सुरेल जातिको परम्परागत पेशा संकटमा पर्न थालेको छ । सुरेलहरूले चोयाबाट बुन्ने नाङ्लो, डोको, थुन्से, डालो, नाम्लो लगायतका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका थिए । तर, अहिले प्लाष्टिकको सामग्री सस्तो र सहज रूपमा उपलब्ध हुन थालेपछि माग घटेको छ । यसले गर्दा सुरेलहरूको जीविकोपार्जन र आयआर्जनमा ठूलो असर परेको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका–५ सुरीमा बसोबास गर्ने अल्पसंख्यक सुरेल समुदायका अर्जुन सुरेलले बताउनुभयो, “पहिले पहिले वर्षमा एक डेढ सय वटा चोयाको नाङ्लो, डोको, चित्रभकारी बिक्री गर्न सकिन्थ्यो । अहिले त २०–२५ वटा मात्र बिक्री हुन्छ ।“ प्लाष्टिकको नाङ्लो सस्तो र सहज उपलब्ध हुन थालेकाले ग्राहकहरूको परम्परागत चोयाको नाङ्लोप्रति रुचि घट्दै गएका छन् । यसले गर्दा सुरेलहरूको आयआर्जनमा ठूलो समस्या आएको छ ।
सुरेलहरूले वनबाट निगालो र बाँस ल्याएर चोयाको सामग्री बनाउने गर्थे । तर, अहिले वन डढेलो र निगालो फुल्न थालेकोले यी प्राकृतिक स्रोतहरू पनि अब सहज तरिकाले उपलब्ध हुन छाडेका छन् । साथै, बाँस रोप्न आफ्नै पाखोबारी नभएकोले पनि यो पेशा अझ गाह्रो बन्दै गएको छ । हर्क बहादुर सुरेलले भन्नुभयो, “पहिले सिजनमा सयौं थान चोयाको सामग्री बिक्री गथ्र्यौं । अहिले त प्रकृति र प्रविधि सबैतिरबाट समस्या आएको छ ।“
स्थानीय कृषि सहकारीले पनि सुरेलहरूलाई सहयोग गर्ने प्रयास गरेको छ । कृषि सहकारीले सुरेलहरूले बुनेका नाङ्लो किनेर बजारमा बिक्री गर्ने गरेको छ । कृषि सहकारीका अध्यक्ष राजन घतानीले बताउनुभयो, “किसानलाई मर्का नपरोस भन्ने हेतुले हामीले यी सामग्रीहरू किन्छौं र बिक्रीपछि पैसा दिन्छौं ।“
सुरेलहरुको पराम्परागत पेशाको संरक्षण र प्रवद्र्धनको लागि वडा कार्यालयले आर्थिक वर्ष ०८२/८३ मा विशेष कार्यक्रम तथा बजेट विनियोजन गर्ने गौरीशंकर गाउँपालिका–५ का वडाअध्यक्ष सुन्दर खड्काले बताउनु भयो ।