नयाँ वर्ष २०८२ को पहिलो किरणसँगै शैलुङमा सामूहिक लघु रुद्री पूजाको आयोजना गरिएको छ । लघु रुद्री पूजामार्फत आध्यात्मिक स्पन्दनले शैलुङ पुनः एक पटक गुञ्जिनेछ । शैलुङ्गेश्वर महादेव मन्दिर र भीमसेन सिला तरवार परिसरमा आयोजना हुन लागेको यस धार्मिक कार्यक्रमले पचास हजारभन्दा बढी श्रद्धालु तथा धार्मिक पर्यटकलाई आकर्षित गर्ने आयोजकको विश्वास छ ।
यस ऐतिहासिक कार्यक्रमा १३ जना पण्डितले शैलुङ्गेश्वर महादेव मन्दिरमा र २३ जना पण्डितले भीमसेन सिला तरवारमा वैदिक विधिबाट सामूहिक लघु रुद्री पूजा सम्पन्न गर्नेछन् । कार्यक्रम संयोजक तथा गौरीशङ्कर च्छो–रोल्पा मिडिया प्रालिका अध्यक्ष प्रविण प्रसाद थपलियाका अनुसार नयाँ वर्ष बैशाख १ गते शैलुङमा ऐतिहासिक संयोगको अनुभूति दिलाउने विश्वास व्यक्त गर्नुभएको छ ।
तीन हजार एक सय ४८ मिटरको उचाइमा अवस्थित शैलुङको सय वटा थुम्कामा ऋषिमुनिहरूले तपस्या गरेको जनश्रुति रहेको छ । हरेक १२ वर्षमा गोदावरी फूल्ने, धर्म ढोकामा कर्मको मूल्याङ्कन हुने र शिवजीको प्रतिमूर्तिसँग मागिएको वर खेर नजाने धार्मिक विश्वासले यस क्षेत्रको आध्यात्मिक गहिराईलाई अझ गाढा बनाएको छ । भीमा एकादशीको दिन मात्रै होइन, हरेक धार्मिक चाडपर्वमा यहाँको भीमसेन सिला तरवारमा पूजाआजा हुने परम्परा छ । शैलुङ क्षेत्र केवल एक धार्मिक गन्तव्य मात्र नभएर भूगोल, वनस्पति, किंवदन्ती र भक्तिको अनुपम संगम बनेको छ ।
कार्यक्रम एसएस फाउन्डेसनका संरक्षक तथा समाजसेवी शोभित उप्रेतीको आर्थिक सहयोगमा सम्पन्न हुँदैछ । उहाँका अनुसार “शैलुङ केवल मन्दिरको थलो होइन, यो भूगोल नै धार्मिक ऊर्जा बोकेको छ । यो किम्बदन्ती, संस्कृति र प्राकृतिक स्रोतको संग्रहालय हो । यसलाई विश्वस्तरीय तीर्थ र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न अब ढिलो गर्नु हुँदैन ।”
उप्रेतीकै अगुवाइमा ५२ किलोको काँसको घण्टा भीमसेन सिला तरवारमा चढाइनेछ, जसले क्षेत्रको गरिमा थप उच्च बनाउनेछ । कार्यक्रम व्यवस्थापनमा जुटेको शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्थाले सुरक्षा र संरक्षणमा समेत कडाइका साथ चासो राखेको जनाएको छ । अध्यक्ष रुद्र थपलियाले भने, “हामी नयाँ वर्षमा हजारौं भक्तजनको आगमनमा सुरक्षा, शान्ति र व्यवस्थापन सुनिश्चित गर्न कुनै पनि अप्रिय घटना हुन नदिन पहिल्यै सजग रहन सबै भतmजन समाजेवी र स्वमसेवी लगायत स्थानीय प्रशासनसँग समन्वयमा छौं ।” नयाँ वर्ष २०८२ साल शैलुङको थुम्कामा उदाउने घामसँगै गुञ्जिने घण्टाघात, मन्त्रोच्चारण र श्रद्धाको लहर ले भक्तजनको मन मात्र होइन, नेपालकै धार्मिक पर्यटकीय नक्शामा एउटा चम्किलो चिनो छाड्ने अपेक्षा गरिएको छ ।