दोलखाको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनको लागि १० दिने बज्रगुरु मन्त्रजप कार्यक्रम आयोजना गरिएको छ । १८ औं १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा गर्नाले दोलखामा हजारौ धार्मिक पर्यटक भित्रिने उद्देश्यले यही चैत्र १७ देखि २८ गतेसम्म कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला भित्रका र बाह्य गरी हजारौं धार्मिक पर्यटकहरुको उपस्थिति रहने १८ औं १० करोड बज्रगुरु मन्त्रजप व्यवस्थापन समितिका संयोजक खेन्पो पेमा छिरी शेर्पाले जानकारी दिनुभयो । सदरमुकाम चरिकोटको टुडिखेलमा हुने उक्त विश्वशान्ति पूजा कार्यक्रममा पाँच सय जना लामाहरु र अन्य हजारौ धार्मिक व्यक्तित्वहरुको उपस्थिति रहने कुरा संयोजक शेर्पाले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । छम्बा गुम्बा तथा यार्जाङ गुम्बा व्यवस्थापन समिति र १८ औं १० करोड बज्रगुरु मन्त्रजप व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

बज्रगुरु मन्त्र जपबाट प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दोलखा जिल्लाको प्रचारप्रसार हुने विश्वास छ । साथै बौद्ध धर्म संस्कृति लगायत विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति र क्षेत्रप्रति सद्भाव जगाई शान्तिपूर्ण समावेशी समाजको निर्माणमा सहयोग पुर्याउने आयोजकले जनाएको छ । समाजमा फैलिएका विविध विकृति, विसंगती र कुरीतिहरुलाई न्यून गर्दै नैतिक शिक्षाको प्रचारप्रसार गरी सभ्य र नैतिकवान समाजको विकास गर्नको लागि पनि यस पूजा कार्यक्रमले टेवा पुर्याउने छ । जनसमुदायमा करुणा र मैत्री जस्ता धार्मिक चेतना र आस्थाको अभिवृद्धि हुने संयोजक शेर्पाले जानकारी दिनुभयो । यस कार्यक्रमले जिल्लामा रहेका धार्मिक, सांस्कृतिक, सम्पदाहरुको संरक्षण सम्वद्र्धन तथा विकास हुने र बौद्ध धर्म, दर्शन, संस्कृति र कलाको विषयमा ज्ञान प्राप्त हुने विश्वास आयोजकले जनाएको छ । अहिलेसम्म आयोजना गरेको स्थानहरुमा रोगब्याधी, अनिकाल, झैझगडा, कलह, दैविक प्रकोप जस्ता घटना नभएको र शान्तिपूर्ण वातावरण बनेको पूजा कार्यक्रमका संयोजक शेर्पाले बताउनु भयो ।

कार्यक्रममा पुगेका जोकोहीलाई निशुल्क खाजा, खानाको व्यवस्था आयोजकले गरेको छ । साथै दैनिक डेढ घण्टा नैतिक शिक्षा र बौद्ध शिक्षा प्रवचन हुनेछ ।