परम्परागत कला पौभा र थाङ्का चित्रकलाबारे छलफल आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा परम्परागत चित्रकला विभाग र तामाङ पत्रकार संघ काठमाडौं शाखाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा परम्परागत चित्रकलाको सिर्जना र व्यवसायको पक्षमा रहेर विमर्श गरिएको हो ।

’परम्परागत कलाको आयाम’ शीर्षकमा गरिएको विमर्शमा वक्ताको रुपमा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, पौभा कलाकार तथा लेखक उजय बज्राचार्य, पौभा चित्रकला व्यवसायी सुनिल शाक्य र थाङ्का चित्रकला व्यवसायी अनिल घिसिङ हुनुहुन्थ्यो । विमर्श कार्यक्रमको सहजीकरण पत्रकार सुशीला तामाङले गर्नुभएको थियो ।
कलाकार बज्राचार्यले कला सिर्जनामा अहिले सुखद रहेको बताउनु भयो । उहाँका अनुसार प्रविधि र आधुनिक फ्युजनको हकमा भने सिर्जनामा केही चुनौतीको सम्भावना छ । यसमा सम्पूर्ण कलाकारहरुले मौलिकताको पक्षमा ध्यान दिन रहेको उहाँले औंल्याउनु भयो । त्यस्तै, परम्परागत चित्रकला विभाग प्रमुख लामाले पौभा र थाङ्का कला विकासका लागि प्रतिष्ठानले समन्वयकारी भुमिका निर्वाह गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ’पौभा, थाङ्का जस्ता परम्परागत कलाको विकास र विस्तारका लागि हामीले कलाकार, व्यवसायी सबैलाई समेट्ने प्रयास गरिरहेका छौँ । परम्परागत कलाको सिर्जना र व्यवसायिक पाटो दुवै राम्रो होस् भन्ने हाम्रो मनोसाय हो ।’
व्यवसायीहरु शाक्य र घिसिङले परम्परागत चित्रकलाको बजार सन्तोषजनक रहेको सुनाउनु भयो । घिसिङले थाङ्का कलामा बजारको स्थिति राम्रो रहेपनि नयाँ पुस्ताका कलाकारहरुको उपस्थिति न्यून रहेको सुनाउनु भयो । ’नयाँ पुस्ताका कलाकारहरु यसमा आउनुपर्छ भन्ने हो । तर किन आउनु भएन भन्ने चाहिँ चिन्ताको विषय छ ।’ कलाको सिर्जना र गुनात्मक दुवै पक्षलाई जोड्न समन्वयको भुमिका निर्वाह गरिरहेको उहाँको भनाइ छ । घिसिङको कुरामा सहमत हुँदै व्यवसायी शाक्यले पौभा कलाकारहरुलाई कला सिर्जना गरेर जीवन निर्वाह गर्न सक्ने अवस्था रहेको सुनाउँदै व्यवसायी र कलाकारहरुको सम्बन्ध सुमधुर रहेको बताउनु भयो ।
परम्परागत कलाको विस्तारको लागि समय सापेक्ष चल्नुपर्ने प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताउनु भयो । उहाँका अनुसार परम्परागत कलाको जुन मौलिक दर्शन र विचारलाई परिस्कृत नगरिकन हामी समय अनुसार चल्न सक्छौं । आगामी दिनमा कला विकासका लागि प्रतिष्ठान सहकार्यको तयार भएको उहाँले सुनाउनु भयो । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञहरु, अग्रज कलाकार तथा पत्रकारहरु सहभागी हुनुहुन्थ्यो ।