राखेर खेल्न सहज त छैन, तर खेलप्रतिको मेरो लगाव र सपना ठूलो छ । म चाहन्छु, मेरो बच्चाले पनि मेरो संघर्षबाट प्रेरणा लिन सकोस्,” सोनीया भन्छिन् ।
बच्चालाई दूध चुसाउदा बच्चाले आमालाई कस्सेर समाउथे । आमाले छाडेर नजाओस भन्ने बच्चाको चाहना हुन सक्छ । अरु मान्छेहरु देख्ने बित्तिकै बच्चा चिच्याउथे । जहाँ घण्टौपछि भेट भएको आमाले फेरी छुटाउने पो हो कि भन्ने भान देखिन्थ्यो बच्चामा । तर उनी हतार हतार बच्चालाई दूध चुसाउदै टिममा साथीहरुसँग छलफलमा सहभागी हुन् पुग्थिन् । टिममा अरुको भन्दा परिपक्व उमेर भएका कारणले पनि जिम्मेवारी उनक्रै काँधमा थुप्रिन्थ्यो ।
सोनीयाको संघर्ष नेपालका ग्रामीण भेगका खेलाडीहरूको प्रतिनिधि कथा हो । सन्तानको हेरचाह, आर्थिक समस्या, खेलप्रतिको लगाव र महिलाप्रति समाजको हेर्ने दृष्टिकोण उनीजस्ता खेलाडीहरूका अगाडि ठूला चुनौती हुन् । तर, यी चुनौतीलाई सामना गरेर उनले देखाएको लगाव सन्देशमूलक र प्रेरणादायक छ । “म राष्ट्रिय स्तरसम्म खेल्न चाहन्छु । मेरा जीत र मेहनतले मेरो बच्चा र परिवारलाई गर्व गर्न योग्य बनाउनु छ,” उनी दृढताका साथ भन्छिन् ।
सोनीया तामाङको यो कथा केवल खेलमैदानमा सीमित छैन् । यो एउटा आमाको प्रेम, संघर्ष, र ठूलो सपना बोकेको पुस्तक कथा हो । समाजले उनीजस्ता महिलाहरूको योगदानलाई सम्मान गर्नुपर्छ र खेलकुदलाई महिला सशक्तीकरणको माध्यम बनाउँदै, उनीहरूका सपनालाई सहारा दिनुपर्छ ।